ट्रंक र डेडिकेटेड लाइन विवाद : रुपन्देहीका मात्र १८ उद्योगको लाइन काटियो, ११ उद्योगका साहु भन्छन्- ‘तिरिँदैन’
बुटवल : ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेवापतको विद्युत महशुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरण रुपन्देहीका १८ वटा उद्योगको लाइन काटेको छ। महसुल नतिरेको भन्दै प्राधिकरणले मुलुकभरका ३४ वटा उद्योगका लाइन काट्दा त्यसमध्ये १८ वटा उद्योग रुपन्देहीका मात्रै छन्।
प्राधिकरणले बुटवल भैरहवाको पञ्चकन्या करिडोरमा रहेका ११ उद्योगसहित १८ उद्योगको लाईन काटेपछि उद्योगीहरूले अहिले रकम नबुझाउने अडान राखेका छन्।
१८ वटा उद्योगमध्ये कतिपयले किस्ताबन्दीमा रकम बुझाएको भए पनि ११ उद्योगले भने माग र खपतको प्रमाण नदिएसम्म नबुझाउने अडान लिएका हुन्। प्राधिकरणले लाइन काटिदिएपछि अहिले उद्योग बन्द छन्।
प्राधिकरणका लुम्बिनी प्रदेश कार्यालय प्रमुख हरिप्रसाद पाण्डेले मुलुकभरी लाइन काटिएका ३४ वटा उद्योगमध्ये २३ वटा लुम्बिनी प्रदेशका रहेको बताए। उनका अनुसार विद्युत लाइन काटिनेमा रुपन्देही जिल्लाका १८ वटा छन्।
भुक्तानी गर्न बाँकी रहेको बक्यौता भुक्तानीका लागि सबै वितरण केन्द्रबाट पत्राचार भइरहेको र तोकिएको अन्तिम दिन बिहीबारसम्म पनि भुक्तानी नगरिएका ती उद्योगको विद्युत लाइन काटिएको उनले बताए।
दैनिक ५ करोड मूल्य बराबरको फलामे डण्डी उत्पादन गर्दै आएको रुपन्देहीको तिलोत्तमामा रहेको पञ्चकन्या स्टील प्रालि बिहीबार रातिदेखि बन्द छ।
पञ्चकन्या समूहद्वारा सञ्चालित योसँगै अर्को उद्योग पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिजको पनि उत्पादन ठप्प छ। यो उद्योगले दैनिक ७५ लाख मूल्यका प्लाष्टिकजन्य वस्तुको उत्पादन गर्दथ्यो।
उद्योग बन्द हुँदा यी दुई उद्योगबाट मात्रै भ्याट, भन्सार महशुल, अन्त:शुल्क, विद्युत महशुल गरी दैनिक करिब दुई करोड सरकारी राजस्व गुमिरहेको छ।
ट्रंकलाइन महसुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले गत बिहीबार राति लाइन काटिदिएपछि उद्योगको उत्पादन रोकिएसँगै सात सय कर्मचारी कामविहीन भएका छन्। महसुल तिर्न दबाब दिँदै आएको प्राधिकरणले भैरहवा-बुटवल औद्योगिक करिडोरमा रहेका उद्योगहरूलाई माग, खपत र ट्रंकलाइन जडानका लागि प्राधिकरणले दिएको स्वीकृत उपलब्ध नसकेको उद्योगीको भनाइ छ।
विना प्रमाण पटक-पटक लाइन काटिँदा आफूहरू अन्यायमा परेको उद्योगीको गुनासो छ। उनीहरूले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न र अन्य ठाउँका उद्योगसहर यो करिडोरका उद्योगलाई नहेर्न आग्रह गरेका छन्। एसआर फूड्स प्रालिका सञ्चालक सुरज उप्रेतीले महशुल तिर्नुपर्ने बिल प्राधिकरणले दिनुपर्ने बताए।
पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिज तथा पञ्चकन्या स्टिल इण्डष्ट्रिजका महाप्रबन्धक देवेन्द्र साहुले ११ उद्योगले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग नगरिएको हुँदा विद्युत महसुल नबुझाउने बताए। उनले विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले आन्तरिक भार मिलान गर्ने क्रममा बुटवल-भैरहवा करिडोरका उद्योगलाई माग नगरिकनै ट्रंकलाइनमा समावेश गरेको तर्क गर्दै महसुल तिर्न नसकिने बताए।
प्राधिकरण आफैँले २०७३ पछि कुनै पनि उद्योग वा संघसंस्थामा डेडिकेटेड र ट्रंकलाइन नदिने, यदि दिनै परे प्राधिकरणको सञ्चालक समितिबाट निर्णय गराउनु पर्ने नियम बनाएका थियो। तर, २०७८ मा आएर चार वर्षपछि २०७४ चैतदेखि २०७६ सम्ममा भैरहवा-बुटवल करिडोरका उद्योग ट्रंकलाइनमा परेको भन्दै माग र खपतको प्रमाणविनै महसुल तिर्न दबाब दिएको उद्याोगीको भनाइ छ।
यद्यपि, प्राधिकरण भैरहवा वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापन तथा फेज सिक्वेन्स सन्तुलित गर्न भन्दै केही दिनका लागि सटडाउन लिई भरौलियाबाट विद्युत आपूर्ति गरेको थियो। त्यसअघि रुपन्देहीको अमुवा फिडरबाट यस क्षेत्रमा ३३ केभीए प्रशारण लाइनबाट विद्युत आपूर्ति हुँदै आएको थियो।
विद्युत् प्राधिकरण, भैरहवा वितरण केन्द्र प्रमुख संजयकुमार मिश्राले उद्योगले महशुल नतिर्दासम्म लाइन नजोड्ने बताए। प्राधिकरणले उद्योगीलाई ट्रंकलाइन प्रयोग गरेको भनिएको अवधिमा सर्वसाधारणले दैनिक १८ घण्टासम्म लोडसेडिङको मार खेप्दै आएका थिए।
तत्कालीन समयमा चरम लोडसेडिङ भोगिरहेका बेला आफ्नो फिडर मिलाउँदा नियमित विद्युतलाई ट्रंकलाइन प्रयोग गरेको भन्दै प्राधिकरणले आफूहरूलाई मर्कामा पारेको उद्योगीको दाबी छ। प्राधिकरणले आफ्नो लेजरमा यी उद्योगको यति रकम तिर्न बाँकी छ भनेर लेखेको बाहेक भैरहवा-बुटवल औद्योगिक कोरिडोरका उद्योगहरूले विद्युत् प्रयोग गरेको कुनै प्रमाण दिन नसकेको उनीहरू बताउँछन्।
विद्युत लाइन काटिएका उद्योगहरूमा परासी वितरण केन्द्र अन्तर्गतका सर्वोत्तम सिमेन्ट, बुटवल सिमेन्ट र लक्ष्मी स्टिल छन्। बुटवल वितरण केन्द्र अन्तर्गतका २ वटा जिबी टेक्सटाइल उद्योग छन्। अमुवा वितरण केन्द्र अन्तर्गतका अर्घार्खाची सिमेन्ट लि. र विशाल सिमेन्ट छन्।
त्यस्तै भैरहवा वितरण केन्द्र अन्तर्गतका एभरेष्ट रोलिङ मिल, बिनायक स्पात प्रालि, जगदम्बा सिन्थेटिक्स, एसआर फुड्स, घराना फुड्स र सिद्धार्थ पेट प्लाष्ट उद्योग छन्। नयाँमिल वितरण केन्द्र अन्तर्गतका गोयनका फुड्स रुपन्देही, भलवारी स्वचालित चामल कारखाना, श्याम प्लाष्टिक उद्योग, पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिज, पञ्चकन्या स्टिल इण्डष्ट्रिज र शुभ लक्ष्मी पोलिमर्श उद्योग छन्। दाङमा सोना सिमेन्ट र घोराही सिमेन्टको लाइन काटिएको छ।
कात्तिक १६, २०८१ शुक्रबार १०:०५:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।