पूर्णबहादुरको सारङ्गी : अहो ! कति भावुक, कति मार्मिक
हलमा नेपाली फिल्म हेर्दा धेरै पटक म मौन भएको छु। मौन हुनुको कारण, ‘यति झुर फिल्म बनाएर पनि उत्कृष्ट भन्ने हिम्मत कसरी गर्छन्?’
बिहीबार रिलिज भएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ सकिँदा पनि म हलमा उसैगरी मौन भएँ। अंग्रेजीमा भन्छन् नि-स्पिचलेस। नेपालमा, आफ्नै मौलिक कथामा पनि यति बलियो फिल्म बन्न सम्भव रहेछ त!
भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकीले एक अन्तर्वार्तामा राम्रो फिल्मबारे आफ्नो अनुभव बाँड्दै भनेका थिए ‘जुन फिल्म हेरेर हल बाहिर आइसक्दा पनि त्यसको कथा वा पात्रले दिमागमा हानिराख्छ त्यही फिल्म राम्रो हो।’
यो रिभ्यू लेखिरहँदा पनि फिल्मको संवाद अनि त्यसका दृश्य दिमागमा फन्फनी घुमिरहेकै छन्। दृश्यले दिमागमा हानिरहेकै छन्। सिद्दिकीको माथिको भनाइ अनुसार हेर्ने हो भने यो फिल्म राम्रो श्रेणीमा पर्ने देखियो।
उकेरामा प्रकाशित हुने फिल्म समीक्षाका नियमित पाठकहरू यो समीक्षा पढ्दा ‘उकेरामा पनि फिल्मको सकारात्मक समीक्षा’ भनेर छक्क पर्न सक्छन्।
उकेरामा सकारात्मक समीक्षा प्रकाशितै नभएको पनि हैन, तर सकारात्मक समीक्षाको संख्या कम भने पक्का हो। जब कमजोर फिल्मको संख्या नै तीन तिहाई हुन्छन् भने रिभ्यु मात्र सकारात्मक कसरी सम्भव हुन्छ? उडन्ते फिल्मलाई कसरी उत्कृष्ट भनेर समीक्षा गर्ने?
‘नेपाली फिल्मलाई माया गर्नुपर्छ’ भनेर कमजोर फिल्मलाई पनि ‘वाह!’ भन्नु राम्रो फिल्म बनाउने निर्माण टिम अनि पाठकमाथिको घात हो। हामी पाठकलाई कसरी घात गर्न सक्छौँ?
नेपाली फिल्मको भविष्यको चिन्ता गर्दै ‘फिल्म कमजोर भए पनि प्रशंसा गरिदिएको भए चल्थ्यो कि’ भन्ने पाठकको गाली खान तयार, तर कमजोर फिल्मलाई बलियो भन्दै नेपाली फिल्म क्षेत्रलाई अघोगतिमा लैजान योगदान गर्न सकिन्न।
समीक्षाको सुत्रमा राखेर फिल्म हेर्दा जस्तो देखियो समीक्षा आउने त्यस्तै नै हो। ‘पूर्णबहादुरको सारंगी’को यो समीक्षाको हकमा पनि त्यही नै हो।
अब फिल्मतिरै केन्द्रित हौँ।
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा बुवा र सन्तानको सम्बन्धलाई निर्देशक सरोज पौडेलले २०३६ देखि २०६५ सालसम्मको फ्रेममा राखेर कथा भनेका छन्।
बाबुबाट पाएको सारङ्गीलाई नै पुर्खाको सम्पत्ति मान्ने र गन्धर्व कुलमा जन्मिएपछि सारङ्गी रेट्दै गीत गाएर अरुले जे दिन्छन् त्यसकै भरमा गुजारा गर्नु नै मुल धर्म रहेको सोच भएका पूर्णबहादुर मार्फत निर्देशकले नेपाली समाजमा दबिएका पात्र र उनीहरुले पाउने हण्डर देखाउने प्रयास गरेका छन्।
पुस्ताको सीप अनुसारको कर्मसँगै जोडिएको आर्थिक दुरावस्था र त्यसले ल्याउने पारिवारिक विचलनलाई पनि फिल्ममा जोडेका छन् निर्देशकले।
बाबुबाट सम्पत्तिको नाममा पाएको सारङ्गी रेटेर जीविकोपार्जन गर्ने पूर्णबहादुर प्रारम्भमा छोरालाई पनि पुर्खाकै सीप सिकाउने पक्षमा हुन्छन्। तर, जब उनले सामाजिक सम्मानसँग शिक्षा जोडिन्छ भन्ने बुझ्छन् अनि छोरालाई गाइने हैन डाक्टर बनाउन चाहन्छन्।
उता गाइने भन्दै बालकदेखि प्रौढसम्मबाट बाले पाइरहेको हेपाइ देखेको नाबालक छोरा कमल बाको भागमा सम्मान ल्याउन चाहन्छ। मेरा बालाई किन सबैले हेप्छन्? बाल मष्तिष्कमा यो प्रश्न नमज्जाले गढिसकेको हुन्छ। उनी आफ्नो बालाई पनि अरुले नमस्कार गरेको हेर्न चाहन्छन्।
यी दुई पात्रमध्ये कसको चाहना सफल हुन्छ? फिल्मको मूल कथा यही नै हो।
फिल्ममा पट्ठो पूर्णबहादुरको प्रेमको कथा छ, समाजका शोषक पनि छन् अनि राजनीति पनि घुसाएका छन् निर्देशकले फिल्ममा। तीन साथीको मित्रता, प्रेमले अभावलाई जित्छ कि प्रेम हार्छ? प्रश्न टन्न छन्।
सहायक कथाहरू पनि छन् फिल्ममा। तर, सहायक कथाले बाबु-छोराको सम्बन्धको मुल कथालाई बरालेको छैन। बरु थप बलियो बनाएको छ।
फिल्मको मुल पात्र पूर्णबहादुर अनि उसको सारङ्गी भए पनि फिल्म पूरै गन्धर्व समुदायको सुख-दु:खमा मात्र केन्द्रित पनि छैन। गन्धर्व समुदायको पृष्ठभूमि र पात्र मार्फत समग्र हेपिएका र दबाइएका वर्गको कथाको प्रतिनिधित्व गर्ने प्रयास गरेको छ फिल्मले।
२०३६ मा सुधारिएको पञ्चायतबारे लिइएको जनमत संग्रह। २०४६ मा लोकतान्त्रिक आन्दोलन, २०४६ देखि २०६५ सम्म सर्वहारा वर्गको मुक्तिका लागि जङ्गगल छिरेर सशस्त्र विद्रोह भएको माओवादीकाल।
फिल्मको कथाको टाइमफ्रेमलाई निर्देशकले यही तीन तहमा विभाजन गरेका छन्। फिल्ममा उनले राजनीतिक विषय मज्जाले छोएका छन् तर पूर्णबहादुरको जीवनको लयसँग मिलाएर।
मुल कथाको लयमा राजनीति हावी गराएर गडबड हुन दिएका छैनन्। पटकथा कसिलो छ फिल्मको। देशमा जे-जे परिवर्तन हुन्छन्, नागरिकको जीवनमा त्यसले के प्रभाव पार्छ? उनले बदलिएको शासन प्रणालीसँग पूर्णबहादुरको जीवन दाँजेर यसको उत्तर खोज्ने प्रयास गरेका छन्।
फिल्मले राजनीतिक विषय छोए पनि त्यहाँ कुनै नेताको पट्ट्यारलाग्दो भाषण छैन। कतै आमसभाको दृश्य छैन। राजनीतिक विषयका दृश्य नराखी पनि राजनीति बुझाउन सकिने रैछ! निर्देशकको यो चलाखी लोभलाग्दो छ फिल्ममा।
एक बाबुले गरेको संघर्षलाई निर्देशक पौडेलले पञ्चायत फ्याक्नेदेखि देश बदल्न बन्दुक बोकेर जंगल पस्नेहरूसम्मले ल्याएको परिवर्तनसँग एक मध्यम वर्गको गाइनेको जीवन जोडेर राजनीतिक परिवर्तन हुँदैमा नागरिकको जीवनशैली र आर्थिक अवस्था बदलिँदैन भन्ने सन्देश दिएका छन् निर्देशकले।
यति पढ्दा लौ यो फिल्म त राजनीतिक विषयमा बनेको पो रैछ भन्ने लाग्न नि सक्ला। तर, पूर्णबहादुरको सारङ्गीलाई यसरी बुझियो भने यो निर्देशकमाथि अन्याय हुन्छ। फिल्म बनेको बाउ-छोराको मिठो सम्बन्धमाथि नै हो।
अब पात्रको कुरा। फिल्मको मुख्य केन्द्रमा छन् पूर्णबहादुर (विजय बराल)। उनका दुई साथी छन् बिरे (मुकुन भुसाल) अनि माइला ( बुद्धि तामाङ)। मास्टर (भोलाराज सापकोटा), बाटुली (अन्जना बराइली), कमल (प्रकाश सपुत)सँगै माओत्से गुरुङ, देशभक्त खनाल, शंकर आचार्य, सुभास गजुरेल, विनोद न्यौपाने लगायतका कलाकार छन् फिल्ममा।
सहायक पात्रकै भूमिकामा अभिनय गर्दा समेत सिंगै फिल्म बोक्नसक्ने क्षमता देखाएका बरालको केन्द्रीय पात्रको अभिनय बलियो छ यसमा। फिल्मको सबैभन्दा बलियो पक्ष नै बरालको अभिनय हो।
युवाकालको पट्ठो, जिम्मेवारी बढ्दै गएको परिपक्व पात्र अनि वृद्धकालमा हन्डर र ठक्कर पाइरहेको, यी तीनै स्वरूपमा विजय उत्तिकै शसक्त्त अभिनय गर्न सफल देखिएका छन्।
विजयको साथी गन्धर्व बनेका मुकुन अनि भारी बोकेर गुजारा चलाउने ढाक्रे बनेका बुद्धि तामाङको अभिनय पनि पात्र अनुसार बगेको छ। कतै-कतै मुकुनको अभिनयको लय बाहिर गएको हो कि जस्तो देखिए पनि उनी सम्हालिन्छन्। बाल कलाकारको अभिनय पनि कतै-कतै कमजोर देखिएको छ। तर, समग्रमा उनको अभिनय फिल्मलाई कमजोर बनाउने तहसम्मको छैन।
पर्दामा सधैँ ‘हैट!’ भन्दै कमिक पात्रमा देखिने बुद्धिको चरित्र अनि उनको अभिनय यो फिल्मको सरप्राइज हो। फिल्ममा धेरै देखिँदैनन् उनी। तर जति सिनमा देखिन्छन् सम्झनायोग्य अभिनय गरेका छन्।
हैट क्यारेक्ट उनको रहर हैन बाध्यता हो, निर्देशकले फरक चरित्र दिए अभिनय गर्न सक्षम छन् उनी भन्ने देखाउँछ यो फिल्मले।
मास्टर बनेका भोलाराज, किराना पसले साहु माओत्से, देशभक्त खनाल, शंकर आचार्य जति पर्दामा देखिएका कलाकार छन् उनीहरूले चरित्रलाई न्याय दिने प्रयास गरेका छन्।
बाटुलीको पात्रमा रहेकी अन्जना बराइलीको फरक चरित्र देखिन्छ यसमा। उनको अभिनयमा निखारता आइरहेको यो फिल्मले देखाउँछ।
आरनमा श्रम गरेर खाने विश्वकर्मा परिवारबाट गीत गाउँदै अर्काले गरेको सहयोगको भरमा गुजारा चलाउने गन्धर्व परिवारको सदस्य बन्दा उनको सोचमा आएको परिवर्तन चरित्रमा देखिन्छ।
श्रीमान्को आर्थिक अवस्था र त्यसले निम्त्याएको अपमान देखेपछि उनी आफ्नो छोरालाई गाइने बनाउन चाहन्नन्। जति भन्दा पनि पुर्ख्यौली पेशा नछाड्ने श्रीमान् अनि छोराको भविष्यप्रतिको चिन्ताले उनी ट्रयापमा पर्छिन् जसले पूर्णबहादुरको जीवनको लय नै भाताभुङ्ग बनाउँछ।
कमल बनेका प्रकाश सपुतले फिल्ममा जति स्पेश पाएका छन् अभिनयमा न्याय गरेका छन्।
कथा बलियो भए पटकथा कमजोर, कथा अनि पटकथा बलियो भए संवाद कमजोर। यी सबै बलियो भए पनि कलाकारको अभिनय नै कमजोर। यस्तै समस्याको मारमा पर्दा अधिकांश फिल्म प्रशंसायोग्य बन्न नसकेका हुन्। तर, पूर्णबहादुरको सारङ्गीमा भने यी सबै पक्ष बलियो छ। न कथामा समस्या देखिन्छ न पटकथामा नै।
कमल बनेका प्रकाश सपुतले ‘बा’ भनेर बोलाउँदा पूर्णे बनेका बिजय बरालले ‘है’ भन्दै दिने जवाफ फिल्मको ट्रेलरमा जति सामान्य सुनिन्छ फिल्ममा त्यो निकै बलियो र अर्थपूर्ण रूपमा आउँछ। दर्शकलाई आँशु रोक्न गाह्रै पर्छ। मन भक्कानिन्छ।
फिल्मको सिनेमाटोग्राफी सुन्दर छ। २०३६, २०४६ अनि २०६५ सालको समयको समाज र आएको परिवर्तन दृश्य भाषाले सहजै बुझाएको छ।
गाउँका सदस्यले दमाइकोमा नापका लागि लगेको विद्यालयको जडौरी ड्रेस लगाउँदा पनि फुकाल्न बाध्य भएको छोरालाई आफ्नो भ्याङ्ले इस्टकोट लगाइदिएर तान्दै घर लग्दा विद्यालयको सर्ट पाइन्टसहितको ड्रेस लगाइदिएर बारीमा राखिएको बुख्याचाको दृश्य निकै मार्मिक देखिएको छ। फिल्ममा मन हल्लाउने यस्ता धेरै दृश्य छन्।
कतै-कतै ब्याकग्राउन्ड म्युजिकले दर्शकको ध्यान भड्काउँछ। तर, अधिकांश स्थानमा प्रयोग भएको ब्याकग्राउन्ड म्युजिक दृश्य कथाको सिक्वेन्स अनुसार सुहाउँदो छ। सारंगीको धुन निकै मीठो सुनिएको छ।
अधिकांश नेपाली फिल्ममा गीत र कथाको सम्बन्ध निकै कमजोर हुने गरेको छ। जबरजस्ती गीत राख्न कहिले सपनाको सहारा लिन्छन् त कहिले कल्पनाको। यसमा आठ वटा त गीत छन्। तर कुनै पनि गीतले मुल कथालाई खल्बल्याउँदैन। गीत कथासँगै बगेको छ मजाले।
केही दृश्यमा चिप्लिएको आभाष भए पनि भेषभुषा र सेट निर्माणमा राम्रै मिहिनेत गरेको देखिन्छ। सम्पादनमा खोट लगाउने ठाउँ कमै भेटिन्छ।
३० वर्षको अवधिको फ्रेमभित्रको कथा भन्न देखाइने समाज, पैसा, गाडीको नम्बर, लगायत स-साना दृश्यमा समेत निर्देशक सचेत देखिएका छन्। गाइने गीत गाउन जाने घरहरू बदलिएका छन्। तर, उसको न घर बदलिएको छ न जीवनका दु:ख। यति गम्भीर र भावुक कथासँगै दर्शकलाई सँगै लिएर हिँडाउन सक्नु निर्देशकको सबैभन्दा बलियो पक्ष हो।
फ्ल्यासब्याकमा जाँदा लगाइराखेको चस्मा फुकालेर पात्र टोलाउने ट्रेडिसनल फ्रेम एक ठाउँमा प्रयोग भएको छ। पहिलो हाफको अधिकांश भाग पात्रलाई कथामा स्थापित गराउनमा केन्द्रीत भएको छ। फिल्मको दोस्रो हाफ भने निकै भावुक छ। तर, भावुकताको ओभरडोज भने छैन।
मुखमा समाजवाद र क्रान्ति तर व्यवहारमा सामन्ती चरित्र भएका राजनीतिक पात्रलाई मास्टर बनेका भोलाराजमार्फत मजाले प्रस्तुत गरेका छन् निर्देशकले।
राजनीतिक रूपमा क्रान्तिको योजना बनाउँदै हिँड्ने तर व्यवहारमा जातपात र सामन्त शैलीको पात्र हुन् भोलाराज, जो गाइनेको छोराले विद्यालयको ड्रेसको जडौरी लगाएको पनि सहन सक्दैनन्। समस्यामा परेकालाई आर्थिक सहयोगको बहानामा सम्पत्ति हडप्छन्। तर, उनी नै परिवर्तनको गफ दिन्छन्। फिल्ममा यस्तै राजनीतिक सन्देश छ तर कुनै दल वा वादको पक्षमा वकालत गरेका छैनन् निर्देशकले।
फिल्ममा सबैभन्दा कमजोर पक्ष प्रकाश सपुतको प्रवेश हुने टाइमिङ नै हो। उनको अभिनयमा खोट लगाउने ठाउँ भने छैन। तर, निर्देशकले उनलाई कथाको जुन विन्दुमा फिल्ममा प्रवेश गराएका छन् त्यो पात्रको चरित्र चित्रणमा उमेर अनुसार देखिएन।
सपुत फिल्ममा प्रवेश गर्दाको कथाको पात्रको उमेर किशोरकाल हो। तर, सपुत पर्दामा देखिँदा निकै उमेरदार देखिएका छन्। भर्खर एसएसली पास गरेको पात्र त्यति छिप्पिएको?
निर्देशकले प्रकाशको प्रवेशलाई कमसेकम दुई फ्रेम पछि धकेल्न सकेको भए पर्दामा देखिएको प्रकाश सपुतको उमेर र फिल्मको पात्रको उमेर म्याच हुनसक्थ्यो।
एक पात्रको आवाज हराउने दृश्य छ फिल्ममा। दर्शक त्यो दृश्यमा भावुक हुन्छन् तर मुख ठोक्किँदा उसको कसरी आवाज हरायो? यसमा निर्देशक अलमलमा परेको प्रस्ट देखिन्छ।
फिल्ममा बाटुली पात्रलाई एक विन्दुमा ल्याएर अलपत्र छाडेका छन् निर्देशकले। अनि अन्त्यमा छुस्स छुवाएका छन्। कतै यो निर्माण टिमको सिक्वेलको चलाखी त हैन? संकेत त्यही देखिन्छ।
तर, बा मात्र पूर्णबहादुरको सारङ्गी हेर्न गए छोरा सम्झिएर सुक्सुकाउने छन्। छोरा एक्लै गए बा सम्झिएर सुक्सुकाउने छन्। त्यसैले उपाय स-परिवार सँगै हलमा फिल्म हेर्न जाने अनि सँगै आँशु पुच्छ्दै हलबाट बाहिरिने।
भारतीय फिल्म ‘टुवेल्थ फेल’ हलमा रिलिज हुँदा धेरै दर्शकले इग्नोर गरे। नेपालमा त कहिले लाग्यो, कहिले उत्रियो पत्तै भएन। जब यो फिल्म ओटीटीमा रिलिज भयो, निकै प्रशंसा पायो नेपालमा पनि।
फिल्मको सबैभन्दा बलियो पक्ष नै आर्थिक रूपमा कमजोर एक युवकले आइपीएस अफिसर्स हुन गरेको संघर्ष र नतिजा नै हो । युवकको संघर्ष देखेर धेरै दर्शकको मोबाइल स्क्रिनमा आँशु खस्यो होला।
‘टुवेल्थ फेल’ र ‘पूर्णबहादुरको सारङ्गी’को कुनै सम्बन्ध देखिँदैन। तर, ‘टुवेल्थ फेल’को एक सुत्र भावुकता यसमा पनि छ। त्यसैले ‘टुवेल्थ फेल’ मन पराएका दर्शकका लागि ‘पूर्णबहादुरको सारङ्गी’ पक्का मन पर्छ। अब कथासथा के मतलब, एक्सन अनि कमेडी भए पुग्छ भन्ने दर्शकका लागि भने यो फिल्म फिट नहुन सक्छ।
कात्तिक १५, २०८१ शुक्रबार ०९:३५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।