६ ओभरको खेलमा इंग्ल्यान्डविरुद्ध नेपालको शानदार जित
काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डमाथि ६ विकेटको शानदार जित हात पारेको छ।
इंग्ल्यान्डले दिएको ९७ रनको लक्ष्य नेपाली टोलीले ४.२ ओभरमै विना विकेटको क्षतिमा पूरा गरेको हो। इंग्ल्यान्ड हङकङ सिक्सेसको तीन पटकको विजेता हो।
नेपालका लागि कप्तान सन्दीप जोरा १२ बलमा ५० रन बनाएर रिटायर्ड हर्ट भए। प्रतियोगितामा कुनै पनि खेलाडीले ५० रन बनाएपछि ब्याटिङ गर्न नपाउने नियम छ।
लोकेश बमले ११ बलमा २० र रासिद खानले ४ बलमा १५ रनको पारी खेले। इंग्ल्यान्डका कुनै पनि खेलाडीले विकेट लिन सकेनन्।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको इंग्ल्यान्डले निर्धारित छ ओभरमा सबै विकेट गुमाएर ९७ रन बनायो।
उसका लागि कप्तान रवि भोपाराले १२ बलमा ४९ र समित पटेलले १७ बलमा ३९ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका प्रतिश जिसी र विवेक यादवले समान दुई–दुई विकेट लिए।
सात खेलाडीले खेल्ने हङकङ सिक्सेसमा भोलि नेपालले अष्ट्रेलियासँग खेल्दैछ। खेल नेपाली समयअनुसार विहान सवा छ बजे हुनेछ।
कात्तिक १६, २०८१ शुक्रबार ०८:२६:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।