एमालेले व्यवसायीबाट जग्गा दान लिएर कार्यालय बनाउन लागेको विषय नउचाल्न प्रधानमन्त्रीको आग्रह

एमालेले व्यवसायीबाट जग्गा दान लिएर कार्यालय बनाउन लागेको विषय नउचाल्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताएका छन्। 

नेपाल प्रज्ञा-प्रतिष्ठानमा आज आयोजित ‘सिस्नोपानी देउसी कार्यक्रम-२०८१’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार देशको विकास र आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको बताए।  

'देशमा विकास भएको छ, राम्रा काम भएका छन्, प्रधानमन्त्री ओलीले भने, 'देश बनाउने काम एकछिनमा हुने कुरो होइन। देश क्रमशः विकासको गतिमा अघि बढेको छ तर, विरोधीले विकास केही भएको छैन भनेर आलोचना मात्रै गरिरहेका छन्।'

प्रधानमन्त्री ओलीले कसैप्रति कुरा राख्दा सत्यतामा आधारित सभ्य तथा मर्यादित भाषामा राखेको खण्डमा नेपालीको सभ्यता र संस्कृति झल्कने बताए। 

'निराश भइहाल्नुपर्ने अवस्था छैन। गालीगलौजको असभ्य प्रस्तुति हैन, सभ्य ढङ्गले जानुपर्छ। गल्ती गर्नेलाई गुनासो गर्न पाइन्छ, तर, मेरो आग्रह के मात्रै हो भने एउटा शिष्ट, सभ्य र मर्यादित भाषामा बोल्ने गरौँ, जुन हामी नेपालीको सभ्यता र संस्कृति हो, उनले भने। 

सरकारले देशको राष्ट्रियतालाई डगमगाउन नदिने प्रधानमन्त्री ओलीको भनाइ थियो। 

'सरकारले यो देशको राष्ट्रियता डगमगाउन दिँदैन, राष्ट्रिय स्वाभिमानलाई कायम राख्दै जनअपेक्षाअनुरुप कामलाई तीव्रताका साथ अगाडि बढाउँछ, उनले भने। 

पार्टीको केन्द्रीय कार्यालय निर्माणमा व्यवसायी मीनबहादुर गुरुङको सहयोगको सन्दर्भमा प्रधानमन्त्री ओलीले सहयोग गरेको विषयलाई अनावश्यक नउचाल्न पनि आग्रह गरे। । 

तिहारका अवसरमा विगतका वर्षमा जस्तै सिस्नोपानी नेपालले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको देउसी कार्यक्रममा प्रधानमन्त्री ओलीसहित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतको उपस्थिति थियो। 

कात्तिक १५, २०८१ बिहीबार २१:५४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।