नेवार समुदायको अगाडि उभिएर प्रचण्डले भने 'नेपाल संवतलाई राष्ट्रिय मान्यता दिने निर्णय गरेको मैले नै हो'

नेवार समुदायको अगाडि उभिएर प्रचण्डले भने 'नेपाल संवतलाई राष्ट्रिय मान्यता दिने निर्णय गरेको मैले नै हो'

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले नेपालको राष्ट्रिय भावना, स्वाभीमान, स्वाधीनता, आत्मसम्मान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने भएकाले यसलाई राष्ट्रिय मान्यता प्रदान गरिएको बताएका छन्।

माओवादी केन्द्र मध्यपुर थिमी नगर समिति भक्तपुरले नयाँ वर्ष नेपाल संवत् ११४५ को अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल संवत् नेवारी समुदायको भावनासँग जोडिएको भए पनि यो नेपाल राष्ट्रकै मौलिक संस्कृतिको महत्वपूर्ण हिस्सा भएको बताए।

प्रचण्डले भने, ‘२०६५ मा पहिलोपटक प्रधानमन्त्री भएको बेलामा मैले नेपाल संवतलाई राष्ट्रिय मान्यता प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराएको थिएँ, त्यसका लागि मलाई अहिले पनि गर्व लागिरहेको छ।’

नेपाल संवतले राष्ट्रिय मान्यता पाएको लामो समयसम्म पनि यसको कार्यान्वयनमा अलमल भएको देखेर गत वर्ष आफू तेस्रोपटक प्रधानमन्त्री भएको बेला विक्रम संवत् प्रयोग हुने सबै सरकारी कागजातमा नेपाल संवत् प्रयोग गर्ने निर्णय मन्त्रिपरिषदबाटै गराएको उनले स्मरण गराए। 

उनले भने, ‘त्यति मात्र होइन, हाम्रो पार्टीले बागमती प्रदेश सरकारको नेतृत्व गरेको बेलामा यो प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरिएको छ, यो पनि महत्वपूर्ण उपलब्धि हो।’

शंखधर साख्वाले गरीब जनताको ऋण मोचन गर्ने काम गरेर पवित्र कार्य गरेपछि उनकै सम्मानमा नेपाल संवत् सुरु गरिएको प्रसंग उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘२०६५ को एउटै मन्त्रिपरिषद बैठकबाट हामीले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिने निर्णय मात्रै गरेनौं, शंखधर साख्वाले जस्तै हामीले पनि करिब किसानहरुको निश्चित रकम ऋण मिनाहाको निर्णय पनि गर्यौं।’

आफू पहिलोपटक प्रधानमन्त्री भएको बेला गरिब किसानको ऋण मिनाहा, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्गलगायतका ठूला पूर्वाधारको सुरुवात गरेको स्मरण गर्दै उनले दोस्रोपटक प्रधानमन्त्री हुँदा लोडसेडिङ अन्त्य गरेर उज्यालो नेपालको निर्माणहुँदै तेस्रोपटक प्रधानमन्त्री भएको बेलामा नेपाली इतिहासमै पहिलोपटक सरकारको अगुवाईमा भ्रष्टाचारविरुद्धको अभियान सुरु गरिएको बताए।  

कात्तिक १५, २०८१ बिहीबार २१:१९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।