सबै वामपन्थीहरूलाई एमालेमा ल्याउन नसके मिसन ०८४ हावा खान्छ : सञ्चारमन्त्री गुरुङ
काठमाडौं : एमालेका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीभित्र गुटबन्दीका कुराहरू उठ्न थालेको बताएका छन्।
एमाले बागमती प्रदेश सम्पर्क कमिटीद्वारा दीपावली २०८१ को अवसरमा आयोजित देउसी भैलो सांस्कृतिक कार्यक्रममा बोल्दै उनले पार्टीभित्र गुटबन्दीका कुराहरू उठ्दै जाँदा पार्टी कमजोर हुँदै जाने बताए।
उनले भने, ‘पार्टीभित्र गुटबन्दीका कुराहरू उठ्न थालेका छन्। गुटबन्दीका कुराहरुलाई रोक्नुपर्छ र परास्त गरे मात्र पार्टी बलियो हुन सक्छ। हाम्रो पार्टीभित्र अहिले चाँही गुटबन्दीका कुराहरू जुन उठिरहेका छन् त्यो हटाउनुपर्छ। समयमै ख्याल नगरे हाम्रो पार्टी त्याँ पनि बिग्रिन्छ, यता पनि बिग्रिन्छ र पार्टी नै कमजोर भयो भने केही गर्न सकिँदैन।’
उनले अहिलेको पाराले मिसन ०८४ ले हावा खाने टिप्पणी गरे।
उनले भने, ‘अहिले हामीले मिसन ०८४ भनेका छौं। यस्तो पाराले मिसन ०८४ ले हावा खान्छ। त्यो पुरा गर्ने हो भने सबै वामपन्थीहरुलाई एमालेमा ल्याउनुपर्छ। त्यो आयो भने मेरो ठाउँमा त्यो उम्मेदवार हुन्छ भन्ने सोचले अगाडि बढ्न सक्दैन। अरू पार्टीका राम्रा नेताहरूलाई ल्याउन पहल गर्नुपर्छ।’
उनले आत्मसमिक्षा गरेर पार्टीभित्रको समस्या समाधान गरेर समयमै अगाडि बढ्नुपर्ने बताए।
कात्तिक १५, २०८१ बिहीबार १६:५७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।