उद्धार केन्द्रमा भेटिएका खैरे र कालीहरू ( फोटो कथा)
काठमाडौँ : आज घरका कुकुरका मानै बेग्लै। सन्तान झैँ माया गरेर फूलमालासहित सिँगारिन पाउँदा उनीहरू फुरुङ भएका उनीहरूको तस्विरले सामाजिक सञ्जाल छपक्कै छोपिएको छ। कुकुर र मानिसको सम्बन्ध पनि उस्तै हार्दिकतापूर्ण छ नै।
तर सबैका भागमा कहाँ यस्तो माया हुन्छ र! सुरक्षा गर्न सक्ने, हेर्दा आकर्षक अनि शरीर रोगहीन हुँदासम्म बेडरुममै पालिने अनि जब जब उमेरले गल्दै लैजान्छ, रोगले च्याप्छ वा उपयोग सकिन्छ अनि सडकमा फालिने कुकुरको सङ्ख्या पनि कम छैन। यो यस्तै कुकुरको कथा हो।
रोग, भोक अनि मायाको शोकसँगै कुनै हानी नगरे पनि भ्वाक्क लात्ताले हान्दै हिँड्ने अल्लारे निर्दयीहरूबाट कुटिइरहने उनीहरू भेटिए पशुपन्छीप्रति निर्दयता रोकावट समाज नेपालको सेल्टरमा।
टोखामा रहेको यो रेस्क्यू सेन्टरमा करिब १ सय २० वटा घाइते अनि बिरामी कुकुरहरू छन्। म त्यहाँ पुग्दा अधिकांश थुनिएका थिए। कारण उनीहरू बिरामी थिए। जो बाहिर हिँडडुल गर्न सक्ने अवस्थाका थिए उनीहरू कुकुर प्रेमीहरूबाट घेरिएका थिए।
कुकुर तिहारमा कुकुर प्रेमीहरू विभिन्न कारणले परित्यक्त भएका उनीहरूलाई भेट्न आएका थिए। उनीहरूले माला लगाइदिए, मीठो खान पनि दिए। तर खुसीमा पुन्टुङ-पुन्टुङ हल्लिने उनीहरूको पुच्छर हल्लिएको थिएन। झिँजो मानेझैँ देखिएका थिए।
आफ्नो अभिभावक बिरामी भए अस्पताल लैजाँदा सँगै गएको कुकुर अभिभावकको मृत्यु भए पनि त्यही अस्पतालको गेटमा वर्षौँदेखि उनैलाई कुरेर बस्ने कुनै काल्पनिक कथा हैन, सत्य हो। विदेशमा मात्रै हैन, ललितपुरको अल्का अस्पताल जानुस् त्यस्तै एक कुकुर भेटिन्छ। उनीहरूको स्वभावै आफूलाई हुर्काउने अभिभावक खोजी रहने हुन्छ।
रेस्क्यु सेन्टरमा भेटिएका कुकुरहरू नयाँ आउनेहरूको यसो अनुहारतिर हेर्थे। उनीहरूको हेराइले नै उनीहरू आफ्नो अभिभावक खोजिरहे झैँ देखिन्थे।
तर अभिभावक थिएनन्। बाध्यताले हो या उपादेयता सकिएर उनीहरू घरबाट सडकमा आइपुगे उनीहरू नै जानून्। तर उनीहरूको आँखाले भने पीडा बोलिरहेको थियो। परित्यक्त अनि अभिभावकहिन हुनुको पिडा।
कात्तिक १५, २०८१ बिहीबार १६:४७:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।