गोठालाको प्रिय साथी

गोठालाको प्रिय साथी

म्याग्दी : रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन्। भोटे उनको सुखदुखको साथी त हो नै, उनीसँगै रहेका भेडाबाख्राको चौकीदार पनि।

म्याग्दी र मुस्ताङको लेकाली बुकीमा घुम्ती गोठमा भेडापालन गर्दै आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीको भेडाबाख्राको सुरक्षा कुकुरले गरेका छन् ।

 ५४ वर्षदेखि भेडापालन गर्दै आउनुभएका ६८ वर्षीय भण्डारीले भेडाबाख्रा र आफ्नो सुरक्षाका लागि  सातवटा ‘भोटे कुकुर’ पालेको बताए। घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने किसानका उदाहरण हुन् ढोरपाटनका रनबहादुर र भगवतीका नन्दबहादुर।    
    
 कुकुर नभएका भेडाबाख्रा, च्याङ्ग्रा, चौरी, गाई भैँसीको गोठ नै हुँदैनन्। महिनौँसम्म एक्लै जङ्गलमा बस्ने गोठालाको साथी बनेका कुकुरले चितुवा, ब्याँसो, भालु, स्याललगायत जङ्गली जनावरको आक्रमणबाट बचाएर भेडाबाख्राको सुरक्षा गर्छन्।

राति, साँझ र बिहान गोठको वरपर रुँगेर पहरा दिने कुकुरले जङ्गली जनावर र चोर आएको थाहा पाएपछि चर्को स्वरमा भुकेर सङ्केत गर्ने, लखेट्ने तथा भिडेर किसानलाई सहयोग गर्ने अन्नपूर्ण गाउँपालिका–१ दोवाका नेत्रप्रसाद राम्जालीले बताए।

 ‘कुकुरबिनाको गोठालाको कल्पना नै गर्न सकिँदैन,” ३२ वर्षदेखि गोठाला गर्दै आएका ७२ वर्षीय रनबहादुरले भने, ‘पशुहरू जङ्गलमा चराउन लैजाँदा उनीहरूको पछिपछि डुल्ने कुकुरले अप्ठ्यारो भिरमा जान दिँदैनन्। साँझ पर्न लाग्यो भने खेदेर गोठमा फर्काउँछ। चितुवा, ब्वाँसो, स्याल देखेपछि भुकेर सूचना दिन्छन्। आक्रमण गर्न आउन जङ्गली जनावरलाई भगाउँछन्।’    
    
 कुकुरको सहयोगविना गोठाला एक्लैले सयौँको सङ्ख्यामा रहेका गाई, भैँसी, भेडाबाख्रा, च्याङ्ग्राको रेखदेख गर्न नसक्ने भएकाले कुकुरलाई गोठालाको बफादार सहयोगी मान्ने गरिएको रनबहादुरले बताए। म्याग्दी, मुस्ताङ र ढोरपाटनका गोठालाहरूले तीस किलोग्रामभन्दा बढी तौल हुने, अग्ला र ठुला शरीर भएका देख्दै डरलाग्दा कम्तीमा दुई वटा भोटे कुकुर पालेका हुन्छन्।

यस्ता कुकुरको छाउरालाई नै प्रतिगोटा रु १० हजारभन्दा बढी मूल्य पर्छ। आफ्ना मालिकलाई माया गर्ने, जङ्गली जनावरको चाल छिटो सुन्ने र सुँघेर पत्ता लगाउने विशेषता भएका कुकुरले गोठालाको दैनिकीलाई सजिलो र सुरक्षित बनाएको कृषक राम्जालीले बताए।

कात्तिक १५, २०८१ बिहीबार १३:४५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।