हलको विकल्पमा ओटीटीको हल्ला : ‘पाए अन्त, नत्र लखन्तरेको जन्त’

हलको विकल्पमा ओटीटीको हल्ला : ‘पाए अन्त, नत्र लखन्तरेको जन्त’

काठमाडौँ : कोभिडपछि संसारभर ‘ओभर द टप’ ओटीटी प्लेटफर्मको लहर नै चल्यो। घरबाट बाहिर निस्कन नपाइरहेको अवस्थामा मनोरञ्जनको सारथी बनेको ओटीटी प्लेटफर्मले राम्रो कमाइ पनि गरे।

नेपालसहित तेस्रो विश्वका मुलुकहरूमा पनि नाम चलेका विदेशी ओटिटी प्लेटफर्मका प्रयोगकर्ता बढेका थिए त्यो समय। नेटफ्लिक्स, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनीलिभ, प्राइम अमेजन लगायत दर्जनौं ओटीटी प्लेटफर्मले नेपालबाट लाखौं डलर लिएर गए त्यो बेला।

कोभिडका कारण हलमा फिल्म चलाउन नपाउने अवस्था भएपछि केहीले जोखिमै मोलेर ओटीटीमा फिल्म रिलिज गरे। त्यसैबेला देखि हो नेपालमा पनि धमाधम ओटीटी प्लेटफर्म खुल्न थालेको। त्यतिबेला आइफ्लिक्स, सिनेमाघर, भिडियो पसल, नेट टीभी, चलचित्र टीभी, कान्तिपुर सिनेमाज् लगायतका ओटीटी प्लेटफर्मलाई हलको वैकल्पिकका रूपमा विस्तार भए।

तर, निश्चित रकम तिरेपछि प्लेटफर्ममा भएका हजारौं कन्टेन्टको बानी लगाइसकेको विदेशी ओटीटीका कारण दर्शकले एउटै फिल्मको लागि दुई देखि तीन सय रूपैयाँ खर्च गर्न तयार नहुँदा यीमध्ये आइफ्लिक्स, चलचित्र टीभी लगायत अधिकांश ओटीटी बन्द भइसकेका छन्। अहिले ‘सिनेमा घर’, ‘कान्तिपुर सिनेमाज्’ लगायतका केही ओटीटी चलिरहेका छन्, त्यो पनि धरमराउँदै।

नेपालमा हलको ज्यादती बढेको र आफ्नो फिल्मलाई कम शो दिएको र दिए पनि अपायक समयमा दिएको भन्दै केही निर्माताहरू अहिले हलको विकल्प खोज्नुपर्ने आवाज समेत उठाउन थालेका छन्। गत असोज १७ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ले हलबाट उतारेर ‘एमएसएम भिडियो’ नामक ओटीटीको बाटो रोज्यो र कात्तिक ९ गतेदेखि ओटीटीमा फिल्म प्रदर्शन भयो।

हलमै दुई हप्तामा फिल्मले तीन करोड भन्दा बढी ग्रस कलेक्सन गरेको थियो। हल सञ्चालकले उचित शो नदिएपछि उनीहरू ओटीटीतर्फ लागे। ओटिटीमा गए पनि निर्माताको हल मोह भने कायमै छ। ओटीटीको दर्हो वकालत गर्नेहरुमै हलको मोह अझैँ देखिन्छ। 

अमेरिका, जापान, क्यानडा र सिंगापुरमा बेहुली फ्रम मेघौली हलमै रिलिज भइराखेकाले त्यताका दर्शकले  ओटीटीमा यो फिल्म हेर्न पाउँदैनन्। अर्थात निश्चलले 'पाए अन्त, नपाए लखन्तरेको जन्त'को शैली अपनाइरहेका छन्। 

हलको विकल्प हुनसक्छ ओटीटी?
ओएसआर युटुब च्यानलले ओटीटीका रूपमा ‘भिडियो पसल’ सञ्चालन गर्दै आएको छ। यसका सञ्चालक ओम अग्रवाल अहिलेकै अवस्थामा हलको विकल्प ओटीटी बन्न नसक्ने बताउँछन्। नेपालमा ओटीटीमार्फत फिल्म हेर्ने दर्शक ज्याँदै न्युन रहेको र केही ओटीटी प्लेटफर्महरू बन्द समेत भइसकेको स्थिति हेर्दा ओटीटी विकल्प बन्न अझै केही समय लाग्ने उनको भनाइ छ।

अरु फिल्मको तुलनामा कात्तिक ९ गतेदेखि ओटीटीमार्फत रिलिज भएको ‘बेहुली फ्रम मेघौली’मा भने दर्शक बढेको उनको भनाइ छ। एप डाउनलोड हुने र फिल्म हेर्ने दर्शक केही मात्रामा बढे पनि सोचेअनुसार नभएको उनी बताउँछन्। 

दर्शकले फिल्म किनेर हेर्ने भन्दा पनि युट्युबमा हेर्न चाहने उनको भनाइ छ।

उकेरासँगको कुराकानीमा अग्रवालले भने, ‘पुराना दुई फिल्म ‘दिमाग खराब’ र ‘महाजात्रा’ राखेका छौँ। त्यसमा त्यति दर्शक हुनुहुन्न। ‘बेहुली फ्रम मेघौली’मा भने अन्यको तुलनामा अलिक बढी दर्शक हुनुहुन्छ।’

उनका अनुसार अधिकांश फिल्म डिजिटल कपिराइट बिक्री भइसकेका हुन्छन्। त्यो उनीहरूले नै ओटीटीमा राख्ने हुन्।

हलमा रिलिजहुँदा हल सञ्चालक र निर्माताबीच ५०/५० प्रतिशत कमाई बाँडफाँड हुन्छ। अग्रवालका अनुसार उनको ओटीटीमा सञ्चालकले ३० प्रतिशत र फिल्म निर्माताले ७० प्रतिशत पाउँछन्।

अर्का ‘सिनेमा घर’ ओटीटीका सञ्चालक सागर खरेल पनि अहिले नै हलको विकल्प ओटीटी नहुने मत राख्छन्। आट वर्षअघि खुलेको ‘सिनेमा घर’ ओटीटी तीन वर्षअघिबाट मात्रै व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो। यतिका वर्षमा बल्ल ‘सिनेमा घर’ एप डाउनलोड गर्ने दश लाख पुगेका छन्। यो हालसालै पुगेको हो।

सागरले उकेरासँगको कुराकानीमा भने, ‘निर्माताहरूका लागि युट्युबभन्दा ओटीटी धेरै राम्रो हो। राम्रो फिल्मले हलमा १५-२० करोड व्यापार गर्यो भने ओटीटीबाट एक-डेढ करोड उठाउन सक्छ।’

कतिपय ओटीटीका सञ्चालकले निर्मातासँग निश्चित समयका लागि फिल्म किनेर ओटीटीमा प्रदर्शन गर्दै आएका छन्। ‘सिनेमा घर’मा सबैभन्दा धेरै हेरिएको फिल्म भनेको ‘कबड्डी ४’ हो। फिल्मको कमाइ सार्वजनिक गर्न नचाहे पनि उनले ‘राम्रै’ कमाएको दाबी गरे।

यो ओटीटीमा अघिल्लो वर्ष सबैभन्दा धेरै हलमा व्यापार गर्ने फिल्म ‘जारी’ले कबड्डी भन्दा अलिक कम व्यापार गरेको उनको भनाइ छ। अन्य फिल्महरूले पनि दर्शक ठिकठिकै पाएको उनले बताए। ओटीटीले नेपाली निर्माताहरूलाई युट्युबबाट भन्दा धेरै पैसा दिने उनको मत छ।

‘युट्युबमा फिल्म रिलिज गर्नु भनेको निःशुल्क देखाउनु जस्तै हो,’ उनले  थपे, ‘तर ओटीटीमा भने एक जना दर्शकले हेर्दा निर्मातालाई केही राहत हुन्छ।’

नेपालमा नेटफ्लिक्समा जस्तो करोडौं लगानी गरेर फिल्म चलाउन सक्ने अवस्था छैन। नेपालका ओटीटीमा लगानी गरेर फिल्म चलाउन पनि कठिनाई छ। फिल्म किनेर राख्दा चल्छ भन्ने कुनै ग्यारेन्टी नभएपछि तत्काल नेपालमा ओटीटी हलको विकल्प नहुने उनको तर्क छ।

हलमा चलेपछि निर्माताको रोजाईमा ओटीटी  
फिल्म हलमा चलेपछि निर्माताहरूले थप कमाइका लागि ओटीटी प्लेटफर्म रोज्न थालेका छन्। गत असोज १७ गते प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ हलमा प्रयाप्त मात्रामा शो नपाएपछि ओटीटीको बाटो रोज्यो।

यसअघि हलमा प्रदर्शनमा आएका फिल्म ‘दिमाग खराब’, ‘जारी’, ‘कबड्डी ४ : द फाइन म्याच’, ‘चपली हाइट ३’ लगायत हलबाट उत्रिएपछि विभिन्न ओटीटीमार्फत रिलिज भएका थिए। अहिले पनि केही फिल्म ओटीटीमा रिलिज भइरहेका छन्।

कुन फिल्मले ओटीटीबाट कति कमाइ गर्यो भन्नेबारेमा कोही निर्माताले पनि सार्वजनिक गर्न चाहँदैनन्। ‘सिनेमाघर’ एपका सञ्चालक खरेलका अनुसार निर्मातासँगको सम्झौता अनुसार सार्वजनिक गर्न नमिल्ने बताए।

यद्यपि ‘बेहुली फ्रम मेघौली’को निर्माण टिमले भने ओटीटीबाट फिल्मले ४४ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको दाबी गरेको छ। फिल्मलाई ‘एमएसएम भिडियो’ एपमा दर्शकले ४८ घण्टामै ११ हजारभन्दा बढी दर्शकले हेरेको जानकारी दिएकी छन्। फिल्म ओटीटीमा हेर्नका लागि एक दिनका लागि २९८.२० रूपैयाँ र एक साताका लागि ४२० रूपैयाँ तोकिएको छ।

११ हजार दर्शकले यो फिल्म हेरेको निर्माण पक्षको दाबी पत्याउने हो भने दर्शक ओटीटी प्लेटफर्मतर्फ आकर्षित भएको मान्न सकिन्छ। जसबाट साना लगानीमा बनेका फिल्महरूले ओटीटीबाटै आफ्नो लगानी सुरक्षित गर्न सक्ने सकारात्मक अवसर देखिन्छ।

कात्तिक १५, २०८१ बिहीबार १२:१७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।