प्रशिक्षकले देखाएको फाइनल हार्नुको दुई कारण : रेखाको अभाव र अमिशालाई चाँडै मैदानबाट निकाल्नु
काठमाडौँ : साफ महिला च्याम्पियनसिपमा गल्ती नगर्दा पनि दुई पहेँलो कार्ड पाउँदा रेखा पौडेलले फाइनल खेल्न पाइनन्। उनको स्थानमा आएकी सरु लिम्बु फाइनलमा अगाडि बढेर खेल्नै सकिनन्। जसले सावित्रा भण्डारी साम्बाले सहयोगी नै पाइनन्।
नेपालको पक्षबाट फाइनलमा एक मात्र गोल गरेकी अमिशा कार्कीले पनि मैदानमा पुरै समय खेल्न पाइनन्। खेलको ७७ औँ मिनेटमा उनलाई मैदान बाहिर निकालेर अनिता बस्नेत गइन्।
पौडेलको अनुपस्थिति अनि राम्रै खेलिरहेकी खेलाडीलाई मैदान बाहिर निकाल्दा त्यसको प्रभाव खेलमा पर्यो। पहिलो हाफ बराबरी खेले पनि दोस्रो हाफमा बंगलादेशले फर्काएको दोस्रो गोलपछि नेपाली खेलाडीले जवाफी गोल फर्काउन सकेनन् र बंगलादेशको त्यही दोस्रो गोल खेलका लागि निर्णायक हुँदै बंगलादेशले दोस्रो पटक उपाधि जित्यो। उपाधि जित्ने नेपालको प्रयास सफल भएन।
नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पनि पौडेलको अनुपस्थिति र अमिलालाई रिप्लेस गर्ने निर्णय गलत भएको स्वीकार गरे।
नेपालले खेलको ५२ औँ मिनेटमा पहिलो गोल खाएको थियो। तर त्यसको केही मिनेटमै अमिशाले गोल फर्काएर अंक बराबरीमा पूर्याएकी थिइन्।
अमिशाको खेलमा कुनै समस्या नदेखिए पनि प्रशिक्षकले ७७ औँ मिनेटमा अमिलालाई मैदान बाहिर निकालेर अनितालाई पठाएका थिए। खेलको ८१ औँ मिनेटमै नेपालले दोस्रो गोल खाइहाल्यो।
प्रतियोगिताको नतिजा बंगलादेशको पक्षमा गएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्य प्रशिक्षक तामाङले रेखाको अनुपस्थितिको प्रभाव र अमिलालाई रिप्लेस गर्नु गलत भएको स्वीकार गरेका थिए।
खेलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सम्बाले पनि खेलले लय लिएको समयमा खेलाडी परिवर्तनहुँदा लय समात्न समय लिँदा बंगलादेशले गोल थप्न सफल भएको प्रतिक्रिया दिएकी थिइन्। उनले दुबै टिमको खेल लयमै रहे पनि काउन्टर अट्याक गर्न नसक्दा पराजित भएको प्रतिक्रिया दिएकी थिइन्।
रेखाको ठाउँमा टिममा आएकी सरु मैदानमा अगाडि बढेर खेल्न नसक्दा साम्बा काउन्टर अट्याकमा एक्लै समान भएकी थिइन्। रेखा भएको भए उनले दोस्रो खेलाडीको साथ पाउन सक्थिन्। एक्लै हुँदा साम्बाले फाइनलमा गोल गर्न सकिनन्। र फाइनल जितेर उपाधि पाउने सपना पुन एक पटक सपनै मात्रै भयो।
कात्तिक १३, २०८१ बुधबार २२:५६:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।