तिहारमा झरी पर्ने सम्भावना देखिँदैन : मौसम विज्ञान विभाग
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आज तिहार लक्षित विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा एवं झरी नपर्ने बताएको छ।
बुलेटिनअनुसार यस वर्ष तिहारको चतुर्दशी (कात्तिक १५), औँसी (कात्तिक १६), प्रतिपदा (कात्तिक १७) र द्वितीया (कात्तिक १८) अर्थात् भाइटीकाका दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहने उल्लेख छ।
बुलेटिनमा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने देखिएको विभागले जानकारी गराएको छ।
बुलेटिनमा देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ। ती दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम् तापक्रम घट्दो क्रममा रहने सम्भावना छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बदली हुने बादलहरू लाग्ने देखिए पनि ठूलो झरीको सम्भावना भने नदेखिएको बताए।
'ती प्रदेशका केही ठाउँमा हल्का बदली हुने, बादल लाग्ने, हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिन्छ, पहाडी भूभागका एक/दुई स्थानमा मध्यमसम्म पनि वर्षा हुनसक्छ कि भन्ने जस्तो छ तर सोचेभन्दा कम पानी पर्ने देखिन्छ, उनले भने।
मौसमविद् अर्यालका अनुसार ठूलो झरी नै पर्ने खालको अवस्था छैन। पानी कम पर्ने अवस्था रहेको अहिलेसम्मको मोडलले देखाएको छैन।
उनले तीनदिने मौसम बुलेटिन दैनिक सार्वजनिक हुने भएकाले कुनै नयाँ अवस्था सिर्जना भएमा नियमित रुपमा सार्वजनिक हुने पनि जानकारी दिए।
विभागले मौसम पूर्वानुमान महाशाखाबाट जारी गरिने ३ दिने मौसम पूर्वानुमान बुलेटिनमा मौसमसम्बन्धी अद्यावधिक जानकारी हुने भएकाले महाशाखाको वेबसाइट हेर्नसमेत अनुरोध गरेको छ।
कात्तिक १४, २०८१ बुधबार २१:४७:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।