न्यूयोर्कमा दिपावली मनाउन विद्यालयमा सार्वजनिक विदा
काठमाडौं : इतिहासमै पहिलोपटक हिन्दू धर्मालम्बीहरूको पर्व दिपावली मनाउनका लागि न्युयोर्क सहरका विद्यालयहरू नोभेम्बर १ मा बन्द हुने भएका छन्।
'यस वर्षको दीपावली विशेष छ। न्युयोर्क सहरको इतिहासमा पहिलोपटक दीपावली पर्वका लागि नोभेम्बर १ शुक्रबारका दिन विद्यालय बन्द गरिने भएको छ, मेयरको अन्तर्राष्ट्रिय मामिला विभागका उपयुक्त दिलीप चौहानले बताए।
उनका अनुसार ११ लाख विद्यार्थी रहेको न्युयोर्क सहरमा विद्यालय सार्वजनिक बिदा घोषणा गर्न सजिलो छैन।
विभिन्न समुदायका नेता, अधिवक्ता, निर्वाचित अधिकारीहरूले धेरै वर्षदेखि यस विषयमा पहल गरिरहेका थिए। अन्ततः न्युयोर्क सहरका मेयर एरिक एडम्सको प्रशासनले नोभेम्बर १ मा विद्यालय बिदाको घोषणा गरेको छ।
यसअघि जुनमा, न्यूयोर्क सहरले आधिकारिक रूपमा दीपावलीलाई सार्वजनिक विद्यालय बिदाको रूपमा घोषणा गरेको थियो। दिवाली हिन्दू, जैन, सिख र बौद्धद्वारा मनाइने प्रमुख चाडमध्ये एक हो। यो अब न्युयोर्क सहरका विद्यार्थीलाई उत्सव मनाउनका लागि सार्वजनिक विद्यालय बिदाको दिन हो।
यसैबीच, अमेरिकी प्रथम महिला, जिल बाइडेन र राष्ट्रपति जो बाइडेनले अक्टोबर २८ मा ह्वाइट हाउसमा दिपावली उत्सवको आयोजना गरी संयुक्त राज्य अमेरिकाभरीका भारतीय मुलका अमेरिकीहरूलाई उपस्थित हुन आमन्त्रित गरेका थिए।
कात्तिक १३, २०८१ बुधबार १६:३५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।