आइकोनिक खेलाडीका लागि खुला छनोट गर्दै सुदूरपश्चिम रोयल्स
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)का लागि सुदूरपश्चिम रोयल्सले आइकोनिक खेलाडी टोलीमा समेट्न खुला छनोट गर्ने भएको छ।
रोयल्सले कार्तिक २८ मा गर्ने ट्यालेन्ट हन्टबाट एक आइकोनिक खेलाडी र ४ सुदुरपश्चिम हिरोज छनोट गर्नेछ। छनोट कार्यक्रम धनगढीमा हुनेछ।
आइकोनिक खेलाडी रोयल्सको एनपिएल टोलीमा समावेश हुनुका साथै ४ हिरोज पनि टोलीसँग रहेर नै प्रशिक्षण गर्ने छन्।
छनोटका लागि रोयल्सले सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघसँग समन्वय गरिरहेको छ। सुदूरपश्चिम क्षेत्रका खेलाडीको बाहुल्यता रहेको रोयल्सको टोलीमा सुदूरपश्चिम क्षेत्रका खेलाडीलाई यो राम्रो अवसर हुने रोयल्सले भनेको छ।
रोयल्सले यसअघि विदेशी खेलाडीको रुपमा स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई अनुबन्ध गरिसकेको छ। अस्ट्रेलियाका विश्वकप विजेता पूर्वक्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टरमा हुन्।
दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन्।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ देखि एनपिएल सुरू हुनेछ।
टोलीमा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन, सेफ अलि जेब छन्।
कात्तिक १३, २०८१ बुधबार १५:५९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।