काठमाडौं महानगरले टुँडिखेलसहित तीन ठाउँबाट नेपाल र बंगलादेशको खेल प्रत्यक्ष देखाउने
काठमाडौं : साफ महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट नपाएका दर्शकका लागि काठमाडौं महानगरले तीन स्थानमा ठूलो स्क्रिनमा खेल देखाउने भएको छ।
काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले बुधबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै यसबारे जानकारी दिएका हुन्।
टिकट काट्न गएका हजारौं दर्शकले टिकट नपाएको केही समयमा नै महानगरले काठमाडौंको टुँडिखेल, सानौ गौचरण र चाबहिलमा ठूलो स्क्रिनमा देखाउने व्यवस्था गरेको बालेनले आफ्नो पोस्टमा जानकारी दिएका छन्।
‘टिकट पाउनुहुने महानुभावहरू रंगशालामा गएर समर्थन गर्नुहोला, काठमाडौंमा हुने टिकट नपाउनेहरूका लागि हामीले टुँडिखेल, सानो गौचरण तथा चाबहिलमा देखाउने व्यवस्था गरेका छौँ,’ उनले आफ्नो पोस्टमा लेखेका छन्, ‘नजिक हुनेहरू गएर सामुहिक रूपमा नेपालको समर्थन गर्न सक्नु हुनेछ।’
यसअघि मंगलबार साँझको पत्रकार सम्मेलनमा एन्फाका साफ महिला च्याम्पियनसिपका संयोजक सञ्जिब मिश्रले आफूहरूले फ्यान जोन बनाउन नसकेको कमजोरी स्वीकारेका थिए।
‘हाम्रो कमजोरी भनेको फ्याज जोन बनाउन सकेका छैनौँ, समय कम भयो,’ उनले पत्रकार सम्मेलनमा भनेका थिए, ‘फ्यान जोन बनाएर विभिन्न ठाउँमा ठूलो स्क्रिनमा देखाउन पनि सकेनौँ। सेमिफाइनलपछि पनि हामी अझै पनि चाहनाअनुसार तयार हुन सकेनौँ।’
उनले सबै दर्शकलाई साढे पाँच बजेभित्र रंगशाला प्रवेश गर्न आग्रह गरेका थिए।
कात्तिक १३, २०८१ बुधबार १३:५९:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।