टिकट वितरणस्थलमा प्रहरीको माइकिङ, यी सामान लिएर रंगशाला नआउनुस्

टिकट वितरणस्थलमा प्रहरीको माइकिङ, यी सामान लिएर रंगशाला नआउनुस्

काठमाडौं : साफ महिला च्याम्पियनसिप अन्तर्गत बुधबार साँझको फाइनल खेलअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले दर्शकहरूलाई निर्देशन जारी गर्यो।

मंगलबार गरेको पत्रकार सम्मेलनमा एन्फाले रंगशालामा लैजान नपाइने सामानबारे जानकारी गराएको हो। एन्फा प्रवक्ता सुरेश शाहका अनुसार हातहतियारका रुपमा प्रयोग हुनसक्ने सामान रंगशाला प्रवेश गराउन मिल्दैन।

त्यसबाहेक बुधबार विहान टिकट काट्नका लागि भनेर एन्फाले तोकेका काउन्टरहरूमा पनि प्रहरीले माइकिङ गर्ने लैजान नपाइने सामग्रीबारे जानकारी गराएको थियो।

‘पानी, बदाम जुस, रेडबुल, कोल्ड ड्रिंक्सका बोत्तलहरू लैजान पाइँदैन,’ भद्रकालीमा टिकट वितरण भइरहेको स्थानमा प्रहरी गरेको माइकिङमा भनिएको छ, ‘त्यसैगरी हेलमेट, छाता, हर्नजस्तो बजाउने बाजाहरू लैजान पाइँदैछ।’

माइकिङ गरेका प्रहरीेले पानीको बोत्तल लैजान नपाइने भएकाले खेल शुरू हुनुअघि नै पानी खाएर जान आग्रह समेत गरे।

‘खाने र पिउने सामग्रीहरू बाहिरै खाएर वा पिएर मात्र जाने,’ उनले माइकिङमा भने, ‘रंगशालाभित्र प्रहरीले प्रवेश गराउन दिँदैन।’

यद्यपि एन्फा प्रवक्ता सुरेश शाहले मंगलबार साँझ गरेको पत्रकार सम्मेलनमा रंगशालामा राखिएको ‘फुड एन्ड बेभरेज’को काउन्टरबाट कागजको गिलासमा पानी पिउन सकिने जानकारी गराएका थिए।

नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ साढे ६ बजे हुँदैछ।

कात्तिक १३, २०८१ बुधबार ११:४८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।