एन्फाको असक्षमताले दर्शकले पाएको सास्ती

एन्फाको असक्षमताले दर्शकले पाएको सास्ती

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को असक्षमताका कारण फुटबलका दर्शकहरूले सास्ती बेहोरेका छन्।

बुधबारको फाइनल खेलअघि एन्फाले आफ्नो टिकेटिङ पार्टनरसँगको सम्झौता रद्द गरेसँगै दर्शकहरुले सास्ती पाएका हुन्।

सेमिफाइनमा तोकिएको भन्दा बढी टिकट बिक्री गरेर सुरक्षा व्यवस्थामाथि नै प्रश्नचिन्ह उठ्ने अवस्था सिर्जना गरेको र सम्झौता बमोजिमको रकम पनि भुक्तानी नगरेको भन्दै एन्फाले मंगलबार एक विज्ञप्ति निकालेर टिकट काट्न लाइन बस्न आग्रह गर्यो।

टिकट विहान आठ बजेदेखि वितरण गरिने भनेपछि दर्शकहरु विहान पाँच बजेदेखि नै लाइन बस्न गए। तर एन्फाले आफैँले तोकेको समयमा टिकट वितरण थालेन।

भद्राकालीस्थित नेपाली सेनाको हेडक्वार्टरछेउमा भएको लाइन लाग्न गएकाहरूलाई साढे नौ बजेपछि मात्र टिकट वितरण थालियो।

अनलाइनबाट टिकट किनेकाहरूका लागि खल्तीको अफिसियल काउन्टरले भेरिफाइ गरेपछि उनीहरूलाई कागजको टिकट दिइयो भने अन्य सर्वसाधारहरूले तीन घण्टाभन्दा बढी लाइन बसेपछि मात्र टिकट पाए।

प्रविधिबाट हुने सहज कामका लागि एन्फाले गरेको यो पुरानै शैलीको एन्फाको कामको फुटबल समर्थकहरूले आलोचना गरिरहेका छन्।

सम्झौता भएको कम्पनीसँगको सम्झौता रद्द गरिसकेपछि एन्फाले तत्काल अर्को कम्पनीसँगको सम्झौता गरेर अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाउनुपर्नेमा हजारौं दर्शकलाई घण्टौ लाइन बसाएर सास्ती दिएको हो।

टिकट काट्न आउने सर्वसाधारणका कारण दशरथ रंगशाला र जावलाखेलमा विहानैदेखि ट्राफिक व्यवस्थापनमा असहज भइरहेको छ।

कात्तिक १३, २०८१ बुधबार ११:२४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।