हरिहरको छ करोडको ‘ग्रहदशा’ कट्ला यसपाली ?

हरिहरको छ करोडको ‘ग्रहदशा’ कट्ला यसपाली ?

काठमाडौं : कात्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’को प्रचारप्रसार तीव्र छ। दक्षिण भारतीय र नेपाली कलाकार राखेर निर्माण गरिएको फिल्मको बारेमा धेरै दर्शकलाई थाहा दिन यतिबेला निर्माण पक्ष र कलाकारहरू अन्तर्वार्ता तथा अन्य प्रचारात्मक काममा व्यस्त छन्।

सोमबार साँढे २ बजे हात्तिसारस्थित नेपालमा हाउसमा फिल्मको पत्रकार सम्मेलन राखियो। फिल्मको कथा निर्माणदेखि छायांकन सकिँदासम्म जोतिषलाई देखाइएकोमा कलाकार तथा निर्माता हरिहर अधिकारीलाई पत्रकारले फिल्मको ग्रहदशाबारे प्रश्न नगर्ने कुरै भएन।

‘फिल्म रिलिजको ग्रहदशा कतिको हेर्नुभएको छ?’ भन्ने प्रश्नमा उनले आफ्नो सबै काम सकिएको र प्रदर्शनको कुरा आफ्नो हातमा नभएको बताए। यद्यपि उनले फिल्मको ग्रहदशा राम्रै रहेको दाबी पनि गरे।

उनले अगाडि भने, ‘फिल्मको ग्रह राम्रो छ। तर, मेरो काम सकिसक्यो। राम्रो दिनमा सुरु गर्यो भने गन्तव्यमा पुगिन्छ, नराम्रो दिनमा यात्रा गर्दा बाधा अड्चन आउन सक्छ भन्ने ज्योतिष शास्त्रको नियम छ। हरेक ठाउँमा लाग्ने यही नै नियम हो। हामीले फिल्म राम्रो साइतमा सुरु गरेका थियौँ। र, बाधा अड्चन केही नआइ ठूलो ग्राफको फिल्म भनेकै दिनमा छायांकन सकायौँ।’

पत्रकार सम्मेलनमा निर्माण पक्षले अर्को नयाँ कुरा समेत सार्वजनिक गरेका थिए। ब्रम्हानन्दमको भूमिकामा जितु नेपाललाई अनुबन्ध गर्न चाहे पनि कुरा नमिलेको निर्माण पक्षको भनाइ छ।

हरिहर अधिकारीको यो दोस्रो फिल्म हो। यसअघि उनले ‘शुभ लभ’मा अभिनेताका रूपमा काम गरेका थिए। तर उक्त फिल्म फ्लप बन्न पुग्यो। पत्रकार सम्मेलनमा हरिहरले भारतीय नाम चलेका कलाकारसँगको काम गर्दाको अनुभव समेत साटे।

‘शुरूमा त निकै गाह्रो भयो। पछि चाहिँ सहज हुँदै गयो। निर्देशकदेखि कलाकारहरूले एकदमै सहयोग गर्नुभयो,’ उनले भने, ‘साउथका ब्रह्मानन्दम, सुनिल वर्माहरुले पनि सहज बनाइदिनुभयो। यो नयाँ हो, सिक्दै छ भन्ने हिसाबले सबैले सहयोग गरिदिँदा गाह्रो महसुस हुन पाएन।’

फिल्मको लगानी ६ करोड रहेेको निर्माण पक्षको दाबी छ। ग्रहदशा कट्न कमसेकम १८ करोडमाथिको ग्रस कलेेक्सन हुनुपर्छ। यसका लागि करिब छ लाख दर्शकले फिल्म हेर्नुपर्छ।

फिल्ममा हरिहरका अलवा नीता ढुङ्गाना, ब्रह्मानन्दम, सुनिल वर्मा,रेखा थापा,विपना थापा लगायत दर्जनौ कलाकारहरुले अभिनय गरेका छन्। ६ करोड भन्दा माथीको लगानीमा बनेको यो फिल्मलाई द्धन्द्ध निर्देशक चन्द्र पन्तले निर्देशन गरेका हुन्।

कात्तिक १३, २०८१ बुधबार ११:००:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।