टिकट लिएका दर्शकलाई साढे पाँच बजेभित्र रंगशाला छिरिसक्न एन्फाको आग्रह
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट लिएका दर्शकहरूलाई साढे पाँच बजेभित्रै रंगशाला आइसक्न आग्रह गरेको छ।
खेलअघिको पत्रकार सम्मेलनमा एन्फा पदाधिकारी सञ्जिव मिश्रले टिकट लिएका दर्शकहरूका लागि यस्तो आग्रह गरेका हुन्।
‘सबैलाई दर्शक रंगशालामा चाहेर पनि देखाउन सक्दैनौं,’ उनले भने, ‘त्यसकारण साढे ६ बजेको खेल छ भने टिकट भएका दर्शकहरु साढे पाँच बजेभित्र प्रवेश गर्नुहोला भन्ने अनुरोध गर्दछु।’
उनले खेलाडीले रंगशालाभित्र एउटा सामान्य झोला लिएर जान पाइने भएपछि हेलमेट तथा पानीका बोत्तलहरूलाई निषेध गरिएको उनको भनाइ छ।
त्यहाँका रहेका खाना र पानीको स्टलहरूबाट पनि साना बोत्तलमा मात्र पानी बिक्री गर्न र कफि बिर्को नभएको कागजको कपमा दिन समेत निर्देशन दिइसकेको छ।
सेमिफाइनलमा भएको सुरक्षाक चुकबाट पाठ सिक्दै एन्फाले फाइनलमा सुरक्षा व्यवस्थालाई थप कडा बनाउने जनाएको छ। यसका लागि नेपाल प्रहरी र एपीएफबाट गरेर ६ सय प्रहरी परिचालन हुनेछन्। त्यसका अलावा प्राइभेट सेक्युरिटीको संख्या समेत थप गरिने मिश्रले बताए।
यसका साथै आजको खेलको लागि एन्फाले १० हजार टिकट सामान्यतर्फ र एक हजार टिकट भीआईपीतर्फको वितरण गरेको छ।
‘दशरथ रंगशालाको क्षमता १५ हजार ६ सय हो। दुई सय वटा कुर्सी बिग्रेका छन्। क्षमताभन्दा २० प्रतिशत कम गरेर बेच्नुपर्ने फिफाको नम्स हो,’ उनले भने, ‘बुधबार सामान्यतर्फ १० हजार र भीआईपीतर्फ एक हजार टिकट बिक्री गर्छौँ।’
नेपाल र बंगलादेशबीचको फाइनल खेल बुधबार साँझ साढे छ बजे शुरू हुनेछ।
कात्तिक १३, २०८१ बुधबार १०:२३:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।