रत्नपार्कबाट नारायणहिटी सरे रमेश, गरे २१औं काग सम्मेलन
काठमाडौं : काग तिहारको अवसरमा बुधबार ‘२१औं काग सम्मेलन’ गरिएको छ।
एक सय भन्दाबढी जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार रमेश दुलालले बुधबार २१औं काग सम्मेलन गरेका हुन्।
राष्ट्रिय सङ्गीतकर्मी सङ्घ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा राजधानीको नारायणहिटी अगाडि भएको उक्त सम्मेलनमा उनले कागको जस्तै आवाज निकालेर सयौं कागलाई भेला गराएका थिए।
उनले कागको आवाज निकालेर कागलाई बोलाउन थालेपछि नजिक सयौं काग आएका हुन्। विगतका वर्षहरूमा रत्नपार्कस्थित शान्तिबाटिका गरिँदै आएको काग सम्मेलन यस वर्ष भने नारायणहिटी गेट अगाडि गरिएको हो।
उनले आज बिहान पौने ६ बजे आयोजित उक्त सम्मेलनमा एक हजारको हाराहारीमा कागलाई भेला गराइएको समेत बताए।
दुलालले आफूले कागबाहेक मुखैले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन्। गाई, भैँसी लगायत १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने खुबी छ उनमा।
उनले भने, ‘काग तिहारको दिन मैले काग सम्मेलन गरेको अहिले २१ वर्ष भयो।’
यसअघि उनले भारतको नाकाबन्दीविरुद्ध, संविधान ढिला बन्दा त कहिले एयरपोर्टमा काग सम्मेलन गरेर समेत एयर ट्राफिक जाम गराएका छन्।
कात्तिक १३, २०८१ बुधबार ०९:११:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।