दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आज काग तिहार
भौतिक, दैवी र आध्यात्मिक शक्ति प्राप्त होस् भन्ने कामनाका साथ दुर्गा भवानीको आराधना गरेर मनाइने दशैंपछि सम्पत्ति पर्याप्त होस् भन्ने अभिलाषा राखेर महालक्ष्मीको आराधना गरी मनाइने तिहार दोस्रो ठूलो चाड हो। धर्म/न्यायसंगत ढंगले मात्र सम्पत्तिको वृद्धि गर्नुपर्छ भन्ने सन्देश दिने यो चाड हिन्दूहरूका आदर्श जीवन शैलीको परिचायक पनि हो।
लक्ष्मीपूजाको परम्परा
हिन्दू समाजमा लक्ष्मीपूजा गर्ने परम्परा वैदिक कालदेखि नै चलिआएको देखिन्छ। शुक्ल यजुर्वेदअन्तर्गतको पुरुषसूक्तमा ‘श्रीश्च ते लक्ष्मीश्च पत्न्यौ’ भनेर श्री र लक्ष्मीलाई परमात्माका शक्तिका रूपमा मानिएको छ। यिनै श्री र लक्ष्मी शक्तिले मानिसका इच्छा पूरा गर्ने कुरा पनि त्यहाँ बताइएको छ।
ईश्वरको सेवा अर्थात् धर्मबाट मानिसले सम्मान र सम्पत्ति दुवै प्राप्त गर्दछ भन्ने वैदिक मान्यता रहेको देखिन्छ भने लक्ष्मीपूजा गर्ने परम्परा पनि वैदिक कालदेखि नै चलिआएको हो भन्ने कुरा बुझिन्छ।
यमपञ्चक : पाँच दिनको उत्सव
शरद् ऋतुमा कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि कार्तिक शुक्लपक्षको द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भनिन्छ। यम भनेको यमराज र पञ्चक भनेको पाँच दिनको समूह भन्ने हो। दीर्घायुष्यका लागि मृत्युका देवता यमराजको पूजा गरिने हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो। तर तिथीमा भएको घटबढका कारण यसपटक भने यमपञ्चक छ दिन परेको छ।
महाभारत, स्कन्दपुराण, लिंगपुराण, पद्मपुराण आदि पौराणिक ग्रन्थमा यमद्वितीया (भाइटीका) र यमपञ्चकबारे चर्चा भएको छ। पौराणिक कथनअनुसार मृत्युका देवता यमराज हुन्। उनी सूर्य र संज्ञाका पुत्र हुन्। यमराजकी बहिनी यमुना हुन्।
कार्तिक कृष्णपक्षको त्रयोदशीका दिन यमराज आफ्नी बहिनी यमुनालाई भेट्न उनका घर गएका थिए। कार्तिक शुक्ल द्वितीयाका दिनसम्म अर्थात् भाइटीकाका दिनसम्म यमराज यमुनाकहाँ बसे, यमुनाले दाजु यमराजलाई प्रेमपूर्वक स्वागत सत्कार गरिन्। यमराज प्रसन्न भएर बहिनीलाई के वरदान दिऊँ भने।
यमुनाले आज हामी दाजुबहिनी भेट भएको प्रेममय दिन हो। अबदेखि प्रत्येक वर्ष आजका दिन सबै दाजुभाइ दिदीबहिनीकहाँ गएर भोजन गरून् भन्ने वर मागिन्। यमराजले तिम्रो इच्छा पूर्ण होओस्, आजका दिन दिदीबहिनीका हातको टीका लगाउने र दिदीबहिनीका घरमा भोजन गर्ने व्यक्तिले पुत्रपौत्र, धनसम्पत्ति, आयु र कीर्ति प्राप्त गर्नेछ भन्ने वरदान दिए। त्यहीँदेखि यमपञ्चकलाई दाजुभाइ र दिदीबहिनी भेट हुने उत्सवका रूपमा मनाउन थालियो।
यमपञ्चककै बीचमा लक्ष्मीपूजा पनि पर्दछ। त्यसैले यी पाँच दिन धनधान्यकी देवी लक्ष्मीको आराधना गर्ने र अपमृत्यु नहोस् भनेर यमराजको पूजा गर्ने दोहोरो महत्त्व बोकेका उत्सवका दिन हुन्। सुखी जीवनका लागि लक्ष्मीको र लामो आयुका लागि यमराजको पूजा गरिने यो पर्व बाँचुन्जेल यस लोकको सुखभोग र जीवनपश्चात् स्वर्गीय सुख चाहनेहरूका लागि महत्त्वपूर्ण अवसर हो।
नीति भन्छ, ‘धनाद्धर्मस्ततः सुखम्’ धनबाट धर्म आर्जन गर्न सकिन्छ, अनि धर्मले सुख प्राप्त हुन्छ। वर्णाश्रम व्यवस्थाअन्तर्गत ब्रह्मचर्य आश्रमपछिको गृहस्थ आश्रम धन आर्जन गर्ने समय हो। २५ वर्षदेखि ५० वर्ष उमेरसम्मको यस अवस्थामा न्यायपूर्वक प्रशस्त धन आर्जन गर्ने इच्छा राख्नुपर्छ, यो शास्त्रसम्मत कुरा हो। जीवनको यो सक्रिय अवस्थामा धन आर्जन गर्नाले त्यसपछिको अवस्थामा धर्म आर्जन गर्न सहयोग पुग्छ। यस सन्दर्भमा नीतिको भनाइ छ-
प्रथमे नार्जिता विद्या द्वितीये नार्जितं धनम् ।
तृतीये नार्जितो धर्मश्चतुर्थे किं करिष्यति ?
जसले जीवनको पहिलो अवस्थामा विद्या आर्जन गरेन, दोस्रो अवस्थामा धन आर्जन गरेन र तेस्रो अवस्थामा धर्म आर्जन गरेन भने चौथो अवस्थामा त के गर्न सक्छ र? अर्थात् जीवन निरर्थक हुन्छ। त्यसैले धर्मपूर्वक धन आर्जन गर्नु शास्त्रसम्मत कुरा हो। न्यायपूर्वक आर्जन गरिने चोखो धनका लागि प्रेरित गर्ने अवसर लक्ष्मीपूजा हो।
कागतिहार
यमपञ्चकको पहिलो दिन कागतिहार हो। यस दिन कागलाई सम्मानपूर्वक चन्दन, अक्षता, फूल, धूप, बत्ती, मीठामीठा खाना आदि राखिदिएर पूजा गरिन्छ।
कागलाई सम्मान गर्ने परम्परा अनादिकालदेखि चलेको देखिन्छ। पुराणहरूमा कागलाई यमराजको दूत मानिएको छ। संस्कृतमा कागलाई बुझाउन यम र यमदूत शब्द पनि प्रयोग हुन्छन्।
मृत्युसंस्कारका रूपमा गरिने दशगात्र कर्ममा प्रत्येक दिन कागलाई बलि (उपहार) दिनु अनिवार्य मानिन्छ। आस्थावान् गृहस्थले दैनिक गर्ने बलिवैश्वदेवका कर्ममा पनि कागलाई बलि दिने विधान छ।
ज्योतिषअन्तर्गत मानिने शकुन शास्त्रमा कागको ठुलो महत्त्व छ। काग कुन अवस्थामा दिनको कुन प्रहरमा कुन दिशामा बसेर कस्तो आवाज निकालेर कराउँछ त्यस आधारमा शकुन शास्त्रले फल बताएको छ। कागले अशुभ मात्र होइन, शुभ समाचार पनि ल्याएको हुन्छ।
चराका व्यवहारको गम्भीर अध्ययन गरेर तयार पारिएको शकुन शास्त्र सतहीरूपमा हेर्दा अन्धविश्वासजस्तो लागे पनि राम्ररी अध्ययन गर्ने हो भने प्रकृतिविज्ञानको महत्त्वपूर्ण अंग हो।
खेतीपातीलाई नष्ट गर्ने किरा-फट्यांग्रा खाएर कृषि उत्पादनमा वृद्धि गर्ने र हाम्रो परिवेशमा रहेका सडेगलेका, फ्याँकिएका वस्तुहरू खाएर वातावरणलाई सफा राख्ने हुनाले प्रकृति र वातावरणका विज्ञहरूले पनि कागलाई मानिसको सहयोगी प्राणीका रूपमा चर्चा गरेका छन्।
कागतिहारका धार्मिक कृत्य
यमपञ्चकको पहिलो दिन बिहान स्नान-सन्ध्या आदि नित्यकर्म गरेर यमपञ्चकका विशेष कर्म गरिन्छ। यस दिन बिहान धन्वन्तरि, कुबेर र यमराजको स्थापना गरेर तिनीहरूको पूजा गरिन्छ।
पूजाको अन्त्यमा घरबाहिर काग आएर बस्न सक्ने ठाउँमा कागलाई लक्षित गरी पूजासामग्री अर्पण गरिन्छ र बलि (खानेकुरा र पानी) दिइन्छ। कागलाई बलि दिँदा भन्ने मन्त्र यस्तो छ-
ऐन्द्रवारुणवायव्या याम्या वै नैर्ऋतास्तथा।
वायसाः प्रतिगृह्णन्तु भूमौ पिण्डं मयार्पितम् ।।
यमपञ्चकअन्तर्गत त्रयोदशीको सन्ध्या कालमा अपमृत्यु-निवारणका लागि घरबाहिर मूलढोका वा गेटका अगाडि यमराजलाई दीपदान गर्नू भन्ने स्कन्दपुराणको वचन छ। यमराजलाई लक्षित गरेर बालिने यस दीपलाई यमदीप भनिएको छ। बत्ती बालेर यमराजलाई समर्पण गर्दै यो मन्त्र भनिन्छ-
मृत्युना पाशदण्डाभ्यां कालेन श्यामया सह ।
त्रयोदश्यां दीपदानात् सूर्यजः प्रीयतां मम ।।
यमदीपदान गर्नाले अपमृत्यु हुँदैन भन्ने स्कन्दपुराणको वचन छ। आजैका दिनदेखि घरवरिपरि बत्ती बालेर दीपावली गर्ने हाम्रो परम्परा पनि यमपञ्चकको यही विधानसँग सम्बन्धित छ।
कात्तिक १३, २०८१ बुधबार ०७:४२:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।