महिला राष्ट्रिय टोलीमा रौतहटका खेलाडीको 'कब्जा'

महिला राष्ट्रिय टोलीमा रौतहटका खेलाडीको 'कब्जा'
तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौँ : साफ महिला च्याम्पियनसिप-२०२४ को सेमिफाइनलमा भारतविरुद्ध नेपाली टोली दशरथ रंगशालामा उत्रियो। मैदानमा उत्रिएको ११ जनाको टोलीमा थिए अन्जिला तुम्बाप्पो सुब्बा (कप्तान), विमला बिक, पूजा राना, रेनुका नगरकोटे, अमिषा कार्की, गीता राना, रेखा पौडेल, प्रीति राई, अमृता जैसी, सबिता राना मगर, सावित्रा भण्डारी।

पहिलो रोजाइमा रहेका रेनुका नगरकोटे र सविना राना मगर रौतहटका। पेनाल्टीमा सब्स्टिच्युट गोलरक्षकको रूपमा मैदानमा आएर भारतको दुई प्रहार विफल बनाएर टिमलाई फाइनलमा पूर्याउन महत्त्वपूर्ण भूमिका निभाएकी अञ्जना राना मगर पनि रौतहटकै।

यति मात्रै हैन, जारी साफ महिला च्याम्पियनसिपको टिमका सदस्यहरूमध्ये रौतहटका मात्रै ८ जना छन्। अहिले नेपाली राष्ट्रिय टिममा रहेका रेनुका, अनिता केसी, निशा ठोकर, अञ्जना, रश्मिकुमारी घिसिङ, समीक्षा घिमिरे, सविना र सजनी ठोकर रौतहटका हुन्। बुधवार यीनैमध्ये अधिकांश खेलाडी उपाधि जित्न बंगलादेशविरुद्ध मैदानमा भिड्ने छन्।

अहिले भइरहेको साफ महिला च्याम्पियनसिप खेलिरहेका खेलाडीको पोजिसनको हिसाबले रेनुका नगरकोटे, अनिता केसी मिडफिल्डमा छन्। निशा ठोकर,सजनी ठोकर, समीक्षा घिमिरे डिफेन्सको भूमिकामा छन् भने रश्मि कुमारी घिसिङ र सविना राना मगर स्ट्राइकर हुन्। अञ्जना राना मगर गोलकिपरको भूमिकामा छिन्।

राष्ट्रिय टिममा रहेका खेलाडीहरू हेर्ने हो भने रौतहटको कब्जा बराबर देखिन्छ। सबै खेलाडीको उत्कृष्ट प्रदर्शनले नै महिला टिम अहिले यो अवस्थासम्म आइपुगेको हो। अन्य जिल्लाका खेलाडीको कुनै भूमिका नभएको हैन। तर रौतहटका खेलाडीको भूमिका विशेष देखिन्छ, छ। सङ्ख्यात्मक रूपमा मात्रै हैन मैदानमा देखिने खेल कौशलले पनि रौतहट महिला फुटबल उत्पादनको स्वर्ण भूमि हो भन्दा पक्कै फरक पर्दैन।

रौतहट कसरी भयो महिला फुटबलको स्वर्णभुमी ?

फुटबल अनि रौतहट जोडिँदा त्यसमा छुट्दैनन् शेरबहादुर दर्लामी। पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर ४ मा दर्लामीले २०५८ सालमा स्थापना गरेको रौतहट फुटबल एकेडेमी नै हो यी खेलाडीहरूको उत्पादन केन्द्र।

दर्लामीले वस्तिमा हुर्किँदै गरेका किशोरीहरूमा गजबको सम्भावना देखे। उनीहरूको परिवार मनाए। उनीहरूका लागि सम्भव भएसम्मको भौतिक संरचना निर्माण गरे। प्रशिक्षणका लागि आवश्यक सामाग्री जोरजाम गरे। जसको नतिजा अहिले दशरथ रङ्गशालाको मैदानमा देखिइरहेको छ।

२०५८ ताका दलार्मीले जम्मा ५-६ जनाको किशोरी जम्मा पारेर टिम बनाएका थिए। अनि प्रशिक्षण सुरु गरे। तात्कालिक समयमा महिलाले पनि फुटबल खेल्छन् र? भन्ने गलत मानसिकताले जरो गाढेको थियो। त्यसको प्रभाव मधेसको रौतहटमा अलि बढी नै हुनु स्वाभाविकै थियो।

जर्सी, कट्टुमा मैदानमा फुटबलसँग रमाउनु परको कुरा थियो। न समाजले नै स्विकार्न सक्ने अवस्था थियो न किशोरीहरूको परिवारले। तर दलार्मी घर-घर गएर परिवारका सदस्यलाई मनाए, फुटबलमा रुचि भएका किशोरीहरूलाई मैदानमा ल्याएर अहिलेको अवस्था आएको रौतहट फुटबल सङ्घका अध्यक्ष भगवान् दलार्मी बताउँछन्।

‘काम गर्न निकै गाह्रो थियो। समाज पनि अहिलेको जस्तो खुला सोचको थिएन। अझ महिलालाई ल्याउन त निकै गाह्रो थियो। खेलको माहौल नभएको अवस्थामा सानो सङ्ख्यामा घर-घरबाट  किशोरीहरू बटुलेर खेलाउनु भएको थियो उहाँले ’ उनले भने।

दर्लामी प्रशिक्षण बापत पारिश्रमिक पनि लिँदैनथे। उनमा महिला फुटबल खेलाडी उत्पादन गर्ने भूत चढे समान थियो।

२०७१ मंसिर २६ मा दर्लामीको निधन भएपछि कैयन् पटक त्यहाँको प्रशिक्षक परिवर्तन भए। त्यसको असर उनले हुर्काएका बिरुवामा परेन। उनीहरू नेपाली फुटबलमा फैलिसकेका थिए। अहिले त झाँगिइसके। राष्ट्रिय टिम त भई नै हाल्यो।

विभागीय टिममा पनि उनका चेलीहरू टन्नै छन्। विभागीय टिमहरूका ३३ जना महिला खेलाडी रौतहटकै हुन्।

२० वर्षमुनिको राष्ट्रिय टिममा १४ जना

रौतहट फुटबल सङ्घले उपलब्ध गराएको तथ्याङ्क अनुसार रौतहटका उत्पादनमध्ये ५४ जनाले विभिन्न विभागीय टिमबाट खेलिसकेका छन्।

जसमा हाल विभागीय टिमबाट खेलिरहेकाको सङ्ख्या ३३ छ। सङ्घले उपलब्ध गराएको तथ्याङ्क अनुसार हाल विभागीय टिममा रहेकोमा आर्मीमा ९, एपीएफमा १५, पुलिसमा ९ जनाले खेलिरहेका छन्।

सन् २०१९ मा रौतहटकै यु–२० मा १४ जना राष्ट्रिय टिममा परेका थिए। जसमा अञ्जना राना मगर, सविता राना मगर, रश्मि कुमारी घिसिङ,सपना राई, समीक्षा घिमिरे, निशा ठोकर, पुन्जली कुश्वार, रविना गोले, मनीषा राउत, अश्मिता वैध, मन्जली योञ्जन, सलुनी राना मगर, आशा कुश्वार, रोजिना श्रेष्ठ परेका थिए।

२०१९ मा यु २० मा परेका रौतहटका खेलाडी (फोटो रौतहट फुटबल सङ्घ)      मधेस प्रदेश फुटबल सङ्घका अध्यक्ष नेपाल कार्कीले रौतहटबाट यति धेरै महिला खेलाडी निस्किनुमा स्थानीय तहदेखि अभिभावकको लगानी रहेको बताए।

‘विभिन्न विभागीय टोलीमा रौतहटका महिलाहरू जागिर खाएका छन्। फुटबलबाट पनि राम्रो जागिर खान सकिन्छ भन्ने भएर नै उनीहरूले आफ्नो छोरीहरूलाई खेल्न पठाउँछन्।

विवादपछि बल्ल एकेडेमी

रौतहटले धेरै महिला फुटबल खेलाडी जन्माएको छ। विभागीय टिम होस् वा राष्ट्रिय टोली। रौतहटको अनुहार धेरै देख्न सकिन्छ। त्यही जिल्लाबाट उत्पादित खेलाडीको विभागीय टिममा समेत वर्चस्व देखिन्छ। त्यसैले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले रौतहटमा टेक्निकल सेन्टर बनाउने निर्णय गरेको थियो।

एन्फा अहिले दुई स्थान रौतहट र च्यासलमा रहेका एकेडेमी सञ्चालनमा छ।

एन्फाले विश्व फुटबल महासङ्घ फिफाबाट रकम स्वीकृत गराई न्यु ड्राइगन र नयाँ युग जेभीसँग २०७५ मंसिर १२ मा निर्माण सम्झौता गरेको थियो।

सम्झौता अनुरूप एकेडेमी निर्माणको काम सुरु भएको थियो। बन क्षेत्रको जग्गा मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका लागि भोगचलनको अनुमति दिन सकिने भए पनि अवैधानिक रूपमा खेलकुद मैदान बनाउन खोजिएको भन्दै अदालतमा रिट परेको थियो। 

एकेडेमी निर्माणका लागि एन्फाले ई–बिडिङमार्फत २०७५ साल मंसिर १४ गते न्यु ड्रयागन नयाँ युग प्रालि र कन्सल्ट्यान्टमा नेपाल टेक इन्जिनियरिङ कन्सल्टयान्ट प्रालिसँग सम्झौता गरेको थियो।

एकेडेमी निर्माणका लागि फिफाले ‘फिफा फरवार्ड प्रोग्राम’ अन्तर्गत ३ लाख २९ हजार २ सय ६२ डलर उपलब्ध गराउने सम्झौता भएको थियो।

योजनाअनुसार एकेडेमीमा ४० देखि ६० जनासम्म खेलाडीका लागि छात्रावास सहित शिक्षा, स्वास्थ्य र प्रशिक्षणको सम्पूर्णको सुविधा सहितको भवन बनेको छ।  

नेपाली महिला फुटबलको सबैभन्दा उर्वर भूमि रौतहटमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘फिफा फरवार्ड प्रोजेक्ट’ अन्तर्गत ६ वर्षअघि एकेडेमीको निर्माण सुरु भएको थियो। एकेडेमी निर्माण सुरु भएको एक वर्षभित्रै सम्पन्न भयो पनि। तर, २०७६ माघमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)कै पूर्वकानुनी सल्लाहकार सुजित केसीले सर्वोच्च अदालतमा रिट निवेदन दिए।

केसीले वन क्षेत्रमा एकेडेमी बनाएको भन्दै सार्वजनिक सरोकारको विषयमा सर्वोच्चमा रिट दर्ता गराएका थिए। रिटमा अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले एकेडेमीको काम अवस्थामा राख्न आदेश दिएको थियो। तर गत बैँशाखबाट सञ्चालनमा आएको अध्यक्ष दर्लामी बताउँछन्।

‘एकेडेमी सञ्चालनमा नआओस् भन्ने चाहना काठमाडौँमा बस्नेहरूलाई थियो। विभिन्न व्यक्तिले राजनीति गरेका थिए। रौतहट फुटबल राजनीतिको चपेटामा परेको थियो। गत वैशाखबाट भने ३० जना महिला खेलाडी राखेर प्रशिक्षण दिइरहेका छौँ’ उनले उकेरासँग भने। 

कात्तिक १३, २०८१ मंगलबार १९:५६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।