नेपाल वायुसेवा निगमको लापरबाही, दाङ उड्न ठिक्क परेका १६ यात्रु अलपत्र पारेर जुम्ला गयो

नेपाल वायुसेवा निगमको लापरबाही, दाङ उड्न ठिक्क परेका १६ यात्रु अलपत्र पारेर जुम्ला गयो
सांकेतिक तस्बिर

काठमाडौँ : नेपाल वायुसेवा निगमले समयमै जहाज उड्ने जानकारी नदिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरू फर्कन बाध्य भएका छन्। मङ्गलवार दाङ जान लागेकी सरिता खड्का सहित १६ जनाको टोली  १ बजेको उडानका लागि १२ बजे विमानस्थल पुगेका थिए।

उनीहरू विमानस्थल पुगेपछि मात्रै जहाज नउड्ने खबर पाए। त्यसपछि उनीहरू फर्कन बाध्य भए।

यात्रु मध्येकी एक खड्काले उकेरासँग कुरा गर्दै भनिन्  'अगाडि नै जानकारी दिएको भए हुन्थ्यो। आज प्लेन उड्दैन भनेर एयरपोर्ट पुगेपछि मात्रै थाहा भयो। कहिले उड्ने कुनै म्यासेज आएको छैन।'

निगमका प्रवक्ता रमेश पौडेलले उडान स्थगित भएको पुष्टि गरे। उनले जुम्लामा एक जना बिरामीलाई काठमाडौँ ल्याउनुपर्दा उडान रद्द भएको दाबी गरे। जबकि आकस्मिक रूपमा बिरामीको उद्धार गर्नुपरे सेनाको हेलिकप्टर प्रयोग हुने गरेको छ। उनले बिरामी र बिरामीको अवस्थाबारे खुलाएनन्।

'जुम्लामा एक जना बिरामी पर्नु भएको रहेछ। उहाँलाई लिन उतै उडाउनु पर्ने भयो। उहाँलाई उद्धार गरी ल्याइयो। यताको स्थगित भयो' उनले भने ' फेरि क्याप्टेनको पनि उडान समय सिद्धियो।'


अर्को उडान कहिले हुन्छ भन्ने जिज्ञासा उनले भन्न नसकिने जवाफ दिए।

कात्तिक १३, २०८१ मंगलबार १७:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।