नेपाली कप्तान एन्जिला भन्छिन् ‘ उपाधि जित्नुको विकल्प छैन’
काठमाडौँ : नेपाली फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बंगलादेशविरुद्धको फाइनल जसरी पनि जित्ने गरी मैदान उत्रिने बताइन्।
मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली टिम अहिले फर्ममा रहेको भन्दै उनले भनिन् ‘हामी गर्छौँ, हामी जित्छौँ भन्ने नारा नै’ छ। हामी जित्ने मनस्थिति सहित मैदानमा उत्रिने छौँ।’
अहिलेको टिमले साफको ट्रफी नजिते अर्को ५–१० वर्ष लाग्ने भन्दै उनले अहिले नेपाली टिमको बण्डिङ राम्रो रहेको बताइन्।
सन् २०२२ को फाइनलमा नेपाल बङ्गलादेशसँगै पराजित भएको थियो। बुधवार हुने फाइनलमा धेरैले बदला लिने अवसरको रूपमा लिएका छन्।
एन्जिलाले बंगलादेशविरुद्ध बदला लिने भन्दा पनि उपाधि जित्न नेपालका लागि अवसर रहेको बताइन्।
नेपालले साफ महिला च्याम्पियनसिपको ६ मध्ये ५ संस्करण फाइनल खेल्दा जहिले पनि उपाधि विमुख भएको छ। २०२२ को फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो।
नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपाल फाइनलका लागि तयार रहेको र जित्नका लागि खेल्ने बताए।
सेमिफाइनलमा भारतविरुद्धको नतिजाबाट उत्साहित देखिएका प्रशिक्षक तामाङले गल्ती कमीकमजोरी सच्याएर टिमले खेल्ने बताए।
बङ्गलादेश टिमकी कप्तान सविना खातुनले नेपालसँगको फाइनल चुनौतीपूर्ण हुने बताउँदै उपाधि रक्षाका लागि मैदान उत्रने उल्लेख गरिन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मङ्गलवार नै साफ महिला च्याम्पियनसिपको ट्रफी पनि सार्वजनिक गरेको थियो। दुवै टिमका कप्तान र प्रशिक्षकले ट्रफीसँगै फोटोसुट गरेका थिए।
महिला साफ च्याम्पियनसिपको फाइनल खेल बुधवार हुँदै छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे फाइनल हुनेछ।
कात्तिक १३, २०८१ मंगलबार १६:३९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।