धनतेरसमा शेयर बजारको उपहार, परिसूचक ४६ अंकले बढ्यो,कारोबार रकम दोब्बर वृद्धि

धनतेरसमा शेयर बजारको उपहार, परिसूचक ४६ अंकले बढ्यो,कारोबार रकम दोब्बर वृद्धि

काठमाडौँ : तिहारका धनतेरसको दिन मङ्गलवार सेयर बजारका सबै सूचक बढ्दा परिसूचक ४६.६९ अङ्क बढेको छ। मङ्गलवार परिसूचक २६९२ कायम भएर बजार बन्द भयो।

सोमबार शेयर बजारमा ५ अर्ब ३३ करोडको कारोबार भएको थियो। मङ्गलवार कारोबार रकम बढेर ६ अर्ब १२ करोड पुग्यो। मङ्गलवार बिहान ११ बजे बजार खुलेदेखि तीन बजे बजार बन्द नभएसम्म हरियाली छायो।

मङ्गलवार दिनभर २ सय २१ कम्पनीको मूल्य बढ्दा १७ कम्पनीको घटेको थियो। ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर नै रह्यो। तर समग्रमा सबै समूहका सूचक बढेर बजार बन्द भयो।

मङ्गलवार निर्जीवन बीमा समूह सबैभन्दा धेरै ३.६ प्रतिशत बढ्यो। बैङ्किङ १.६०, विकास बैङ्क २.३२, फाइनान्स ०.३८, होटेल तथा पर्यटन २.७७, हाइड्रोपावर २.०३, लगानी १.३६, जीवन बीमा १.८०, उत्पादन ०.९७, माइक्रोफाइनान्स १.५, अन्य १.५७ तथा व्यापार समूह ०.३५ प्रतिशत बढेको थियो।

मङ्गलवार चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। सप्तकोसी विकास बैङ्क, सानिमा जीआईसी इन्स्योरेन्स, कुथेली बुकरी स्मल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैङ्कको मूल्य १० प्रतिशत बढ्यो। समाज लघुवित्तको ९.१८, माउन्टेन इनर्जीको ७.३४, खानीखोला हाइड्रोको ६.७, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ६.५ प्रतिशत मूल्य बढेको थियो।

मङ्गलवार दिनभरको कारोबार रकमका आधारमा समृद्धि फाइनान्स, पिपुल्स हाइड्रोपावर, सप्तकोसी विकास बैङ्क, जानाकी फाइनान्स र साहस ऊर्जा क्रमशः अगाडि रहेका थिए।

कात्तिक १३, २०८१ मंगलबार १५:२३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।