‘रविजीलाई बचाइदिनुपर्यो लौ न’ भन्दै डीपी र सन्तोष बालुवाटार छिरेको विष्णु रिजालको दाबी
काठमाडौं : एमाले केन्द्रीय सदस्य विष्णु रिजालले रास्वपा उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टी सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ताको हारगुहार गरेको दाबी गरेका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो दाबी गरेका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘दिनभरि प्रधानमन्त्रीका विरूद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राति/राति कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुपर्यो लौ न’भनेर हारगुहार गर्दा हुन्?’
राजनीतिमा धैर्य र इमान चाहिने भन्दै उनले थपेका छन्, ‘यति हेक्का राखे हुन्छ- राजनीतिमा धैर्य र इमान चाहिन्छ। जे गर्छ, कानूनले गर्छ। डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरे जस्तो उहाँले चाहँदैमा मुद्दा फिर्ता सम्भव हुन्न।’
पार्टी सभापति रवि लामिछाने सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेपछि रास्वपा आन्दोलित छ। बालुवाटारमा प्रदर्शनमा रहेका उनीहरूमध्ये सांसद् अशोककुमार चौधरीसहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कात्तिक १३, २०८१ मंगलबार १३:१२:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।