सांसद चौधरीसहित रास्वपाका १७ कार्यकर्ता पक्राउ
काठमाडौं : प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद् अशोककुमार चौधरीसहित १७ नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार काठमाडौंको बालुवाटारमा विरोध प्रदर्शनका क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
‘शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले गरेको यो दमन र गिरफ्तारीविरुद्ध घोर भर्त्सना गर्दछौँ’, उनले भनेका छन्।
प्रहरीले नियन्त्रणमा लिएकाहरूमा रास्वपाका सांसद अशोककुमार चौधरी, उक्त पार्टीका काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, ताप्लेजुङ जिल्ला सभापति वीरेन्द्रकुमार श्रेष्ठलगायत नेता-कार्यकर्ता रहेका बुर्लाकोटीले बताए।
पार्टी सभापति रवि लामिछाने सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेपछि रास्वपा आन्दोलित भएको हो।
कात्तिक १३, २०८१ मंगलबार १३:०२:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।