दर्शकको दुर्व्यवहारविरुद्ध भारतले साफमा उजुरी गर्ने
काठमाडौं : काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आइतबार भएको नेपाल र भारतबीचको खेलमा दर्शकले गरेको दुर्व्यवहारविरुद्ध अखिल भारतीय फुटबल संघले साफमा उजुरी दिने भएको छ।
भारतीय फुटबल संघले एक विज्ञप्ति निकालेर सेमिफाइनलमा भएको घटनामा भारतको ध्यानाकर्षण भएको बताउँदै यसबारे साफमा उजुरी गर्ने र उचित मञ्चमा यो विषय उठाउने जनाएको छ।
बंगलादेशमा भएको १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप पनि भारतले यस्तै अवस्थाको सामना गर्नुपरेको उल्लेख गर्दै उसले यस्तो क्रियालाप फुटबलको विकासको लागि राम्रो नहुने बताइएको छ।
आफ्नो खेलाडी प्रशिक्षक र कर्मचारीहरूको सुरक्षा सबैभन्दा पहिलो प्राथमिकता रहेको भन्दै भारतीय फुटबल महासंघले खेलबाहिर पनि आफ्ना खेलाडी, प्रशिक्षक र सपोर्ट स्टाफलाई धक्का दिएको आरोप लगाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको यस खेलमा एक घण्टा भन्दा लामो समय रोकिएको थियो भने पटक–पटक अवरुद्ध भएको थियो।
पहिलो पटक स्ट्राइकर रेखा पौडेललाई दोहोरो पहेँलो कार्ड दिँदै भुटानी रेफ्रीले बाहिर गरेपछि नेपाली टिमले त्यसमा असहमति जनायो। त्यसपछि भीडले बोत्तल फ्याँक्दा सहायक रेफीले लाइन छोड्नुपरेको थियो।
त्यसक्रममा १२ मिनेट रोकिएको खेल पुनः शुरु भएपछि भारतले ६२औं मिनेटमा गोल गरेको थियो। भारतका लागि संगीता बसफोरले लङ रेन्जको बललाई गोलपोस्टको जाली चुमाएकी थिइन्।
भारतीय खेलाडी गोलको खुसी मनाइरहेको बेला भुटानी रेफ्री ओम चुकीले खेल सुरु गर्न आदेश दिएपछि नेपाली खेलाडीले खाली पोस्टमा गोल गरेका थिए। तर, त्यसलाई रेफ्रीले गोल नदिएपछि खेल लामो समयसम्मक लागि रोकियो।
रेफ्रीको निर्णय नसच्चिएसम्म खेलमा नफर्कने नेपालको अडानका कारण खेल एक घण्टाभन्दा बढी समय रोकियो। यद्यपि जरिवाना र प्रतिबन्ध लगाउने चेतावनीपछि नेपाल खेल्न तयार भएको थियो। खेल शुरु भएलगत्तै नेपालका लागि सावित्रा भण्डारीले गोल गरिन् र खेल बराबरीमा पुग्यो।
त्ससपछि भएको पेनाल्टी सुटआउटमा नेपालले ४–२ गोल अन्तरले नेपालले जितेको थियो।
कात्तिक १३, २०८१ मंगलबार १२:३१:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।