विश्वकप लिग-२ मा आज नेपालले स्कटल्याण्डको सामना गर्दै
काठमाडौं : आईसीसी विश्वकप लिग-२ मा मंगलबार नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।
अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रेरी रंगशालामा हुने खेल आज साँझ सवा नौ बजेदेखि शुरू हुनेछ।
नेपालले आज खेल्न लागेको लिग-२ को दशौं खेल हो। अहिलेसम्म खेलिसकेको ९ खेलमध्ये ८ खेलमा नेपाल पराजित भएको छ।
नेदरल्याण्ड्सलाई गत फेब्रुअरीमा ९ विकेटले पराजित गरेको थियो। त्यसयता लिग-२ को खेलमा नेपाल जितविहीन छ।
लिग-२ खेल्ने आठ देशमध्ये नेपाल अंकतालिकामा सातौं स्थानमा छ। अमेरिका र स्कटल्याण्डसँग त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले २८६ रन बनाउँदा पनि आइतबार पराजित हुन पुगेको थियो।
स्कटल्याण्डसँग पछिल्लो पाँच भेटमा नेपालले २ जित र ३ हारको नतिजा निकालेको छ। यसअघि अघिल्लो वर्ष लिग-२ कै त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु मैदानमा स्कटल्याण्डलाई दुवै खेलमा पराजित गरेको थियो।
अमेरिकामै लिग-२ खेल्नुअघि नेपालले घरेलु टोलीसँग टी-२० सिरिज खेलेको थियो। त्यतिबेला नेपालले सिरिज क्लिन स्विप गरेको थियो। लिग-२ को खेलमा भने नेपाल २ विकेटले पराजित हुन पुगेको हो।
कात्तिक १३, २०८१ मंगलबार ०९:३६:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।