चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुँदै, विजेताले २५ हजार रूपैयाँ पाउने
चतरा : सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ। चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी कार्तिक १६ मा प्रतियोगिता आयोजना हुने बताइएको छ।
'पर्यावरण प्रवर्द्धन र एकता, खेल पर्यटनमा विविधता' भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताका विजेता क्रमशः पहिलो, दोस्रो र तेस्रोले नगद २५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ र १० हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्।
आज धरानमा आयोजित पत्रकार सम्मेलनमा संयोजक नवराज विष्टले नेपालकै सबैभन्दा ठुलो चतरा नहरमा यो खेल आयोजना हुन लागेको जानकारी दिए।
'यो खेल सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेलिने गरिन्छ। चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर यो खेल खेलिन्छ, प्रतियोगिताको जानकारी दिँदै संयोजक विष्टले भने, पानीको सतहमा उक्त ढुङ्गा कतिपटक उफ्रिन्छ त्यसको गणना गर्ने गरिन्छ र सबैभन्दा बढी अङ्क प्राप्त गर्नेलाई विजेता घोषणा गरिन्छ।'
क्यामेरा प्रविधिबाट प्रतियोगिताको निर्णय गर्ने चतरा हाइकिङका संस्थापक विजयकुमार राउतले बताए।
उनका अनुसार गत वर्ष यो प्रतियोगितामा स्थानीय राहुल लिम्बू पहिलो, राजेन्द्र कार्की दोश्रो र लक्ष्मण कटुवाल तेस्रो भएका थिए। उनीहरुले क्रमश: ५ हजार, ३ हजार र २ हजार रूपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका थिए।
यो खेल अमेरिका, आयरल्यान्ड, स्कटल्याण्ड लगायत देशमा नदी, ताल र जाम पानीमा प्रत्येक वर्ष प्रतियोगिताको रूपमा खेलिने गरिन्छ। गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन २०१३ मा यो खेलमा रेकर्ड राखेका छन्।
कात्तिक १२, २०८१ सोमबार २०:०१:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।