व्यापारीबाट दानमा कार्यालय लिन नहुने अडान छाडेनन् पाण्डे र तिमिल्सिनाले, कारबाही गर्न आवश्यक नभएको स्पष्टीकरण बुझाए

व्यापारीबाट दानमा कार्यालय लिन नहुने अडान छाडेनन् पाण्डे र तिमिल्सिनाले, कारबाही गर्न आवश्यक नभएको स्पष्टीकरण बुझाए

काठमाडौं : एमालेले व्यापारी मीनबहादुर गुरुङबाट जग्गा दान दिएको विषयलाई सार्वजनिक रूपमा विरोध गरेका दुई नेतृले पार्टीलाई स्पष्टीकरण बुझाएका छन्। 

आज स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले पार्टीलाई स्पष्टीकरण पत्र बुझाए। तर, उनीहरू दुवैले स्पष्टीकरणको जवाफमा माफी मागेका छैनन्। 

मीनबहादुर गुरुङबाट जग्गासहित केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णयप्रति पाण्डे र तिमिल्सिनाले सार्वजनिक रूपमै असन्तुष्टि जनाएर निर्णय फिर्ता लिन नेतृत्वलाई सुझाव दिएका थिए। 

त्यसपछि बसेको एमाले सचिवालय बैठकबाट महासचिव शंकर पोखरेलले एक साताको समय दिएर पाण्डे र तिमिल्सिनालाई स्पष्टीकरणपत्र पठाएका थिए। त्यसको म्याद आज सकिएको छ। 

‘… पार्टीको प्रतिष्ठा र मर्यादामा आँच पुर्याउने देखिएकाले पार्टी केन्द्रीय सचिवालयको ३९ औं बैठकको निर्णय अनुसार तपाईंलाई सोही विधानको धारा ८१ बमोजिमको कारबाही किन गर्न नपर्ने हो?’ स्पष्टीकरण पत्रमा सोधिएको थियो।

त्यसैको जबाफमा स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमिल्सिनाले आफूहरूमाथि कारबाही गरिनुपर्ने आवश्यकता नरहेको भनेका छन्।

‘दान दिने व्यापारीबारे सचिवालय बैठकमा जानकारी नदिइएको भनेर पार्टीकै पदाधिकारीहरूले मिडियामा बोलेको विषयमाथि मैले टिप्पणी गरेको हुँ’ स्पष्टीकरण पत्रको जवाफबारे पाण्डेले भनिन्, ‘मैले बोलेको कुरा मेरो व्यक्तिगत हो, त्यसैले कारबाही गर्न आवश्यक छैन भनेर जवाफ पठाएको छु।’

तर, ब्यापारीबाट दानमा कार्यालय लिन नहुने अडानमा कायमै रहेको उनले बताइन्। 

‘...अभिव्यक्तिले पार्टीको गरिमा र छविलाई माथि उठाउने हो घटाउने होइन। फेसबुकमा लेखेको र सार्वजनिक रूपमा बोलेको कुरामा तथ्यहरूले गल्ती भन्दैनन्’, स्पष्टीकरणमा भनिएको छ। 

केन्द्रीय सदस्य तिमिल्सिनाले पनि आफ्नो अभिव्यक्तिले पार्टीलाई अहित नगरेको बताइन्। 

‘मैले जे बोलेको हुँ, त्यो कुराले पार्टीको मर्यादा घट्दैन, बढ्छ। एमालेको ओज बढाउने कुरा गर्दा मलाई कारबाही गर्नु आवश्यक छैन,’ उनले भनिन्। 

जबाफमा उनले आफ्नो अभिव्यक्तिले पार्टीलाई पारदर्शी र जवाफदेही बनाउन सहयोग पुग्ने भनेकी छन्।  

कात्तिक १२, २०८१ सोमबार १९:४२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।