कान्ति बाल अस्पतालको रिएजेन्ट खरिदमा मिलेमतो, अस्पताल निर्देशक डा.रायसहितको विरुद्धमा अख्तियारमा उजुरी

कान्ति बाल अस्पतालको रिएजेन्ट खरिदमा मिलेमतो, अस्पताल निर्देशक डा.रायसहितको विरुद्धमा अख्तियारमा उजुरी

काठमाडौँ : कान्ति बाल अस्पतालले रि-एजेन्ट खरिदका लागि गरेको टेन्डर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। ‘कान्ति बाल अस्पतालको रि-एजेन्ट खरिदमा भइरहेको सेटिङ र यसको कमिसनको खेल’ बारे उकेराले समाचार प्रकाशित गरेको थियो।

सो खरिद प्रक्रियामा बदनियत रहेको भन्दै सोमबार छानबिनको मागसहित उजुरी परेको हो। उजुरीमा मिलेमतोमा खरिद प्रक्रिया नै गोलमाल बनाएर खरिद विज्ञले समेत सेटिङको भेउ पाउन मुस्किल हुनेगरी सरकारी रकमको दुरुपयोग गर्दै व्यापारीसँग पाँच वर्षसम्म निरन्तर कमिसन लिने गरी प्रक्रिया अगाडि बढेको दाबी गरिएको छ।

कान्ति बाल अस्पतालका निर्देशक डा. पङ्कज रायसहितको संलग्नतामा खरिदमा मिलेमतो गरिएको भन्दै उजुरीमा डा राय सहितमाथि छानबिनको माग गरिएको छ।

अस्पतालले अस्वाभाविक रूपमा पाँच वर्षसम्म एउटै सप्लायर्सको रि-एजेन्ट लिनेगरी टेन्डर दिने तयारी गरेको विषयको समाचार उकेराले सम्प्रेषण गरिसकेको छ। यो टेन्डरमा मेसिन निःशुल्क लिने सकारात्मक प्रक्रिया देखाएर रि-एजेन्टमा मिलेमतो गरी सेटिङ अनुसार नै चाहेकै सप्लायर्स कम्पनीलाई टेन्डर दिने रणनीति देखिन्छ।

उकेराले २०८१ कार्तिक ६ गते बुधवार  ‘कान्ति अस्पतालको टेन्डरमा बदनियत : मेसिन निःशुल्क ल्याएर रि-एजेन्टमा असुली, निश्चित कम्पनीसँग मात्र मिल्नेगरी प्याकेजका सर्त नै लक्ड’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो।

उजुरीमा अस्पतालका निर्देशक, खरिद, स्टोर, फार्मेसी, लेखा, प्रशासन, ल्याबलगायतमा काम गर्ने कर्मचारीको सम्पत्तिको समेत छानबिन गर्न माग गरिएको छ।

कान्ति बाल अस्पतालले रि-एजेन्ट खरिदका लागि २०८१ असोज ३ मा  टेन्डर आह्वान गरेको थियो। रि-एजेन्ट खरिदका लागि भएको अस्पतालको यो टेन्डरको ठेक्का नम्बर ‘एनसीबी नम्बर: केसिएच-एनसिबी-८१-८२-०५’ रहेको छ।

यस्तो एक खाम विधि (सिङ्गल स्टेज सिङ्गल इन्भोलप)बाट गरिएको टेन्डर भएकाले प्राविधिक र आर्थिक दुवै प्रस्ताव एकै चोटि खुल्ने भएकाले सेटिङ अनुसार नै खरिद प्रक्रिया अघि बढिरहेको देखिन्छ। कान्ति बाल अस्पतालले रि-एजेन्ट खरिद गर्न छ वटा प्याकेजमा ल्याब सम्बन्धी रि-एजेन्ट खरिदका गर्न सेटिङ अनुसार नै प्रक्रिया अगाडि बढाएको देखिन्छ।

कात्तिक १२, २०८१ सोमबार १९:३६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।