कात्तिक १८ को ११:३७ बजे भाइटीकाको शुभ साइत

कात्तिक १८ को ११:३७ बजे भाइटीकाको शुभ साइत

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ।

यही कात्तिक १८ को बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ। 

समितिका अनुसार नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने छ। 

यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक १३ देखि सुरू हुँदैछ। मङ्गलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ। यमदीपदान भने कात्तिक १४ मा परेको छ। 

कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ। आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि त्यही दिन मनाइन्छ। 

कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ मा मनाउनुपर्छ। कात्तिक १६ औँसी परेको छ। त्यसदिन भने तिहारको कुनै पर्व नपरेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

कात्तिक १७ मा गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ। यसैगरी कात्तिक २२ मा छठ पर्व परेको समितिले जनाएको छ। 

कात्तिक ११, २०८१ सोमबार १९:२०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।