साम्बा : रेफ्री शुक्राले राष्ट्रका लागि खोजेको दुर्लभ उपहार
काठमाडौँ : आइतबार दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिपको नेपाल-भारतबीचको सेमिफाइनलको खेलमा केन्द्रमा रहिन् सावित्रा भण्डारी उर्फ साम्बा।
पहिलो हाफसम्म खेलमा फर्किन नसकेकी उनी जब भारतविरुद्धको गोलले मान्यता पाएन अनि आफ्नो अग्रेसिभ फर्ममा आइन्।
पहिला गोलको सङ्केत दिएर पनि पछि भारतीय खेलाडीको विरोधपछि फिर्ता लिने होस् या गल्ती नै नगरी पहेँलो कार्ड दिने रेफ्रीको निर्णय रिसाउने कारण पर्याप्त थियो।
त्यसमा पनि प्राय फाइनलमा पुग्न अवरोध बन्दै आएको भारतले दोस्रो हाफमा लिड गरिरहेको अवस्थामा गोल फर्काएर बराबरी गर्नु नेपालका लागि फाइनलमा पुग्ने सम्भावनाको ढोका खुल्नु पनि थियो।
नेपालको विरोधपछि पनि रेफ्री टसमस नभएपछि सम्भावित कारबाहीको जोखिम हटाउन नेपाली खेलाडी मैदानमा फर्किए। मैदानमा फर्कँदा नेपाली खेलाडीमा खेल कौशल त थियो, इख पलाउनु सामान्य नै हो।
अन्तर्राष्ट्रिय क्लबमा खेलेर स्वदेश फर्किएकी साम्बाले खेल कौशल देखाउँदै रेफ्रीले चाहेर पनि अवैध ठहर्याउन नसक्ने उत्कृष्ट गोल फर्काइन्। नेपाल-भारत बराबरको अवस्थामा पुग्यो।
यो बिचमा पनि साम्बाले नेपालको स्कोर बढाउने प्रयास नगरेकी हैन, तर डिबक्समा पुगेपछि फिनिसिङमा चुक्दा सम्भव भएन। अन्तमा निर्णय पेनाल्टीमा पुग्यो। भारतीय खेलाडीको एक बल पोलमा ठोक्कियो। अर्को बल नेपाली गोलकिपरले सहजै रोकिदिइन्।
साम्बासहित नेपालका कुनै खेलाडी पनि पेनाल्टीमा चुकेनन्। अन्याय भएको नेपाली टिमले न्याय पाए,भारत सेमिफाइनलमा पराजित भयो।
मैदानमा देखिएको साम्बाको दुर्लभ दृश्य
खेलको क्रममा गोल हुँदा उत्साहित भएर पुरुष खेलाडीले मैदानमा जर्सी खोल्नु सामान्य दृश्य भए पनि महिला फुटबलमा यो दुर्लभै मानिन्छ। विवादपछि नेपाली खेलाडी मैदानमा उत्रिए लगत्तै जब साम्बाले गोल गरिन् उनले त्यही दुर्लभ दृश्य देखाइन्।
गोल भएकोमा खुसी र अन्यायपूर्ण निर्णयमा बदला लिन सकेकोमा खुसी र आक्रोश दुवै मिसिएपछि उनले आफूलाई रोक्न सकिनन् र जर्सी खोलेर फ्याँकिन। उनको खुसीमा नेपाली दर्शक पनि मिसिए।
मैदानको छेउमा राखिएको प्रायोजक खल्तीको बोर्डमा लात्ताले हानेर च्यातिदिइन्। पछि सम्हालिएर नौ नम्बर जर्सी लिँदै दर्शकतिर देखाइन्। खेल परिणाम आफ्नो पक्षमा आइसकेपछि उनले भनिन् 'त्यो बेलामा के गरियो थाहै हुन्न।’
राष्ट्रिय टिमलाई शुक्राको उपहार
लमजुङको सिमपानीमा रहेको मध्यम परिवारकी सदस्य साम्बाको खेल कौशल पहिचान गरेर राष्ट्रिय टिमसम्म ल्याउनेमा पर्छन् रेफ्री शुक्रा लामा। लामाको खोजलाई तिखार्ने काम गर्यो एपिएफ क्लबले।
बेलैमा शुक्राको आँखामा उनी नपरेको भए उनको यो तहसम्मको यात्रा यति छिटै सम्भव हुन्थ्यो या हुन्थेन यसै भन्न सकिन्न।
फुर्सदमा घाँस दाउरा अनि कपडाको फुटबलबाट यात्रा सुरु गरेकी उनी २०७२ वैशाखमा जब घले गाउँमा भएको महिला फुटबल प्रतियोगितामा सहभागी भइन्, त्यहीँबाट उनको व्यवसायी फुटबल यात्राको ढोका खुल्यो।
छरिती सावित्राको खेल कौशल देखेर रेफ्री शुक्रा छक्क परे। त्यही खेलमा सावित्राको फोन नम्बर लिएर काठमाडौँ आए उनी। लगत्तै उनलाई सशस्त्र प्रहरी बलको क्लबबाट खेल्ने प्रस्ताव आयो।
परिवारले ‘छोरी मान्छे एक्लै जान हुन्न’ भनेर रोक्न खोजे पनि उनले मानिनन् र महिनाको पाँच हजार पारिश्रमिक पाउने गरी एपिएफ क्लबमा करारमा आबद्ध भइन्।
एपिएफमा आबद्ध भएपछि सावित्राले चितवनमा आयोजित राष्ट्रिय महिला लिगमा ८ गोल गरिन्। यही प्रदर्शन राष्ट्रिय टिममा प्रवेशका लागि पर्याप्त भइहाल्यो।
सन् २०१४ मा तेस्रो साफ च्याम्पियनसिपको नेपाली राष्ट्रिय टोलीको सदस्य भइन् सावित्रा। यो बेलासम्म सावित्रा साम्बा भइसकेकी थिइन्। साफ च्याम्पियनसिपमा भुटान विरुद्ध उनले ८ गोल गरिन्।
त्यसपछि पछाडि फर्किएर हेर्ने नपरेको साम्बाले गोल सङ्ख्या ५५ पूर्याइसकेकी छिन्। उनी अहिले फुटबल प्रेमी नेपालीका लागि भरपर्दो खेलाडी बनिसकेकी छिन्।
राष्ट्रिय मात्र हैन, फुटबलको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत अगाडि बढिरहेकी छिन् उनी। अन्तर्राष्ट्रिय क्लबमा आबद्ध भएर टुर्नामेन्टहरु खेलिरहेकी उनी गार्जिनयमा फिचर्ड हुने महिला खेलाडीको तहसम्म पुगिसकेकी छिन्।
अब नेपाली दर्शकको पर्खाई बंगलादेशविरुद्धको साफ महिला च्याम्पियनसिपको फाइनल हो, जहाँ साम्बाले ट्रफी उचालेको दृश्य हेर्न सबै व्यग्र प्रतीक्षामा छन्।
कात्तिक १२, २०८१ सोमबार १८:२४:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।