रवि पक्राउलगत्तै नाराबाजी र आन्दोलन गर्नु पनि अपराध नै हो : एमाले

रवि पक्राउलगत्तै नाराबाजी र आन्दोलन गर्नु पनि अपराध नै हो : एमाले

काठमाडौं : एमालेका मुख्य सचेतक महेश बर्तौलाले रवि लामिछाने पक्राउ हुनेबित्तिकै नाराबाजी र आन्दोलन गर्नु विधिको शासनमा अवरोध सिर्जना गर्ने काम आफैंमा पनि अपराध भएको बताएका छन्।

काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले अनुसन्धानको प्रक्रिया बल्ल सुरू हुँदा अदालतले फैसला गरे जसरी हुल गरेर आन्दोलन गर्नु राम्रो नभएको भन्दै न्याय माथिको अवरोध मान्य हुन नसक्ने बताए।

उनले भने, ‘एउटा मुद्दामा धेरै प्रकारको प्रक्रिया हुन्छ, त्यसैले कसैलाई फसाउन, कसैलाई बदनाम गर्न सरकारले चाहेर हुँदैन। विधि र कानुन अनुसार हुन्छ। तर, अनुसन्धानको प्रक्रिया बल्ल सुरू हुँदै छ, अदालतले फैसला गरे जसरी हुल, नाराबाजी, आन्दोलन गरेर फलानो व्यक्ति निर्दोष छ किन समाएको, किन राजनीतिक प्रतिशोध राखियो भन्नु जायज होइन।’

उनले लोकतन्त्रमा विधिको शासनमा अवरोध सिर्जना गर्ने काम आफैंमा अपराध भएको भन्दै न्याय माथिको अवरोध मान्य हुन नसक्ने बताए। 

उनले सरकार सुशासन प्रवर्द्धन गर्नका लागि कानून बमोजिम काम गर्ने भन्दै कसैको अनुहार हेरेर र कुन राजनीतिक पार्टीसँगको आबद्ध छ भनेर कानूनले काम नगर्ने बताए।

उनले भने, ‘एकजना कोही आरोपित वा आशंकित व्यक्तिलाई समाउनेबित्तिकै यस्तो गतिविधि ठिक होइन। सरकार सुशासन प्रवर्द्धन गर्नका लागि कानूनीबमोजिम काम गर्छ, अनुहार हेरेर होइन। त्यसको आधारमा राज्यको अनुसन्धान गर्ने निकायहरूलाई सरकारले प्रभावित गर्दैन।’  

पूर्वगृहमन्त्री जस्तो भइसकेको मान्छेले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने पनि उनको भनाई छ। 

कात्तिक १२, २०८१ सोमबार १८:२१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।