केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौं : मन्त्री गुप्ता

केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौं : मन्त्री गुप्ता

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने बताएका छन्।

उनले आफूले मन्त्रालयको नेतृत्व सम्हालेयता अधिकांश स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापन गरिसकेको र बाँकी रहेका केही ठाउँमा पनि अब चाँडै कर्मचारी व्यवस्थापन हुने बताए। 

आफू मन्त्रालय आउँदा पूरै खाली रहेको जिल्ला समन्वय समितिमा आवश्यक कर्मचारी र ५७ वटा जिल्लामा प्राविधिक जनशक्ति (इन्जिनीयर)समेत पठाइसकेको उनको दाबी छ। उनले केही खाली रहेका नगर/गाउँपालिकाहरूमा पनि अब चाँडै कर्मचारी व्यवस्थापन गरिने बताए। 

करिब एक दशकदेखि एकै ठाउँमा रहेर काम गरिरहेका एक हजार २५८ जना कर्मचारी र अन्य कर्मचारीहरूलाई विभिन्न ठाउँमा सरुवा गरेर मन्त्रालयले प्रशासनिक क्षेत्रको कामलाई व्यवस्थित र चुस्तदुरुस्त बनाउने प्रयत्न गरेको मन्त्री गुप्ताको भनाइ छ।

उनले भने, ‘नौ/नौ-दश/दश वर्षदेखि एकै ठाउँमा रहेर काम गरिरहनुभएका एक हजार २५८ जना कर्मचारीलाई एकैदिन सरुवा गरी विभिन्न ठाउँमा पठाएका छौँ। हामी राम्रो तालमेल मिलाएर काम गरिरहेका छौँ। भर्खरै आउनुभएका ३८औँ ब्याचका अफिसर/अधिकृतहरूलाई पनि पालिकामै पठाएका छौँ।’

पालिकाहरूमा कर्मचारी छैनन् र निमित्तको भरमा चलिरहेका छन् भन्ने दिनको अन्त्य गर्न आफूले भरपूर पहलकदमी लिइरहेको उनको भनाइ छ।

एकैचोटी ठूलो सङ्ख्यामा कर्मचारी सरुवा गर्दा विभिन्न तहबाट उच्च दबाब आफूले झेलेको सम्झना गर्दै उनले भने ‘कामको सन्दर्भमा आउने यस्ता दबाबको अगाडि झुक्ने बानी मेरो छैन र झुक्दिनँ पनि।’ 

उनले कर्मचारी सरुवासम्बन्धी नियमावली मन्त्रालयबाट पारित गरी आवश्यक राय–सुझावका लागि कानुन मन्त्रालय पठाइएको जानकारी दिए।

मन्त्रालय सम्हालेको तीन महिनाको अवधिमा संघीय निजामती विधेयकमाथिको छलफलले तीव्रता पाएको र आगामी संसद अधिवेशनबाट सो विधेयक पारित गराउने उनको विश्वास छ।  

कात्तिक १२, २०८१ सोमबार १६:४६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।