'जनतालाई यो सरकारले भ्रष्टाचार निवारण गर्छ भन्ने लागेकै छैन'

'जनतालाई यो सरकारले भ्रष्टाचार निवारण गर्छ भन्ने लागेकै छैन'

काठमाडौं : माओवादी केन्द्रका सांसद हितराज पाण्डेले सरकारले भ्रष्टाचारको फाइललाई सक्रियताकासाथ टुङ्गोमा पुर्याउँछ भन्ने विषयमा जनतामा आशंका रहेको बताएका छन्।

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले सरकारले जनताले अनुभूति गर्ने काम गर्न नसकेको भन्दै भ्रष्टाचारको फाइललाई सक्रियताकासाथ टुङ्गोमा पुर्याउँछ भन्ने विषयमा जनतामा आशंका पैदा भएको बताए।

उनले प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले भ्रष्टाचार न्यूनीकरण गर्न लागि परेको तर, यो सरकारप्रति आशंका रहेको सुनाए।  

उनले भने, ‘अहिले जनताको तहमा जति भ्रष्टाचार निवारणका कुरा होस् या अरू विषयमा सरकारी निकायले जनताले अनुभूति गर्ने गरेर काम गरेका हामीलाई लागेको छैन। अहिले देशमा भएका भ्रष्टाचारका फाइल धेरै छन्। विगतको सरकारले जसरी यसलाई अघि बढाउन खोजेको थियो, त्यसलाई सक्रियताकासाथ टुङ्गोमा पुर्याउने काममा अख्तियारले अघि बढाउँछ भन्ने विषयमा थुप्रै आशंकाहरू पैदा भएका छन्।’

राज्य व्यवस्था समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमाथि छलफल भइरहेको छ। छलफलमा अख्तियारका प्रमुख आयुक्त राई पनि उपस्थित छन्।

कात्तिक १२, २०८१ सोमबार १६:०२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।