रास्वपालाई गृहमन्त्रीको जबाफ 'सरकारले कानुन विपरीत कसैलाई प्रतिशोध साध्ने, दुःख दिने काम गर्दैन'
काठमाडौं : गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताएका छन्।
सोमबार सिंहदरबारस्थित प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सरकार भ्रष्टाचार निवारण, नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्नका लागि भ्रष्टाचारलाई पूर्ण रुपमा निर्मूल गर्न कानुन र विधेयकहरू प्रस्तुत भएको बताए।
उनले भने, ‘प्रस्तुत विधेयक चाँडो भन्दा चाँडो समितिबाट टुंगो लगाएर आउने अधिवेशनमा यसलाई पूर्णता दिने कुरामा समितिले काम गरिदेओस् भन्ने सरकारका तर्फबाट आग्रह छ। विधेयक प्राथमिकतामा छन्, तुरुन्त पारित गरेर कानुन बनाउनुपर्छ।’
उनले आउँदो अधिवेशनबाट पूर्ण रुपले पारित गरेर कार्यान्वयन गर्न र प्रचलनमा ल्याउन समितिले टुंगोमा पुर्याएर संघीय संसदको अधिवेशनमा प्रस्तुत गर्न आग्रहसमेत गरे।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐन सम्बन्धी ऐनलाई समसामयिक रुपले परिमार्जन र संशोधन गर्न विधेयकहरू प्रस्तुत गरिएका छन् जुन सम्मानित समितिमा विचाराधीन रहेको अवस्था छ,’ उनले भने।
गृहमन्त्री लेखकले भ्रष्टाचार, ठगी वा अरू अपराधजन्य घटनामा सबै आरोपितमाथि अनुसन्धान हुने भन्दै हापे, ‘कुनै काखापाखा हुन्न। सत्ता पक्ष प्रतिपक्ष हेरिन्न। मुख हेरिन्न, तथ्य हेरेर गरिन्छ।’
सरकारले कानुन विपरीत कसैलाई प्रतिशोध साध्ने, दुःख तथा हैरानी दिने काम नगर्ने उनको दाबी छ।
‘अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुन्छ। अदालतबाट अनुमति लिनुपर्ने ठाउँमा न्यायालयबाट अनुमति लिइन्छ,’ उनले भने।
त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले रास्वपा सभापति रवि लामिछाने १२ लाख भोट ल्याएको पार्टीको सभापति भएको भन्दै लामिछानेलाई न्याय दिन र थुना बाहिर राखेर अनुसन्धान गर्न गृहमन्त्रीसँग अनुरोध गरेकी थिइन्।
कात्तिक १२, २०८१ सोमबार १५:४८:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।