रवि चुनावमा १२ लाख मत ल्याएको पार्टीको सभापति हो, थुना बाहिर राखेर अनुसन्धान गरियोस् : रास्वपा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले रास्वपा सभापति रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न गृहमन्त्रीलाई आग्रह गरेकी छन्।
सोमबार सिंहदरबारस्थित प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद कार्कीले थुनाबाहिर राखेर अनुसन्धान गर्न सकिन्छ कि भन्ने सोचिदिन गृहमन्त्रीसामु विशेष आग्रह गरिन्।
‘रबि लामिछानेको मुद्दामा निष्पक्ष र न्यायसङ्गत छानबिन होस्। प्रमाणको आधारमा गृहले काम गरोस्,’ उनले भनिन्।
रवि पक्राउ परेपछि रास्वपाले गरिरहेको विरोध प्रदर्शनबारे उनले आफूहरूले न्यायालयलाई प्रभावित पार्न नखोजिएको दाबी गरिन्।
‘रास्वपाले न्यायालयलाई प्रभावित गर्न खोजेको होइन। १२ लाख नेपालीले पत्याएको दलको शुभचिन्तक भेला भएर चिन्तन गर्नु सामान्य हो। रवि लामिछानेको मुद्दा अदालतमा पुगेको छैन। अहिले प्रहरीमा मात्र पुगेको हो। हामीले आन्दोलन गलत मनसायले गरेको हैन,’ उनले भनिन्।
सहकारी ठगि प्रकरणमा कात्तिक २ मा पक्राउ परेका रास्वपा सभापति रविमाथि कास्की प्रहरीले जिल्ला अदालत कास्कीबाट दोस्रोपटक म्याद थापा गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
कात्तिक १२, २०८१ सोमबार १५:३६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।