भैरहवा उडानका लागि फ्लाइ दुवई र जजिराको आक्रमक प्रचार
बुटवल : नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरू गर्न लागेका विमान कम्पनीहरूले आक्रमक प्रचार थालेका छन्।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्तिक २४ गतेदेखि कुवेतको जजिरा एयरवेज र कार्तिक २५ गतेदेखि फ्लाइ दुवईले उडान भर्दैछन्। उडानको मिति नजिकिँदै गर्दा दुवै एयरलाइन्स कम्पनीहरूले टिकट बुकिङ खुला गरेर प्रचारमा जुटेका हुन्।
जजिराले बुद्ध जन्मस्थल लुम्बिनीको तस्बिरलाई आफ्नो वेबसाइटमा राखेर टिकट बुकिङ खुला गरेको प्रचार गरेको छ। यदि जजिराबाट भैरहवा हुँदै कुवेत उडान गरेको अवस्थामा यात्रुले काठमाडौंबाट सस्तोमा उडान गर्न पाउनेछन्।
जजिराको वेबसाइटमा उल्लेख भए अनुसार कुवेतबाट भैरहवा आउने एकतर्फी भाडादर १४ हजार ४८३ रूपैयाँ रहेको छ। सोही मितिमा कुवेतबाट काठमाडौं आउन भने २१ हजार ९५० रूपैयाँ उल्लेख छ। यसरी हेर्दा काठमाडौं आउनुभन्दा भैरहवामा आउन यात्रुले ७ हजार सस्तो टिकट पाउनेछन्।
वेबसाइटमा उल्लेख भए अनुसार कार्तिक २४ गते भैरहवाबाट कुवेत जान ५३ हजार नेपाली पर्छ। वेबसाइटमा भैरहवाबाट कुवेतको टिकट ३९६ डलर देखाएको छ।
सोही मितिमा काठमाडौंबाट कुवेत जान भने ५६ देखि ६० हजार लाग्ने वेबसाइटमा उल्लेख छ। जस अनुसार भैरहवाबाट कुवेत उडान गर्न ३ हजारदेखि सात हजार रूपैयाँसम्म कम पर्ने देखिन्छ।
जजिराले कुवेतबाट भैरहवा र काठमाडौं आउने टिकटलाई आफ्नो वेबसाइटमा दिराममा रकम उल्लेख गरेको छ भने भैरहवा-काठमाडौं बाट कुवेतका लागि टिकटदर डलरमा राखेको छ। अहिले तोकिएको दररेट डलरको भाउ तलमाथि भएमा केही रकम यसमा थपघट हुनेछ।
त्यति मात्र होइन, जहाजको टिकट सिजन र यात्रुको चाप अनुसार ह्वात्तै बढ्ने र घट्ने गर्दछ। तर, जहाज कम्पनीले सहुलियत पाएका कारण काठमाडौं भन्दा भैरहवाबाट उडान गर्दा यात्रुहरूले पनि केही सस्तोमा उडान गर्न पाउँछन्।
भैरहवाबाट उडान गर्ने जहाजलाई ग्राउण्ड ह्याण्डलिङ, ल्याण्डिङ, पार्किङ निःशुल्क छ। त्यस्तै टिकट कर र इन्धनमा समेत सहुलियत पाएका छन्। कुवेतबाट आएको जजिरा एयरलाइन्सको विमान मंगलबार, बिहीबार र शनिबार बिहान साढे ७ बजे भैरहवामा अवतरण गर्नेछ।
फ्लाइ दुवईको पनि टिकट बुकिङ खुला
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न फ्लाइ दुवईले पनि टिकट बुकिङ खुला गरेको छ। जस अनुसार यही कात्तिक २५ गतेबाट हप्ताको सातै दिन दुवई-भैरहवा-काठमाडौं उडान हुनेछ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले टिकट बुकिङ खुला गरेको बताए। फ्लाइ दुवईले भैरहवा अवतरण गरेपछि सोही दिन काठमाडौं जानेछ।
दुबई यूएईको राष्ट्रिय ध्वजावाहाज वायुसेवा कम्पनी फ्लाइ दुवई दिउँसो १ः४५ मा जहाज भैरहवा अवतरण गर्नेछ। भैरहवाबाट २ः४५ मा उडेर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ः३० मा अवतरण गर्नेछ। भैरहवाबाट दुबई जान चाहनेले काठमाडौंमा एक घण्टा मात्र ट्रान्जिटमा बसे हुन्छ।
०००
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनसँगै साढे दुई वर्षअघि जजिराले भैरहवाबाट उडान थालेको थियो। व्यावसायिक कारण देखाउँदै उसले बीचमा उडान रोकेको थियो। सरकारले विभिन्न सहुलियत उपलब्ध गराएपछि जजिराले फेरि भैरहवाबाट उडान शुरू गर्न लागेको हो।
यता काठमाडौंबाट चार र भैरहवाबाट चार गरी सातामा ८ वटा उडान भर्ने अनुमति पाएको थाइ एयर एसियाको भने तत्काल सबै उडान रोकिएका छन्।
महाप्रबन्धक तिवारीका अनुसार हिमालय एयरलाइन्सलाई पनि उडान सञ्चालन गर्न ताकेता गर्दै आइएको छ। एयर अरेबियाले पनि भैरहवाबाट उडान गर्न आन्तरिक तयारी गरिरहेको छ।
सरकारले ४२ अर्ब लगानीमा निर्माण गरेको विमानस्थल उद्घाटनपछि उडानविहीन रहेको विमानस्थलमा अन्तर्राष्ट्रिय उडान थाल्ने वायुसेवा कम्पनीको अनुमति पनि निजी क्षेत्र उत्सािहत छ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले अब भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान शुरू हुन लागेको खवरले शिथिल बनेको अर्थतन्त्र थप चलायमान हुने अपेक्षा गरेको बताए।
‘हाम्रा पर्यटकिय नगरी थप चलायमान हुनेछन्। अब विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरू भएपछि हाम्रो ध्यान पर्यटकको कसरी बसाई लम्बाउन सकिन्छ भन्ने योजना बनाउने र कार्यान्वयन तर्फ जोड दिन जरुरी छ’, उनले भने।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यष लेखनाथ भण्डारीले पर्यटकहरू लक्षित योजना सरकारले बनाउनुपर्ने बताए।
‘हामी पर्यटकहरू स्वागत गर्न आतुर छौँ। सरकारले पनि प्याकेज बनाएर पर्यटकहरूलाई यहि बसाल्ने योजना ल्याउनुपर्छ’, उनले भने।
८०० विगाहा क्षेत्रफलमा फैलिएको गौतमबुद्ध विमानस्थलमा तीन किलोमिटरको ‘रनवे’ छ। फोर ई क्याटोगोरीको विमानस्थलमा नवौं क्याटोगोरीका वारुणयन्त्रहरू छन् भने चारवटा न्यारोबडी र एउटा वाइडबडी गरी ५ वटासम्म अन्तर्राष्ट्रिय विमान पार्किङ गर्नसक्ने क्षमता छ।
कात्तिक १२, २०८१ सोमबार १४:१४:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।