नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाल लाइफ पाठशालाको अनावरण
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला)को आज काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच अनावरण गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त प्लयाटफर्ममा लग इन गरी उक्त लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला)को अनावरण गरेका हुन्।
उक्त कार्यक्रममा नेपाल लाइफका उच्च पदस्थ अधिकारीहरू, पेशागत बीमा अभिकर्ता संघ नेपालका प्रतिनिधिहरू तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उपस्थित सबैलाई स्वागत गरे। उनले नेपालको जनसङ्ख्यामा युवा जनशक्तिको हिस्सा दक्षिण एसियामा नै सबैभन्दा बढी भएको र यो ऊर्जावान शक्तिलाई उद्यमशीलतामा लगाउन सके देशको आर्थिक विकास सहजै हुने सार्गर्भित विचार व्यक्त गरे।
भूमण्डलीकरणको कारणले विश्व एउटा डिजिटल डिभाइसमा समेटिन पुगेको र यसको प्रयोग गर्दै आर्थिक स्वतन्त्रता प्राप्त गर्न सबै युवालाई आग्रह गरे।
नेपाल लाइफले ल्याएको यस प्लेटफर्मका कारण अब घरै बसीबसी आफ्नो अनुकूल समयमा बीमा अभिकर्ताको तालिम लिन सकिने र यसले बीमाको प्रचारप्रसार तथा विस्तारमा अतुलनीय भूमिका निर्वाह गर्ने पराजुलीले बताए।
हालको लागि नेपाल बीमा प्राधिकरणले तर्जुमा गरेको पाठ्यक्रमको आधारमा बीमा अभिकर्ताको आधारभूत तालिमको लागि श्रव्य दृश्यहरू निर्माण गरी सञ्चालनमा ल्याइएको र आगामी दिनमा कर्मचारीको सिप ज्ञान अभिवृद्धिका निम्ति पनि कार्यहरू थालनी गर्ने कुरा बताए।
यसका साथसाथै उहाँले निकट भविष्यमा नै बीमाको महत्व र बीमा सम्बन्धी सम्पूर्ण जानकारीहरू एउटै प्लयाटफर्ममा उपलब्ध गराउने अभिप्रायका साथ यस प्ल्याटफर्मलाई सशक्त बनाउँदै जाने पनि बताए।
सोही अवसरमा यस कम्पनीले बीमाको नवीकरण शुल्क दाखिला तथा बिमा योजना अन्तर्गत लिएको कर्जाको भुक्तानी गर्नका निम्ति कम्पनीले सञ्चालनमा ल्याएको डाइनामिक क्यूआरको पनि प्रयोग गरी घरै बसीबसी सहजताका साथ भुक्तानी गर्न पनि सबैमा आग्रह गरे।
कार्यक्रममा बोल्दै यस कम्पनीका नायब महाप्रबन्धक उमापति पोखरेलले पहिला भौतिक उपस्थितिमा तालिमहरू प्रदान गर्दै आएकोमा यस प्लेटफर्मले त्यो परिस्थितिको अन्त्य गरेको कुरा बताए। अब बीमा अभिकर्ता बन्ने दृढ इच्छाशक्ति भएको खण्डमा भौतिक तालिमनै लिन कुर्न नपर्ने र आफ्नो अनुकूल समयमा तालिम लिई बीमालाई नेपालीको घर–घरमा पुर्याउन सकिने कुरा बताए।
बीमा उद्योगमा यस्तो प्रविधिमैत्री प्ल्याटफर्मको विकास गर्ने पहिलो कम्पनीको रुपमा नेपाल लाइफ रहेको र यसले सम्पूर्ण नेपाल लाइफकर्मीलाई गौरवान्वित बनाएको समेत बताए।
कार्यक्रममा तालिम विभागका प्रमुख रोजेश बस्नेतले उक्त प्लयाटफर्मको उपयोगिता र प्रयोग गर्ने तरिकाको बारेमा आफ्नो प्रस्तुतिकरण गर्नुभएको थियो। सूचना प्रविधि विभागका प्रमुख शरदचन्द्र प्याकुरेलले डाइनामिक क्युआरको प्रयोग कसरी गर्ने र त्यसको उपयोगिता माथि प्रकाश पारे।
पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका सचिव तेजमणि शर्मा तिमल्सिनाले कम्पनीले सञ्चालनमा ल्याएको प्लयाटफर्मले तालिम प्रक्रियालाई सहज बनाउने बताए। साथसाथै उनले आगामी दिनमा पनि प्रविधिमैत्री कार्यहरूमा नेपाल लाइफको अग्रसरता कायम रहनेमा आफू निर्धक्क रहेको बताए। यस प्लयाटफर्मले अभिकर्तालाई झन् सहज हुने कुरा समेत बताए।
कार्यक्रममा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपालका वरिष्ठ उपाध्यक्ष नारायण दाहालले प्रविधिमैत्री प्लयाटफर्मको अनावरण समारोहमा आफू सामेल हुन पाएकोमा खुसी भएको बताए।
विगतका कुराहरू स्मरण गर्दै उनले करिव दुई दशक अगाडी बीमा अभिकर्ताको तालिम नियामक निकायले मात्र प्रदान गर्ने गरेको र हालको दिनमा घरै बसीबसी तालिम लिन सक्ने अवस्थाको सिर्जना गर्न नेपाल लाइफ सफल भएकोमा कम्पनीको मुक्तकण्ठले प्रशंसा गरे।
आगामी दिनमा पनि ग्राहकको सेवालाई केन्द्रबिन्दुमा राखेर विभिन्न प्रविधि मैत्री कार्यहरू कम्पनीबाट हुनेमा पनि आशावादी रहेको बताए।
कात्तिक १२, २०८१ सोमबार १३:५९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।