अनमोलले ‘सुपरस्टार’ भन्दा गजक्क माग्नेबुढा

अनमोलले ‘सुपरस्टार’ भन्दा गजक्क माग्नेबुढा

काठमाडौं : कलाकारहरू एक-अर्कालाई स्टार दिन पछि पर्दैनन्। एकले अर्कोलाई फुर्क्याउनका लागि भए पनि स्टार, सुपरस्टार भन्दै फुर्क्याउन खप्पिस मानिन्छन्।

यहीबीचमा आफूलाई मोगास्टारमा रूपमा लिँदै आएका अभिनेता अनमोल केसीले छक्का पञ्जाका कलाकार केदार घिमिरे (माग्ने बुढा)लाई सुपरस्टार भन्दिए। कार्यक्रमको माहोल नै तात्ने भइहाल्यो।

सोमबार ललितपुरको बंगलामुखी मन्दिरमा फिल्म ‘जेरी अनटप’को मुर्हत कार्यक्रममा राखिएको थियो। निर्माण टिमले फिल्मका कलाकार अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, विपना थापा, केदार घिमिरे (माग्ने बुढा)लगायतको उपस्थिति रहेको थियो।

तर, अभिनेता भुवन केसी भने घरकै कामले उपस्थित भएनन् भन्ने चर्चा चल्यो। सोही कार्यक्रममा भुवन केसी पहिला र अहिले पनि सुपरस्टार रहेको भन्दै कलाकारले एकअर्काको बयान गर्न थाले। त्यही बेलामा अभिनेता अनमोल केसीले केदार घिमिरेलाई अहिलेको सुपरस्टार भन्दै एउटा ट्याग भिराइदिए।

अनमोल केसीले सुपरस्टारको ट्याग भिराएपछि केदार मख्ख पर्दै मुसुमुसु हाँसे। अनमोलले अझै उनको तारिफमा समय खर्चिए। आफूले केदार घिमिरेको फिल्म ‘छक्का पञ्जा’ हेरेको र पछाडी बसेर उहाँको सिनमा ताली बजाउने गरेको बताएपछि केदार घिमिरेलाई के चाहियो र! उनी पनि मख्ख पर्दै मुसुमुसु हाँस्दै मुन्टो हल्लाए।

अनमोलले भने, ‘यो फिल्ममा जसिता गुरुङ जोडिएको छ। आँचल जोडिएको छ,’ उनले केदार घिमिरेलाई हातले देखाउँदै भने, ‘हाम्रो सुपरस्टार केदार दाई जोडिनुभएको छ भने बिपना थापा, मेरो बुबा पनि।’

छक्का पञ्जा टिम बाहेक केदार घिमिरेले यसअघि पूजा शर्माको फिल्म ‘राम कहानी’मा अभिनय गरेका थिए। उनको यो फिल्मले हलमा पानी समेत भन्न पाएको थिएन।

छक्का पञ्जा भन्दा बाहिरको टिममा काम गर्न डराएका केदारले आलोचना खेपेपछि यो फिल्ममा जोडिएका हुन्। आफूलाई स्टार नै ठानेका र अनमोलले भने जस्तो केदार सुपरस्टार नै हुन् त? यसको जवाफ फिल्म ‘जेरी अनटप’ रिलिज कुर्नैपर्ने हुन्छ। 

कात्तिक १२, २०८१ सोमबार १३:११:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।