मेलम्चीको पानी ल्याउन सफल भएको भन्दै मन्त्री यादवलाई सम्मान
काठमाडौं : मेलम्चीको पानी ल्याउन सफल भएको भन्दै खानेपानीमन्त्री प्रदीप यादवलाई सम्मान गरिएको छ।
काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले कोटेश्वरमा स्वागत तथा धन्यवाद ज्ञापन कार्यक्रम–२०८१ को आयोजना गरी सम्मान गरेको हो।
कार्यक्रमलाई सम्बाधेन गर्दै मन्त्री यादवले काठमाडौं उपत्यकावासीका लागि बाह्रै महिना शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन आफू पूर्ण प्रतिबद्ध रहेका बताए।
मन्त्री यादवले काठमाडौं उपत्यकामा खानेपानीको समस्यालाई अल्पकालीन र दीर्घकालीन रूपमा समाधान गर्न सरकारले ठोस कदम चालिरहेको बताए।
उनले भने, ‘मानिसलाई पानी नभइ नहुने चिज हो, पानी बिना बाँच्न सकिदैन, काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि ठोस कमद चाल्छौँ।’
काठमाडौं उपत्यकामा हेलम्बुवासी, नागरिक समाज एवं जनप्रतिनिधिहरूको साथ र सहयोगका कारण यसवर्ष समयमै मेलम्चीको पानी ल्याउन सफल भएको बताउँदै उनले सम्पूर्ण मेलम्चीवासीलाई धन्यवाद समेत व्यक्त गरे।
दक्षिणकालीका नागरिक, मेलम्चीवासीहरूसँग हात जोडेर आफूले काठमाडौं उपत्यकामा पानी ल्याउन सफल भएको बताउँदै मन्त्री यादवले सरकारले नागरिकका गुनासा र मागलाई सम्बोधन गर्नुपर्ने बताए।
यसैगरी मन्त्री यादवले खानेपानी मन्त्रालय नागरिकका समस्या र गुनासाहरु सम्बोधन गर्नका लागि सधै अग्रसर रहेको बताए।
कात्तिक १२, २०८१ सोमबार १२:३०:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।