अस्फाल्ट प्लान्टबाट निस्किने धुँवाले वीरेन्द्रनगर प्रदुषित बनाएको भन्दै उच्चमा रिट

अस्फाल्ट प्लान्टबाट निस्किने धुँवाले वीरेन्द्रनगर प्रदुषित बनाएको भन्दै उच्चमा रिट

सुर्खेत : सडक कालोपत्रेका लागि अलकत्रा बनाउँदा अस्फाल्ट प्लान्टबाट दैनिक निस्कने धुवाँले सिङ्गो वीरेन्द्रनगर क्षेत्रलाई नै प्रदुषित बनाएको भन्दै उच्च अदालत सुर्खेतमा रिट निवेदन दर्ता गरिएको छ। रिटमाथि आज सुनुवाइ हुँदैछ।

आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश संयोजक नारायण सुवेदी, अधिवक्ता प्रकाश बाबु ऐडी र सामाजिक अभियन्ता नवराज बोहराले उक्त  प्लान्टविरुद्ध अन्तरिम आदेश सहितको परमादेश लगायतका आदेश जारी हुनुपर्ने माग गर्दै रिट दायर गरेका हुन्।

वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, सुर्खेत उपत्यका नगर विकास समिति,  जिल्ला प्रशासन कार्यालय, वीरेन्द्रनगर नगरपालिका ६ नम्बर वडा कार्यालय र खड्का निर्माण सेवा बाँकेलाई विपक्षी बनाएर रिट दर्ता भएको छ।

वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्क छेउमा बिगत २ वर्षदेखि खड्का निर्माण सेवाले उच्च प्लान्ट चलाइरहेको छ।

रिट निवेदकहरूले वायु प्रदूषणले प्रत्येक वर्ष गम्भीर चिन्ताको विषय बन्दै गइरहेको परिप्रेक्षमा प्रदूषित वातावरणकै कारण हृदयरोग, श्वासप्रश्वास सम्बन्धी दीर्घरोग र क्यान्सरजन्य रोगहरू मानवको मृत्युका प्रमुख कारण बनेको भन्दै नेपालको संविधान र वातावरण संरक्षण नियमावली, २०७७ लाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

त्यस्तै हरेक मुलुकले स्वच्छ वातावरणलाई कानूनी रूपमा नै मानव अधिकारसँग जोडिरहेको र वातावरणीय प्रदूषण वा ह्रासबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुने कुरा समेत संविधानमा उल्लेख भएको अवस्थामा उक्त प्लान्टबाट संवैधानिक व्यवस्था समेतलाई अनदेखा गरेको कार्य निकै दु:खद् रहेको रिटमा उल्लेख गरिएको छ।

यता कुनै वाधाविरोध र रोकावट विना ३० दिनसम्म लगातार काम गर्न पाए सुर्खेतको वीरेन्द्रनगर ६ मंगलगढीचोक नजिकै सञ्चालनमा ल्याइएको अस्फाल्ट प्लान्ट तुरुन्तै बन्द गर्ने निर्माण कम्पनीले जनाएको छ।

अक्सफाल्ट प्लान्टका कारण उत्पन्न समस्याको पहिचान तथा समाधानका लागि सुर्खेत प्लान्ट वाणिज्य संघले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको सर्वपक्षीय अन्तरक्रियामा निर्माण कम्पनीले यस्तो जनाएको हो।

निर्माण कमपनीका प्रतिनिधि व्यवसायी लिलाराज उपाध्यायले अबको दुई महिनामा कालोपत्रेको सम्पूर्ण काम सकिने र ३० दिनमात्र प्लान्ट सञ्चालन गर्न पाए काम सकिने बताएका छन्।

कात्तिक १२, २०८१ सोमबार ०९:४८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।