२८६ रन बनाउँदा पनि हार्‍यो नेपाल, अमेरिका तीन विकेटले विजयी

२८६ रन बनाउँदा पनि हार्‍यो नेपाल, अमेरिका तीन विकेटले विजयी

काठमाडौं : नेपाल आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँग ३ विकेटले पराजित भएको छ।

जित्नलाई २ सय ८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।

अमेरिकाको जितमा ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित सर्वाधिक १०४ रनको शतकीय इनिङ खेले।

उनले विश्वकप छनोट २०२३ मा जिम्बावेमा नेपालविरुद्ध पनि शतक हानेका थिए।

कप्तान मोनांक पटेल ७६ बलमा ५ चौकासहित ६२ रनमा आउट भए। दोस्रो विकेटलाई मोनांक पटेल र शयानले १६१ रनको साझेदारी गर्दै बलियो अवस्थामा पुर्याए।

मोनांकलाई २९औं ओभरको पाँचौं बलमा ललित राजवंशीले बोल्ड आउट गर्दा अमेरिका १६५-२ को अवस्थामा थियो।

त्यसपछि कुशल भुर्तेलले शयानलासँगै साइतेजा मुकामल्लालाई ११, मिलिन्द कुमारलाई ५ र सन्जय कृष्णमुर्तीलाई शून्यमा आउट गरेपछि अमेरिका १९७-६ को अवस्थामा पुगेको थियो।

तर, सातौं विकेटका लागि हरमित र शाड्लीले ७१ रनको महत्वपूर्ण साझेदारी गरेपछि नेपाल पराजित भयो।

हरमित सिंहले ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रन जोडे। विजयी छक्का हानेका शाड्ली २७ र जसदीप सिंह ११ रनमा नटआउट रहे।

नेपालका कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए। सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट लिए।

त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो।

नेपालका कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रनको इनिङ खेलेका थिए।

ओपनर आसिफ शेख ५३ बलमा ७ चौका र १ छक्कासहित ५२ तथा अनिल साह ६२ बलमा ५ चौकासहित ५६ रनमा आउट भए।

नेपाललाई ओपनर अनिल साह र आसिफ शेखले १५.४ ओभरमा ९८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए पनि त्यसपछि रोहित बाहेक अन्य ब्याटरले राम्रो गर्न सकेनन्।

कुशल भुर्तेल ११, आरिफ शेख ३७, दीपेन्द्रसिंह ऐरी १३, गुल्सन झा १ र सोमपाल कामी २ रनमा आउट भए। अमेरिका स्पिनर नोष्थुश केन्जिगेले १० ओभरमा ५२ रन खर्चेर ४ विकेट लिए।

हरमीत सिह, शाड्ली भान शाक्ली र जसदीप सिंहले १-१ विकेट लिए। नेपालले अव मंगलबार स्कटल्यान्डसँग खेल्नेछ।

नेपाल लिग २ मा ९ खेलमा ७ मा हार, १ मा जित र १ खेलमा अंक विहीन हुँदै ३ अंकका साथ सातौं स्थानमा छ। अमेरिका १० खेलमा ७ मा जितसहित १४ अंकका साथ दोस्रो स्थानमा छ।

कात्तिक १२, २०८१ सोमबार ०७:१८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।