स्वास्थ्यमन्त्रीको फास्टट्रयाक निर्णय : तीन सङ्घीय अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचारमा पैसा नलाग्ने

स्वास्थ्यमन्त्रीको फास्टट्रयाक निर्णय : तीन सङ्घीय अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचारमा पैसा नलाग्ने

काठमाडौँ : फास्ट ट्र्याकमा विभिन्न निर्णय गर्दै आएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार तीन वटा सङ्घीय अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरे।

यस अगाडि उनले सरकारी अस्पतालको टिकटका लागि लाग्ने लाइन पुरै हटाउने, विभिन्न सङ्घीय अस्पतालमा मुटुको उपचारको सेवा विस्तार गर्ने अनि सङ्घीय अस्पतालहरूमा एक्स-रे लगायतको परीक्षणमा प्रयोग गरिने फिल्म प्रिन्ट गर्ने प्रक्रिया हटाएर डिजिटल गर्ने घोषणा गरेका थिए।

उनले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै  काठमाडौँको कान्ति बाल अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णय गरेका हुन्।

मन्त्रालयका अनुसार यो निर्णय मंसिर १ कार्यान्वयनमा आउने छ। एक तथ्यांक अनुसार नेपालमा नसर्ने रोगबाट हुने मृत्युदरमा ११ प्रतिशतको मृत्युको कारण क्यान्सर हुने गरेको छ। नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ।

कात्तिक ११, २०८१ आइतबार १८:५६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।