नाजिरसँग फरक संवाद : ‘यत्रो फिल्ममा अभिनय गरिसकेँ तर अझै नाजिर पनि हिरो हो र ! भन्नेसम्म सुनेको छु’
हिन्दु आमा अनि मुस्लिम बाबुका सन्तान नाजिर हुसेन बाराको मिश्रित समाजमा हुर्किएर काठमाडौं छिरे। अभिनयको भूत सवार थियो उनमा। त्यसैले न दिदीले भनेको सुने उनले, न त अन्यको। विदेशमा नाटकको अध्ययन गरेर रङ्गमञ्चमा बबाल गर्ने योजना बनाउँदा बनाउँदै फिल्म क्षेत्रमा प्रवेश गरे उनी। जति फिल्ममा अभिनयको मौका पाए आफ्नो तर्फबाट उत्कृष्ट काम गरे।
सँगै अभिनयमा प्रवेश गरेकाहरूको अभिनय अझै पनि निखारिन बाँकी नै हुँदा पनि बजारमा उनीहरूकै माग छ। चर्चा उनीहरूकै सुनिन्छ। ‘गुन्युचोली’ अनि ‘अगस्त्य’मा दमदार अभिनय गर्दा पनि अझै ‘नाजिर पनि हिरो हो र!’ भन्ने आलोचना सुनेका छन् उनले। उनलाई कता-कता लाग्दो रहेछ ‘म मधेश अनि मुस्लिम समुदायको सदस्य नभएको भए, म पनि गोरो भएको भए...’
उनै नाजिरसँग पर्दाको जीवन हैन, पर्दा बाहिरको जीवनबारे केन्द्रित भएर उकेराकर्मी भोला अधिकारीले गरेको फरक संवाद :-
बाल्यकालको मिठो सम्झनाबाटै संवाद शुरू गरौँ न!
छरछिमेकमा कुनै न कुनै साइनो लगाएर बोलाउने चलन छ। काका, मामा यस्तै-यस्तै साइनो लगाएर बोलाइन्छ। गाउँमा बिजुली बत्ती पनि आएको थिएन। ठकुरी मामा हुनुहुन्थ्यो, उहाँ मादल बजाउन एकदम सिपालु। मेरो आमाजीलाई पनि एकदमै मादल बजाउन मन लाग्ने। साँझको समयमा खाना खाइसकेपछि आमा, मामा लगायतहरूले मादल बजाएर गीत गाउनुहुन्थ्यो। हामी केटाकेटीहरू नाच्ने गर्थौं। बढो मजा आउँथ्यो। अहिले सम्झँदा पनि आनन्द आउँछ।
कस्ता खालका गीत हुन्थे?
गाउँमा दुई-तीन घर मुस्लिम समुदायको अनि बाँकी हिन्दुको। त्यहाँ भोजपुरी, पहाडी अझ तामाङ भाषा पनि चल्थ्यो। ‘डाँडा गाउँ’ भन्ने बस्ती थियो। त्यहाँ प्राय तामाङ भाषा बोलिन्थ्यो। तर, हाम्रो आमा, मामा, काका, काकीहरूले ‘काली पारे दाइ कति राम्रो’ जस्ता भाकाका गीत गाउनुहुन्थ्यो। हिन्दी भाषाका पुराना गीत पनि गाउनुहुन्थ्यो।
कला क्षेत्रमा लाग्ने प्रेरणाको प्रारम्भ त्यही हो?
गीतको शब्दहरूले तान्थ्यो मलाई। नाच्न पनि मनपर्ने। त्यसैको प्रभाव पक्कै हो।
कविता पनि लेख्नुहुन्छ। यो युवाकालको प्रभाव हो कि बाल्यकालदेखिकै अभ्यास?
कक्षा पाँचमा पढ्दा ‘मुना’ पत्रिका आउँथ्यो। त्यो समयमा खत्रै थियो त्यो। अञ्चलस्तरीय कविता प्रतियोगिता हुँदा मेरो कविता पनि त्यसमा छापिएको थियो, फोटोसहित। फोटोसहित पत्रिकामा आफ्नो कविता छापिएपछि त मलाई के-के नै भए जस्तो भयो नि! त्यहि बेलादेखि लेखनमा पनि रुचि जाग्यो।
स्कुलमा ध्रुवप्रसाद पोखरेल सरले छन्द सिकाउनु भयो। त्यतिबेलाको प्रभावले होला ‘प्लस टु’मा मैले नेपाली विषय लिएर पढेँ। अहिले पनि लेख्न मनपर्छ। पढ्न त लतै बराबर छ। किताब नभई बस्नै सक्दिन।
इमोसनल्ली मेमोरी भनेको छ, फर्मको कुरा गरेको छ, किताब पढ भनेको छ, कविता पढ भनेको छ। के-के हो, के-के। हैरानै भएँ नि म त!
कवि हुनुपर्ने मान्छे कलाकार भए जस्तो पो सुनियो त!
कलाकारको मन कविको जस्तै त हुन्छ। कोमल मन नभई अभिनय गर्न कहाँ सकिन्छ त! कविता पनि लेखिरहेको हुन्छु। कतिपय ठाउँमा वाचन पनि गर्छु। तर, अभिनयमा अलिक बेग्लै खालको लगाव छ।
अझै पनि मुस्लिम समुदायले मनोरञ्जन क्षेत्र रुचाएको देखिँदैन। गाह्रो भएन?
आमा-बुवाको प्रेम विवाह। आमा हिन्दु संस्कारबाट आउनुभएको अनि बुवा मुस्लिम समुदायको। त्यही भएर होला म एकदम धेरै बाँधिइन। तर, समस्या नै नहुने भने हैन। मेरो काकाहरू, हजुरआमाहरू नाचगान गरेको मन पराउनुहुँदैनथ्यो। तर, रोकै लगाउने अवस्था पनि थिएन।
तपाईंको हुर्काइबारे अलि बताउन मिल्छ कि!
म मुस्लिम परिवारमा जन्मिए पनि हुर्काइ अनि पढाइ हिन्दु समुदायमै भयो। त्यो बेला सिमरामा अलिक बढी मुस्लिम समुदायको बसोबास थियो। तर, वडा नम्बर ९ मा। मेरो घर चाहीँ वडा नम्बर ८ मा। त्यता हिन्दु बढी।
ईद हुँदा हामी नमाज पढ्न सिमरा जानुपर्थ्यो। सिमरा हाम्रो लागि शहर थियो, त्यो बेलामा। एयरपोर्ट थियो, प्लेन हेर्न पाउने लोभले खुसी हुँदै हिँडेर जान्थ्यौँ। ईदमा नमाज पढ्न जाँदा बेग्लै रौनक हुन्थ्यो।
म मस्जिदको अजानको आवाज सुनेर हुर्किएको पनि हुँ। तर, मेरो हुर्काइमा काका, माइजुले विहान घरमा पूजा गर्दा बजाउने घण्टीको आवाज अलि धेरै पर्यो।
अभिनय क्षेत्रमा प्रवेशको पल सम्झनुहुन्छ?
घरको माहोल भनिहालेँ। स्कुलमा नाटक पनि गर्थ्यौँ। सडक नाटकहरू पनि गरेका थियौँ। त्यो बेलामा अभिनय भनेको थाहा त थिएन तर गर्दा बढो आनन्द आउने।
नाटकमा संवाद बोल्दा पनि कति ठूलो काम गरे जस्तो लाग्थ्यो। १२/१३ वर्षको उमेरमा नै बुवाको भूमिका खेल्दिन्थेँ। कराईको पिँधको कालोले जुङ्गा बनायो, दिदीहरूको गाजल चोरेर दाह्री बनायो।
गाउँमा मंगलबार र शनिबार हाट बजार लाग्थ्यो। मंगलबार स्कुल लाग्ने भएर जान पाइदैनथ्यो। तर, शनिबार प्राय कुनै न कुनै नाटक मञ्चन गरिरहेका हुन्थ्यौँ।
त्यो समयमा अरु कुनै कलाकारको नाटक हेर्न पाइन्थ्यो कि!
पहिलो पटक राष्ट्रिय कलाकारको नाटक हेरेको राजन (राजन खतिवडा) दाइकै हो। त्यो पनि स्कुलमा।
राजन दाइ हाम्रो गाउँ नजिकैको। त्यतिबेला कान्तिपुर पत्रिकामा उहाँहरूले नाटक गरेको समाचार छापिन्थ्यो। गाउँमा पत्रिका आउँदा मेरो आँखा ‘कला-शैली’ पेजमै जान्थ्यो। एक दिन राजधानीमा ‘माइला डटकम’ नाटक चलिरहेको छ भनेर राजन खतिवडाको फोटो र नाम छापिएर आयो।
हाम्रो स्कुलको वार्षिक उत्सव कार्यक्रममा राजन दाइ नै आउनुभयो। उहाँले एकल प्रस्तुति गर्नुभयो अनि राजन दाइको अभिनय देखेपछि नबोलेर पनि नाटक बनाउन सकिने रैछ भन्ने बुझियो।
बाल्यकालमा नाच्ने-गाउने त भइहाल्छ। तर, कलाकारै बन्छु भन्नेसम्मको योजनामा पुगेको चरण छ कि कुनै?
मलाई नाच्न एकदमै रहर थियो। नाच्न भनेपछि केही नचाहिने स्वभाव। गाउँमा, काठमाडौंमा डान्स सिकाउँदैछ भन्ने हल्ला चल्यो। मेरो दाजु निकै अगाडि काठमाडौं आइसक्नु भएको थियो। डान्सको हल्ला चलेको बेलामा कक्षा ११ को परीक्षा ठ्याक्कै सकिएको थियो। मौका मिल्यो अनि काठमाडौं आएर डान्स सिकेँ।
डान्स सिक्दा नेदरल्याण्ड्सका एक जना डान्स टिचर हुनुहुन्थ्यो। उहाँले ‘तेरो आँखा कस्तो बोल्छ, तेरो अनुहारमा अभिनय नदेखिए पनि आँखामा देखिन्छ, तैले नछोड्, काठमाडौंमा थिएटर छ, ट्राइ गर्’ भनेर मेरो दिमागमा अभिनयको किरा हाल्दिनुभयो। म कलाकार हुनुमा त्यसैको प्रभाव हो। गाउँ फर्किएपछि पनि अलि कला बुझ्न थाले जस्तो लाग्यो।
सुने अनुसार तपाईं स्कुलमा जागिरे हुनुहुन्थ्यो रे, हो?
ठिक सुन्नुभयो। म पढ्दापढ्दै गाउँकै स्कुलमा पढाउथेँ। सरकारी स्कुल भए तापनि पढाउन विद्यालय व्यवस्थापन समितिले कोटा निकाल्थ्यो। त्यो कोटामा म परेको थिएँ।
प्राथमिक विद्यालयमा मैले कक्षा पाँचसम्मलाई पढाएँ। त्यतिबेला मेरो तलब दुई हजार/२५ सय यस्तै थियो। रहर थियो पढाउने। पैसा नै नदिए पनि म गएर पढाइदिन्थेँ। स्कुलमा डान्स पनि सिकाएँ। सडक नाटक पनि छोडिन।
परिवारले जे गरे पनि हुन्छ भनेर पूरै स्वतन्त्र छाडेको थियो कि क्या हो?
कहाँ हुनु! दबाब त भइहाल्छ नि! प्रहरीमा जागिर खाओस् भनेर दबाब थियो नि! तर, मैले नै पेलपाल गरेर अभिनयमै लागेँ।
उता स्कुल पढाउने मान्छे, यता काठमाडौंको नाटक घरमा कसरी प्रवेश भयो त?
स्कुलमा पढाइरहेकै बेलामा नाटकको प्रशिक्षण लिन मन लाग्यो। अनि काम छाडेर सन् २०१० मा काठमाडौं आएँ। यता आएर मण्डलामा भर्ना भएँ।
मण्डलाको प्रवेशको अनुभव स्वीमिङ गर्न नआउनेलाई सिकोस् भनेर पानीमा फालिदिए जस्तै भयो। तर, सिक्दै गएँ।
दिदीले प्रहरीमा जागिर खाओस् भनेर ढिपी गर्नुभएको थियो। म उहाँसँगै बस्थे। दिदीले पुलिसमा जागिर खान्छस् कि गाउँ जान्छस् भन्नुभयो। पुलिस हुँदा पनि अभिनय गर्न पाइन्छ भन्नुहुन्थ्यो। सन्तोष पन्तले सेनामा जागिर खाएर पनि अभिनय गरेको स्मरण गराउनुहुन्थ्यो। तर मेरो मन मानेन।
नाटक गर्दा पैसा नहुने रैछ। दया दाइ (दयाहाङ राई), सिर्जना दिदी, राजन दाइहरू पैसा बटुलेर ल्याउनुहुन्थ्यो। एउटा नाटक देखायो अनि फेरि अर्को नाटक कसरी देखाउने भनेर सोच्नुपर्ने अवस्था थियो।
मण्डलामा नाटक सिक्दासिक्दै मेरो आमाजी बित्नुभयो। आमाजी बितेपछि भने जिन्दगीले अलिक फरक मोड लियो।
जस्तो?
आमाजी बितेपछि दाइ, दिदीहरूले आफूले भने अनुसार काम गरोस् भन्ने चाहनुभयो। दबाबै दिनुभयो। त्यो मेरै भलाइको लागि थियो, तर मेरो सोचाइ नाटकमा काम गर्ने थियो। त्यो समयमा उहाँहरूलाई म देखि रिस उठेको थियो होला, अनि मलाई पनि उहाँहरूसँग रिस उठेको थियो। यसले अलि तनाव बढायो।
उहाँहरूले चाहेको के थियो, भन्न मिल्छ?
दिदीले प्रहरीमा जागिर खाओस् भनेर ढिपी गर्नुभएको थियो। म उहाँसँगै बस्थे। दिदीले पुलिसमा जागिर खान्छस् कि गाउँ जान्छस् भन्नुभयो। पुलिस हुँदा पनि अभिनय गर्न पाइन्छ भन्नुहुन्थ्यो। सन्तोष पन्तले सेनामा जागिर खाएर पनि अभिनय गरेको स्मरण गराउनुहुन्थ्यो। तर मेरो मन मानेन।
मण्डलामा दाइहरूले, ‘यहाँ हाम्रो नाटक घर हुन्छ। हामी नाटक देखाउछौँ’ भनिरहनुहुन्थ्यो। दाइहरूको सपनासँगै मेरो पनि सपना मिसिइसकेको थियो। नाटक बाहेक अरु कुरा गरेकै मन नपर्ने भयो। अनि घर छोडेँ।
घर छोड्दा कठिन भएन?
भयो नि! कहाँ जाने, कहाँ बस्ने, के खाने टुङ्गै थिएन। मण्डलाको अगाडि हाम्रो अफिस थियो। दया दाइले यही मण्डलामा होस्टेल जस्तो बनाएर यहि बसौँ र सबै जना मिलेर नाटक घर बनाउन काम गरौँ भन्नुभयो। त्यसपछि मण्डला थिएटर बनाउन बालुवा चाल्ने, इँटा धुने, मसला बनाउने काम गर्दै त्यहि बस्यौँ।
त्यतिबेला म विजय बराल दाइ, बुद्धि तामाङ, प्रदीप चौधरी, सुरज यादव लगायत सात जना केटाहरू थियौँ। हामी त्यहीँ बस्ने, त्यहीँ पकाएर खाने, थिएटर बनाउन काम गर्ने गर्दागर्दै अनामनगरमा मण्डला ठडियो। पहिलो पटक ‘सुनकेशरी’ भन्ने नाटक पनि गरियो। पहिलो नाटकमा निकै मजा आयो।
त्यो बेलामा गुरुकुल पनि थियो। त्यता पनि जानुहुन्थ्यो रे हैन?
हो त। मण्डला नाटकघर बनाउँदा सेतो पुलबाट अलि माथि गुरुकुल थियो। जाडो मौसममा आगो ताप्ने बहानामा त्यहाँ पुग्थ्यौँ। के-के कुरा हुन्छ, कसले के भन्छन् भनेर सुन्न जाने हो वास्तबमा त। त्यहाँ मणि पोखरेल, विपिन कार्की, कमलमणि नेपाल, पशुपति राई, सौगात मल्ल लगायत थुप्रै दाइहरू हुनुहुन्थ्यो।
त्यसमध्ये सौगात मल्ल दाइ खासै बोल्नु हुँदैनथ्यो। उहाँहरू आफू-आफू गफ गर्दा ‘युरोप गएँ, इण्डिया गएँ, यहाँ गए, त्यहाँ गए, यस्तो भयो, त्यस्तो गरियो’ भन्ने कुराहरू गर्नुहुन्थ्यो। उहाँहरूको कुरा सुन्दा हामीलाई ‘हामी पनि जाउँला, नाटक गरौँला, देश-विदेश घुमौँला’ भन्ने लाग्थ्यो। इण्डियाको फलानो हिरो त सुनिल पोखरेलको साथी हो भन्ने गफ सुन्दा धेरै सपना बुनियो नि!
नाटकमा अभिनय गर्ने कलाकारहरू फिल्ममा अभिनय गर्न त्यति नरुचाउने समय थियो। फिल्म क्षेत्रमा प्रवेश कसरी भयो?
फिल्म हाम्रो पहिलो प्राथमिकतामा थिएन। दाइ-दिदीहरूको कुरा सुन्दा नाटक सम्बन्धी पढ्न विदेश जान्छु भन्ने सोच थियो। त्यतिबेला मण्डलामा एउटा मात्र कम्प्युटर थियो। एक जनाले, एक हप्तामा बल्ल चलाउन पाउँथ्यो।
मेरो पालो आएपछि नाटकका बारेमा खोज्थेँ। गुगल गरेर कता स्कलरसीप छ भन्नेमै मेरो ध्यान हुन्थ्यो। पढ्न कति योग्यता चाहिन्छ भनेर खोज्थेँ। ‘नाटकको गुरू भएर सिकाउँछु, अन्तर्राष्ट्रिय रूपमा नै नाटकलाई खत्रा रूपमा लैजान्छु’ भन्ने सोच थियो। तर, फिल्म खेल्छु भन्ने नै थिएन।
नाटक गर्दाका अनुभव?
दाइहरू स्टेजमा आउँदा ह्वार ह्वार आगो बल्नुपर्छ भन्नुहुन्थ्यो। अब स्टेजमा अभिनय गरेर आगो त बाल्ने, तर कसरी बाल्ने त्यो चाहीँ कसैले नभन्ने फेरि। ‘कसरी त दाइ’ भनेर सोध्छु, ‘आफैँ खोज्’ भन्नुहुन्थ्यो। अब कसरी खोज्ने? कहाँ खोज्ने? एकदमै रनभुल्लमा थिए।
अनि म, बुद्धि दाइ, विजय दाइ स्टेजमा एकदमै उत्पट्याङै उत्पट्याङ गर्दिन्थ्यौँ। हामी तीन जना एकै पटक भयो भने स्टेजमै एकाएक कथा लम्ब्याएर उधुम गर्दिन्थ्यौँ।
जब नाटकको तीन महिनाको वर्कसप लिएँ अनि प्राविधिक रूपमा पनि नाटकको भाषा बुझेँ। अनि बल्ल थाहा भयो- मैले त अभिनय भनेर जे पायो त्यहि गरिरहेको रैछु। यो अभिनय भन्ने त गहिराइको कुरा रैछ भन्ने भयो। अनि यो भन्दा त बरु स्कुलमा बच्चाबच्ची पढाउन सजिलो भन्ने लाग्यो।
के-के ले हैरान बनायो?
इमोसनल्ली मेमोरी भनेको छ, फर्मको कुरा गरेको छ, किताब पढ भनेको छ, कविता पढ भनेको छ। के-के हो, के-के। हैरानै भएँ नि म त!
एउटा कलाकारले अर्को पात्रको भूमिका गर्दा कति गहिराइमा पुगेर काम गर्नुपर्ने रैछ भन्ने बुझेँ। त्यसपछि त म डराएँ। म त यो सक्दिन भन्ने भयो अनि आमाको वर्ष दिनको कामको मौका छोपेर म गाउँ गएँ। त्यसपछि काठमाडौं फर्किने योजना थिएन। म भागेकै थिएँ नि!
तर, मण्डला फर्किनु भयो। कसरी?
मेरो एउटा साथी छ नागेश्वर महतो भन्ने। गाउँमा सँगै स्कुल पढाउँथ्यौ। घर नजिकै दुदौरा खोला छ। अगाडि कब्रस्थान छ, जहाँ हामी मुस्लिमहरूको अन्तिम संस्कार गरिन्छ। त्यहाँ घाम डुब्ने बेलामा पुग्दा खुब मजा लाग्छ मलाई।
एक दिन नागेश्वर र म खोलाको डिलमा बसेर गफ गरिरहेका थियौँ। गफ गर्दा मैले वरिपरीको वातावरणलाई यति मजाले वर्णन गरेछु कि, साथी त चकित भयो। ‘नाजिर तँ त काठमाडौंबाट अर्कै भएर आइछस्’ भन्यो।
उसले ‘तैले यो वरिपरीको कुराहरू भन्दा कस्तो कथा भनिरहेको जस्तो लाग्यो। कस्तो भिज्योल बोल्ने भइछस्’ भन्यो। अनि मलाई लाग्यो मैले काठमाडौंमा केही त सिकेको रहेछु। तीन महिनाको कोर्समा म परिवर्तन भइरहेको रैछु भन्ने फिल भयो।
मिहेनत गरेको अनि पर्दामा नतिजा दिँदा पनि सकारात्मक भन्दा नकारात्मक टिप्पणी हुँदा कतै म मधेशको अनि अझ मुस्लिम समुदायको सदस्य भएर त हैन भन्ने लाग्ने रहेछ।
त्यसपछि त काठमाडौं आउन मन लाग्यो। तर, मेरो दाजु भने म काठमाडौं नजाओस् भन्नेमा हुनुहुन्थ्यो। काठमाडौं आउन हुटहुटी बढिरहेपछि छिमेकी दाइसँग पाँच सय रुपैयाँ सापटी मागेर रात्री बसबाट काठमाडौं आएँ।
बढो रमाइलो। अब फिल्म क्षेत्र प्रवेशको कुरा गरौँ न! फिल्ममा अभिनय गर्ने योजना नै हो कि फिल्म ‘लुट’बाट नाटकका कलाकार फिल्ममा छिरेको मौकामा हुलमुलमा मिसिएको?
फिल्म भनेको हिरो-हिरोइनहरूका लागि हो, म हिरो मेटेरियल हैन भन्ने नै लाग्थ्यो मलाई। म फिल्मको ग्लामरको क्याटगोरीमा पर्दिन भन्ने लाग्थ्यो। अनि नाटकमा अभिनय गर्नेहरूबीच पनि फिल्म भनेको चमकधमकवालाहरूको मात्रै हो, अभिनयको हैन भन्ने मेरो सोच हावी थियो। म मा पनि त्यही प्रभाव थियो।
अनि कसरी भयो त प्रवेश?
मण्डलामा ‘डिग्री माइला’ नाटक मञ्चन भइरहेको थियो। त्यो नाटक हेर्न सुवास कोइराला दाइहरू आउनुभएको रहेछ। नाटक हेरिसकेपछि उहाँहरूले बनाउन लागेको फिल्म ‘पुन्टे परेड’मा अभिनयका लागि मलाई लिने कुरा भएछ।
नाटक हेरेको केहि दिनमा उहाँहरू आउनुभयो। नाटक दुई शो थियो। त्यसैले हतार-हतार भात खाइरहेको थिएँ। बाहिरबाट ‘खोज्न मान्छे आउनु भएको छ’ भनेपछि जुठै हात बोकेर बाहिर निस्किएँ।
दाइहरूले परिचय दिँदै ‘हामीले फिल्म बनाउन लागेका छौँ। एउटा क्यारेक्टर छ’ भनेपछि भित्र फर्किएर हात धोएर आएँ। रोल र पैसाबारे कुरा भएपछि म तयार भएँ।
चमकधमकवाला दृष्टिकोण हरायो?
क्यामेरा फेस नै गरेको थिइन नि! सुटिङ गर्दा मेकअप लगाउनुपर्छ भन्नेसम्म सुनेको हो। मैले मेकअप पनि कहिल्यै गरेको थिइनँ। मलाई पैसाले लोभ्यायो त्यो बेला। आर्थिक अवस्था साह्रै बिग्रिसकेको थियो। यति पैसा आउँछ भनेपछि ‘ओके’ भनिहालियो।
अनि?
अब कसरी फिल्ममा अभिनय गर्ने होला भन्ने सोच्दासोच्दा मानसिक रूपमै थाकेँ म। ‘क्यामरा अगाडि अभिनय नै गर्न सकिएन भने’ भनेर यति धेरै चिन्ता लाग्यो कि के भन्ने। तर, सुटिङमा गएपछि भने क्यारेक्टर रमाइलो लाग्यो।
फिल्मको अफर आएपछि कसैलाई सोध्नु भएन?
सोधे नि! मण्डलामा बस्ने सबै दाइहरूलाई सोधेको थिएँ। सोध्दा त ‘जा जा, साइन गरेर आइज। बेलुका खसीको मासुभात खानुपर्छ’ भने। दया दाइलाई सोध्दा ‘फिल्म खेल्दा एउटा हिसाबले सिकिन्छ, जाउ न, ट्राइ गर’ भन्नुभयो। अनि लौ भनेर फिल्ममा काम गरियो। राम्रै पनि भयो। पछि त्यही टिमले बनाएको ‘जङ्गे’मा पनि अभिनय गरेँ।
पहिलो फिल्ममा अभिनय गरेपछि कतिको चर्चा भयो?
हुँदो रैछ। फिल्मको ट्रेलर पनि आएको थिएन तर फिल्म क्षेत्रमा गाइँगुइँ चर्चा चलिसकेको रहेछ मेरो। ‘एउटा नयाँ केटो आएको छ, दुब्ले दुब्ले छ, तर क्यारेक्टर त पड्काउँछ है’ भन्ने रहेछन्। दया दाइहरूको ‘लुट’ फिल्म आइसकेको थियो त्यो बेलामा। फिल्म मेकरहरूमा थिएटरका कलाकारहरूप्रति सकारात्मक धारणा बनिसकेको थियो। त्यसले मलाई पनि फाइदा भयो।
नाजिर पनि हिरो हो र? भन्नेसम्म सुनेको छु। मलाई एकदम चित्त दुख्थ्यो। यो जमानामा पनि थर, समुदाय अनि रङ्गको कुराले चित्त दुख्ने रहेछ। अनि मेरो रङ्ग फरक भएको भए, म जन्मिएको समुदाय फरक भएको भए सायद सजिलो हुन्थ्यो होला कि!
त्यसपछिको यात्रा?
दुई वटा फिल्म खेलिसकेपछि फिल्ममा काम गर्न लोभ पलायो। ‘होस्टेल रिटर्न्स’को अफर आउँदा स्क्रिप्ट पढ्दा नै क्यारेक्टर देखेर मजा आयो। अनि आफूलाई मन परेका अफर अनुसार काम गर्दै गइयो।
फिल्ममा भर्खर अभिनय गर्दा ताकाका किस्सा होलान् नि!
कति छन् कति। स्टेजमा दर्शक कता छन् भन्ने याद गरेर जता फर्किएर अभिनय गरे पनि भयो। फिल्मको अभिनयमा पनि पहिला त त्यसै गरियो नि! तर, क्यामरातिर फर्किएर अभिनय गर्नुपर्ने रैछ। क्यामरातिर ढाड फर्काउनु हुन्न रैछ। आफूलाई के थाहा। के-के हो के-के किस्साहरू त!
तपाईं मधेशी मुलको, त्यसमा पनि नेपाली कला क्षेत्रमा कमै आउने मुस्लिम समुदायको सदस्य। कहिलेकाहिँ यो थर हुसेन हुनुको साटो, मधेशभन्दा पहाडको भए यतिको हेपाइ नै हुँदैनथ्यो भन्ने तहसम्मको सोच आयो?
मलाई लाग्थ्यो, मेहनत गर्छु, आफ्नो क्षमता निखार्छु। अभिनय राम्रो भएपछि त अवसर आइहाल्छन् नि! तर, यस्तो हुँदो रहेनछ। मिहेनत गरेको अनि पर्दामा नतिजा दिँदा पनि सकारात्मक भन्दा नकारात्मक टिप्पणी हुँदा कतै म मधेशको अनि अझ मुस्लिम समुदायको सदस्य भएर त हैन भन्ने लाग्ने रहेछ।
फिल्म ‘अगस्त्य’मा मिहेनत गरेँ। त्यो मिहेनत पर्दामा पनि देखिएको छ। ‘गुन्यु चोली’का लागि उस्तै मिहेनत गरेँ। तर, यति धेरै मेहनत गर्दा पनि मेरो कामको सराहना भएन भन्ने अनुभव हुँदो रहेछ। त्यो बेलामा चैँ म हुसेन नभएर ओली, खड्का वा शर्मा भइदिएको भए बबालै चर्चा हुन्थ्यो होला है भन्ने लागेकै हो।
अलि चित्तै दुखेको पक्ष?
नाजिर पनि हिरो हो र? भन्नेसम्म सुनेको छु। मलाई एकदम चित्त दुख्थ्यो। यो जमानामा पनि थर, समुदाय अनि रङ्गको कुराले चित्त दुखाउनु पर्ने रहेछ। अनि मेरो रङ्ग फरक भएको भए, म जन्मिएको समुदाय फरक भएको भए सायद सजिलो हुन्थ्यो होला कि! मैले अभिनयमा गरेको मिहिनेत अनुसारको स्याबासी आउँथ्यो कि! भन्ने लाग्यो त्यो सुन्दा।
चित्त त दुखेको हो तर निरासै भएको भने छैन है! म लड्दैछु, अभिनय गर्दै पनि छु। अभिनयमा रमाइरहेको छु। त्यसै अनुसारका अवसर पनि आइरहेको छ। मिसिङ : केटी हराएको सूचना रिलिज हुँदैछ। उत्साहित छु।
तपाईंको विशेष लोभ?
राम्रो डिरेक्टर, राम्रो लेखक, राम्रो क्यामेरामेन, राम्रो टिमसँग काम गर्ने लोभ सबै कलाकारमा हुन्छ। त्यो लोभ ममा पनि छ।
फिल्म क्षेत्र छोडेर पलायन हुने अवस्था आयो भने?
म गाउँ गएर पनि पुन: यही क्षेत्रले तानेर काठमाडौं फर्काएको हो। यदि कला क्षेत्र छाड्ने सोच भएको भए म पहिलो पटक गाउँ गएपछि पक्कै फर्किने थिइन। उतै पढाएर बस्थेँ। तर अब म कतै जान्न। मैले अभिनयबाहेक केही देखेको पनि छैन। म यही क्षेत्रमा हुन्छु, ढुक्क हुनुहोस्, मेरो अभिनयबारे उकेराले लेख्न पाइरहन्छ।
कात्तिक ११, २०८१ आइतबार १८:१२:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।