पूर्णबहादुरको सारङ्गीका निर्देशकको दाबी ‘ फिल्म जुम्लाको स्याउ जस्तै रसिलो छ’

पूर्णबहादुरको सारङ्गीका निर्देशकको दाबी ‘ फिल्म जुम्लाको स्याउ जस्तै रसिलो छ’

काठमाडौँ : बिहीबार लक्ष्मीपूजाको दिनबाट रिलिज हुन लागेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’लाई निर्देशक सरोज पौडेलले आफ्नो फिल्मलाई जुम्लाको स्याउसँग दाँजे। आइतबार मण्डला नाटकघरमा भएको पत्रकार सम्मेलनमा पौडेलले फिल्म जुम्लाको स्याउ जस्तै रसिलो बनेको दाबी गरे।

उनले भने,‘पूर्णबहादुरको सारङ्गी जुम्लाको स्याउ जस्तै हो, जसको महत्त्व यति बेला चाडपर्वमा धेरै छ। हामीले जुम्लाको स्याउ बनाएर पूर्णबहादुरको सारङ्गीलाई ल्याएका छौँ।’

एउटा गीतको भाका पुरानो गीतसँग मिलेको अनि फिल्मको रिलिज डेटप्रति फिल्मका कलाकार प्रकाश सपुतको असन्तुष्टिले हल्का फिल्मलाई विवादमा नल्याएको हैन। तर अहिले फिल्मको पोस्टर,टिजर र गीतले पनि उत्तिकै चर्चा पाइरहेको छ। यसले पनि होला निर्देशक पौडेल आफ्नो फिल्मलाई जुम्लाको स्याउसँग दाँज्दै मक्ख देखिए। उनले फिल्म निकै रसिलो बनेको र दर्शकले रुचाउने दाबी गरे।

पत्रकार सम्मेलनमा प्रकाश सपुत उपस्थित थिएनन्। देश दौडाहामा लागेको समयमा ‘पूर्ण बहादुरको सारङ्गी’टिम पोखरा पुग्दा भने उनी सहभागी भएका थिए। तर झापा, मोरङ,चितवन र पश्चिममा भने पुगेनन्।

आफ्नो फिल्म वसन्तपछि मात्रै पूर्णबहादुरको सारङ्गी रिलिज गर्ने भने पनि निर्माण टिमले तिहार पारेर रिलिज गर्न लागेको भन्दै उनले असन्तुष्टि जनाएका थिए। तर त्यो असन्तुष्टि उनलाई नै ब्याक फायर भयो। उनको फिल्म अहिले निर्माणकैक्रममा छ। निर्माण सकिएर तयार भएको फिल्म आफ्नो फिल्मभन्दा अगाडि रिलिज गर्न लागेको भन्दै रिसाउनुमा तुक देखिएको थिएन पनि।

फिल्मको टिम देश दौडाहाबाट काठमाडौँ आइपुगेको थियो। कार्यक्रममा टिमका सदस्य खुसी देखिन्थे। फिल्मका मुख्य कलाकार विजय बराल,अञ्जना बराइली,मुकुन भुसालका अलवा निर्माता प्याट्रिक सुवेदी,निर्माता विनोद पौडेल लगायत सहभागी थिए।

फिल्ममा समावेश गीत ‘रैया चाँदी’को लय पुराना गायक राम थापाको ‘रेलै घुमेर’सँग मिलेको भन्दै विवाद भएको थियो। कार्यक्रममा उपस्थित सङ्गीतकार आशिष् अविरलले ‘बाउ छोराको अनुहार मिलेजस्तै’ मात्र भएको तर्क गरे।

उनले भने,‘लोकगीतको भाका लगभग उस्तै उस्तै हुन्छ, बाउछोराको अनुहार उस्तै भए जस्तै। त्यस्तै लोक गीत फेरि लोक गीत जस्तै हुँदैन। फेरी हामीले ३०–४० वर्ष अघिको लोक गीत कस्तो चल्थ्यो, त्यही बनाउन खोजिएको हो।’

कात्तिक १०, २०८१ आइतबार १६:१९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।