सहकारीमा समस्या आउनुमा कर्मचारीको दोष देखाए सहकारीमन्त्रीले, कर्मचारीले आफू अनुकूल ऐन बनाएको दाबी

सहकारीमा समस्या आउनुमा कर्मचारीको दोष देखाए सहकारीमन्त्रीले, कर्मचारीले आफू अनुकूल ऐन बनाएको दाबी

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै व्यक्ति समान उद्देश्य भएका एकभन्दा बढी सहकारीमा बस्न नहुने बताएका छन्।

आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले फलदायी परिणाम नआउने भएकाले एउटै व्यक्ति समान उद्देश्य भएका सहकारीमा बस्न नहुने बताए।

उनले भने, ‘एउटै उद्देश्य भएका सहकारीहरूमा दुई/तीन ठाउँमा बस्न पाइन्न। एउटा व्यक्ति यता पनि छ उता पनि छ। अनि कतै भ्याउँदैन, परिणाम पनि आउँदैन। यो कुरालाई कसरी सुधार गर्नुपर्छ तपाईंहरूले ध्यान दिनुहोला।’

मन्त्री अधिकारीले सहकारीको ऐन-कानून बनाउँदा कर्मचारीले आफू अनुकूल हुने गरी बनाउने गरेकाले पनि पनि समस्या आएको सुनाए। 

‘यो नियम कानून बनाउँदाखेरि कर्मचारीले आफूले जे सिक्दै आएको छ, जे भोग्दै आएको छ। त्यसको आधारमा ड्राफ्ट बनाउँदो रहेछ। अनि आफूले रिटायर्ड लाइफपछि पनि आफू अनुकूल हुने गरि कानूनको ड्राफ्ट तयार गरिन्छन्। यसले गर्दा समस्या आएको हो,’ उनले भने। 

सरकारले अंगालेको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य अगाडि सारेको भन्दै उनले हिजो अप्ठ्यारो भएका कुराहरुलाई फुकाउने गरी कानून बनाउन समेत आग्रह गरे।

उनले भने, ‘हिजोको जटिलतालाई अहिले पनि जटिलतामा थुपारियो भने समाधान हुन सक्छ। अहिले मैले भूमिसुधार आयोग बनाउने भनेर भनेको छु। अब हामी आयोग गठन गर्नेतिर जाँदैछौं।’ 

कात्तिक १०, २०८१ आइतबार १४:०५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।