एआईको उपयोग गरेर एसईईमा फेल हुने विद्यार्थीको संख्या घटाउन सकिन्छ : प्रधानमन्त्री

एआईको उपयोग गरेर एसईईमा फेल हुने विद्यार्थीको संख्या घटाउन सकिन्छ : प्रधानमन्त्री

काठमाडौं : एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन सुरू भएको छ। सम्मेलन दुई दिनसम्म सञ्चालन हुने संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए।  

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे। 

त्यस क्रममा उनले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागिपर्ने बताए।
 
'विकासको तिर्खाबाट हामी ग्रस्त छौं। त्यसका लागि डिजिटल नेपालको अवधारणा ल्याऔं। हामीले आर्टिफिसियल इन्टेलिजेन्स्को सकारात्मक उपयोग गर्नुपर्छ। एसईईमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने क्रमबाट सुधार ल्याउनुछ, उनले भने। 

अध्यक्ष थबेले सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’का विकास र उपयोगबारे राजनीतिक दल र सर्वसाधारणलाई जानकारी दिने उद्देश्य रहेको बताए। 

'नेपालमा पहिलो एआई सम्मेलन हुन लागेको छ। यसबाट सरकार तथा युवावर्गलाई एआईका सम्बन्धमा जानकारी गराउने छौँ', अध्यक्ष थबेले भने।  

उनका अनुसार सम्मेलनमा नेपाली र विदेशी गरी करिब एक हजार जना सहभागी हुनेछन्। 

विभिन्न १० वटा समूहगत विषयमा हुने छलफलमा विदेशबाट आएका एआईका विज्ञहरुलेसमेत सहभागिता जनाउने छन्। युरोपियन युनियन, जापान, उत्तर कोरिया, बेलायतलगायत देशबाट विज्ञसहितका प्रतिनिधि आएका बताइएको छ। 

कात्तिक १०, २०८१ आइतबार १३:०३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।