ओलीले प्रचण्डलाई भने ‘हामी पनि प्रचण्डजस्तो धम्क्याएको भरमा खाने खालको हुनु त भएन नि’

ओलीले प्रचण्डलाई भने ‘हामी पनि प्रचण्डजस्तो धम्क्याएको भरमा खाने खालको हुनु त भएन नि’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धम्क्याएका भरमा चल्ने गरेको आरोप लगाएका छन्।

आइतबार एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेको भन्दै प्रचण्डलाई जवाफ दिए।

शनिबार प्रचण्डले पार्टीको विरोधसभामा हतियार मात्रै बिसाएका हौँ, चलाउन बिर्सेका छैनौं भन्दै अभिव्यक्ति दिएका थिए।

उनले भने, ‘हिजो एकजना उफ्रि उफ्रि भाषण गर्दै थिए। हिजो मात्रै देख्या थ्यें। हतियार बिसाएको मात्रै हो भ्रम नरहोस्। चलाउन बिर्स्या छैन, त्यस्तै त्यस्तै त हामी हुनु भएन नी, धम्क्याएका भरमा खाने। म त्यसलाई हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने तरिका पनि हामीलाई थाहा छ  हामी चलाउन त चलाउँदैनौं तर, बिसाउन लगाउन जानेको छौं।’

प्रधानमन्त्री ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताए।  

उनले भने, ‘नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन्। अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन। मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ।’ 

कात्तिक १०, २०८१ आइतबार १२:४९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।